अंग्रेजी हिज्जे प्रतियोगितामा त्रिभुवन आदर्श प्रथम
स्याङ्जा ।
जुनियर रेडक्रस सर्कल, त्रिभुवन आदर्श माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न जिल्लास्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा आयोजक त्रिभुवन आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ। विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा स्याङ्जा जिल्लाका विभिन्न स्थानीय तहबाट २३ वटा विद्यालय सहभागी भएका थिए। प्रतियोगितामा रोशनी माध्यमिक विद्यालय द्वितीय, भूतपूर्व सैनिक आवासीय माध्यमिक विद्यालय बयरघारी तृतीय तथा स्याङ्जा उच्च माध्यमिक विद्यालय सान्त्वना भएका छन्।
विद्यालयका रेडक्रस अध्यक्ष ओस्कार रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाका सभापति दिनेश अर्याल, नगरपालिका शिक्षा अधिकृत शोभा बस्याल तथा विद्यालयका प्रधानाध्यापक प्रेमनारायण पौडेलको उपस्थिति रहेको थियो। प्रतियोगिता सञ्चालनका लागि ओमविकास सिंजालीको संयोजकत्वमा पाँच सदस्यीय कार्यसमिति गठन गरिएको थियो। सोही समितिको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापक, अंग्रेजी विषयका शिक्षक तथा अन्य शिक्षकहरूको समेत सहभागिता रहेको थियो। प्रतियोगिताले विद्यार्थीमा अंग्रेजी भाषाप्रतिको रुचि, शब्दज्ञान तथा प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।


प्रतिक्रिया