पार्टी एकतामा नरम, कमजोरीमा निर्मम् हुन्छु : थापा
अमृत अर्याल,
स्याङ्जा ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध र मजबुत बनाउन आफू अझै नरम भएर अघि बढ्न तयार रहेको बताएका छन् । पार्टीभित्रका कमी–कमजोरी सुधार गर्न भने आवश्यकताअनुसार निर्मम भएर अघि बढ्ने उनले स्पष्ट पारे । नेपाली कांग्रेस स्याङ्जाले बिहीबार स्याङ्जा सदरमुकाममा पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिमा आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै सभापति थापाले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने जिम्मेवारी आफूले गम्भीरतापूर्वक बुझेको बताए ।
“पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु,” सभापति थापाले भने, “नरम पनि छु र पार्टीभित्र भएका कमी–कमजोरीहरुलाई हटाएर निर्मम भएर पनि अगाडि बढ्नुपर्ने छ । त्यो सजिलो छैन, तैपनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु ।” सभापति थापाले पार्टीभित्रको एकता अहिलेको आवश्यकता भएको बताउँदै कांग्रेसलाई बलियो र प्रभावकारी राजनीतिक शक्तिका रुपमा अघि बढाउन आफू जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारीलाई बुझेर त्यसैअनुसार अघि बढ्ने उनको भनाइ थियो ।
उनले नेपाली कांग्रेसले देशमा आइपरेका जटिल परिस्थितिमा जिम्मेवार राजनीतिक दलको भूमिका निर्वाह गर्दै आएको दाबी गरे । मुलुकमा संकट र अप्ठ्यारो अवस्था सिर्जना हुँदा कांग्रेसले समस्या समाधानका लागि अग्रसरता लिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि नागरिकमाझ विश्वास र भरोसा जगाउने गरी पार्टी अघि बढ्ने बताए । सभापति थापाले स्वर्गीय गोपालमान श्रेष्ठले नेपाली कांग्रेसलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे । लोकतान्त्रिक आन्दोलनदेखि पार्टी संगठन निर्माण र राजनीतिक यात्राका विभिन्न चरणमा श्रेष्ठले पु¥याएको योगदान कांग्रेसका लागि महत्वपूर्ण रहेको उनले बताए ।
श्रेष्ठको निधनले कांग्रेसले अनुभवी र निष्ठावान् नेता गुमाएको उल्लेख गर्दै सभापति थापाले उहाँको राजनीतिक योगदानलाई पार्टीले सधैं स्मरण गरिरहने बताए । श्रेष्ठको राजनीतिक जीवनबाट वर्तमान पुस्ताले प्रेरणा लिनुपर्नेमा समेत उनले जोड दिए । फरक प्रसंगमा सभापति थापाले शासक अहंकारमा हराएर बरालिन थालेको अवस्थामा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्दै सही मार्गमा ल्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
लोकतान्त्रिक व्यवस्थामा सरकारलाई खबरदारी गर्ने तथा नागरिकका पक्षमा उभिने जिम्मेवारी राजनीतिक दलहरुको हुने भन्दै उनले कांग्रेसले आफ्नो जिम्मेवारीबाट पछि हट्न नहुने धारणा राखे । यद्यपि, अहिलेको अवस्थामा सरकारको आलोचना वा टिप्पणी गर्ने उपयुक्त समय भने नभएको सभापति थापाले बताए । देशमा उत्पन्न परिस्थितिलाई गम्भीरतापूर्वक लिएर कांग्रेसले जिम्मेवार राजनीतिक दलका रुपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
शोकसभामा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वर्गीय श्रेष्ठले पार्टी संगठन र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेपाली कांग्रेस चितवनका सभापति रामेश्वर खनाल, गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति भोजराज अर्याललगायतले श्रेष्ठको राजनीतिक योगदानको स्मरण गरे । त्यसैगरी संविधानसभा सदस्य मोहनप्रसाद पाण्डे, कांग्रेस जिल्ला सचिव गुरुप्रसाद भट्टराई, नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का उम्मेदवार भरतराज ढकाल, महासमिति सदस्य तुलसी गिरी, स्वर्गीय श्रेष्ठका छोरा सम्पूर्णमान श्रेष्ठ, कांग्रेस पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारीलगायतले पनि शोकसभामा स्वर्गीय श्रेष्ठले नेपाली कांग्रेस र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रम नेपाली कांग्रेस स्याङ्जाका जिल्ला सभापति राजु थापाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा उपसभापति केदार काफ्लेले स्वागत मन्तव्य दिएका थिए भने सचिव दामोदर लम्सालले कार्यक्रम सञ्चालन गरेका थिए । स्वर्गीय गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री थिए । लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका श्रेष्ठले पार्टी संगठन विस्तार, लोकतान्त्रिक आन्दोलन तथा राज्यका विभिन्न जिम्मेवारीमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनको ४५औँ दिनको पुण्यतिथिमा आयोजित शोकसभामा कांग्रेसका केन्द्रीय तथा प्रदेश तहका नेतादेखि जिल्ला तहका नेता–कार्यकर्ता र शुभेच्छुकहरुको उल्लेख्य सहभागिता रहेको थियो । शोकसभाले स्वर्गीय श्रेष्ठको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै उनले देखाएको लोकतान्त्रिक र राजनीतिक बाटोमा पार्टीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।


प्रतिक्रिया