सशस्त्र प्रहरीद्वारा जनप्रिय माविमा विपद् व्यवस्थापनको प्रयोगात्मक प्रशिक्षण
भीरकोट ।
सशस्त्र प्रहरी बल, गुल्म नं. ३० वालिङको आयोजनामा भीरकोट नगरपालिका–५ स्थित जनप्रिय माध्यमिक विद्यालयमा विभिन्न विपद् तथा जोखिम न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विपद् व्यवस्थापन, बाढी तथा पहिरोबाट प्रभावित व्यक्तिको उद्धार, आत्महत्या रोकथाम, आगलागी नियन्त्रण तथा उद्धार, भूकम्पका समयमा अपनाउनुपर्ने सुरक्षा सावधानी तथा गहिरो खोँचमा खसेका व्यक्तिको उद्धारलगायतका विषयमा प्रशिक्षण तथा सचेतना प्रदान गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा सशस्त्र प्रहरीका प्रशिक्षकहरूले विभिन्न विपद्का अवस्थामा अपनाउनुपर्ने उद्धारका तरिका तथा प्राथमिक सुरक्षा उपायहरू प्रत्यक्ष प्रयोगात्मक रूपमा प्रदर्शन गरेका थिए। विद्यार्थी तथा सहभागीहरूले उद्धारका विभिन्न प्रविधि नजिकबाट अवलोकन गर्नुका साथै विपद्का समयमा आफू र अरूको सुरक्षा कसरी गर्न सकिन्छ भन्नेबारे व्यावहारिक जानकारी हासिल गरेका थिए। बाढी, पहिरो, आगलागी तथा भूकम्पजस्ता प्राकृतिक तथा मानवीय विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले विपद्को समयमा आत्तिनुभन्दा सुरक्षित रहने उपाय तथा उद्धारका आधारभूत विधिबारे पूर्वजानकारी हुनु आवश्यक रहेको कार्यक्रममा बताइएको थियो। विशेषगरी विद्यालय तहका विद्यार्थीलाई विपद् व्यवस्थापनसम्बन्धी ज्ञान दिँदा उनीहरूले आफू सुरक्षित रहनुका साथै परिवार र समुदायका अन्य सदस्यलाई समेत आवश्यक जानकारी दिन सक्ने भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा सशस्त्र प्रहरी बल, वालिङका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर बस्नेत, प्रशिक्षक परमबन्धु अर्यालसहित गुल्म नं. ३० का ११ जना सशस्त्र प्रहरीको सहभागिता रहेको थियो। प्रशिक्षकहरूले विपद्का विभिन्न अवस्थामा तत्काल अपनाउनुपर्ने प्राथमिक सुरक्षा उपाय, उद्धार गर्दा ध्यान दिनुपर्ने विषय तथा जोखिमबाट बच्ने व्यवहारिक उपायबारे जानकारी गराएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चोलाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीरकोट–५ का वडाध्यक्ष कृष्णबहादुर थापाको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षक–अभिभावक संघका अध्यक्ष राजेन्द्र अर्याल, विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार खाँण, विद्यालय व्यवस्थापन समितिका वर्तमान तथा पूर्वप्रतिनिधि, स्थानीय शैक्षिक तथा सामाजिक व्यक्तित्व, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार खाँणले सुरक्षा निकायले विद्यार्थीहरूलाई सानै उमेरदेखि विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका विषयमा महत्वपूर्ण जानकारी प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक तथा जीवनोपयोगी सीप प्रदान गर्नु आवश्यक रहेको भन्दै उनले विपद्का बेला आफू सुरक्षित रहने र अरूलाई समेत सहयोग गर्न सक्ने ज्ञान यस्ता कार्यक्रमबाट प्राप्त हुने बताए । सहभागीहरूले विपद् व्यवस्थापनसम्बन्धी सचेतना केवल विपद् आएपछि मात्र नभई त्यसअघि नै समुदायस्तरसम्म पुर्याउनुपर्ने आवश्यकता रहेको बताएका थिए। विपद्को सम्भावित जोखिम पहिचान, पूर्वतयारी, सुरक्षित स्थानको जानकारी तथा उद्धारका आधारभूत उपायबारे नागरिकलाई जानकारी गराउन सके मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने उनीहरूको भनाइ थियो।
विद्यालय र सुरक्षा निकायबीचको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थी, शिक्षक तथा अभिभावकमा विपद्का समयमा अपनाउनुपर्ने सावधानी, उद्धारका आधारभूत विधि तथा मानवीय सुरक्षासम्बन्धी ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको बताइएको छ। स्थानीय तहमा बाढी, पहिरो, आगलागी तथा अन्य विपद्का जोखिम रहने भएकाले विद्यालय, समुदाय तथा सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो। यस्ता सचेतनामूलक तथा प्रयोगात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन सके विपद् जोखिम न्यूनीकरणसँगै समुदायको सुरक्षा क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया