अर्जुनचौपारीको आरुचौरमा दुध संकलन डेरीको स्थापना

स्याङ्जा ।
दुधमा आत्मनिर्भर बनाउन स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ५ मा रहेको डहरेदेउराली साना किसान कृषि सहकारी संस्थामा दुग्ध संकलन केन्द्र डेरीको सुभारम्भ गरिएको छ । सहकारीले गाउँपालिकाको ५० प्रतिशत साझेदारीमा ५ सय लिटर क्षमताको डेरी उद्योग संचालनमा ल्याएको हो । डेरी उद्योगको उद्दघाटन गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले गरेका थिए ।

उद्धाटनका अवसरमा अध्यक्ष तिवारीले किसानहरुले उत्पादन गरेको उपजहरुको बजारीकरणका लागि पालिका प्रतिवद्ध रहेको बताए । साथै परम्परागत रुपमा भन्दा व्यवसायिक रुपमा पशुपालनमा लाग्नुपर्ने भन्दै व्यसायिकताले परिवारको आर्थिकस्तर वृद्धि गर्ने अध्यक्ष तिवारीले बताए । व्यसायिक रुपमा पशुपालनमा लाग्न किसानहरुलाई आग्रह गर्दै घरमा खपत गर्न नसकिएका दुध, घ्युको बजारीकरणका लागि यो डेरी संचालनमा गाउँपालिकाले सहयोग गरेको अध्यक्ष तिवारीले बताए ।

कार्यक्रममा जिल्ला भेटेरीनरी पशु कार्यालयका प्रमुख डा. रुपेश श्रेष्ठले डेरी सञ्चालनमा सरसफाई तथा आवश्यक सुझाव व्यक्त गरे । कार्यक्रममा संस्थापक अध्यक्ष तथा वडा अध्यक्ष बदिप्रसाद पौडेल, सहकारीका पुर्व अध्यक्ष बुद्धिप्रसाद खनाल, गाउँपालिका पशु शाखा प्रमुख दोलराज गैह्रे, किसानहरुको तर्फबाट वडा सदस्य समेत रहेका टेकनाथ खनाललगायतले दुग्धडेरी संचालनमा सफताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम सहकारीका अध्यक्ष बुद्धबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सदस्य लक्ष्मीप्रसाद सापकोटा र संचालन सहकारीका प्रबन्धक शान्ता रेग्मी पौडेलले गरेकी थिइन् । सहकारीमा ७४४ जना सेयर सदस्य रहेका छन् । डेरी संचालनसंगै अब सहकारीले आफ्ना सदस्यहरुलाई पशुपालन गाई तथा भैँसीपालनमा आर्कषित गराउने योजना बनाएको छ ।

प्रतिक्रिया