रसुवा बाढीपीडितका लागि कांग्रेस भीरकोटको १०० रुपैयाँ सहयोग अभियान
भीरकोट ।
नेपाली कांग्रेस भीरकोट नगर कार्यसमितिले रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग अभियान सञ्चालन गरेको छ । कांग्रेस भीरकोटले पार्टीका क्रियाशील सदस्यबाट न्यूनतम एक सय रुपैयाँ सहयोग संकलन गर्ने निर्णय गर्दै ‘क्रियाशील सदस्यबाट १०० रुपैयाँ सहयोग अभियान’ सञ्चालन गरेको हो । अभियानअन्तर्गत पहिलो दिन मात्रै २१ हजार रुपैयाँ सहयोग रकम संकलन भएको पार्टीले जनाएको छ ।
बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले विपदमा परेका नागरिकलाई राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस भीरकोटका सभापति यामप्रसाद अधिकारीले जानकारी दिए । संकलित रकम पार्टीले सञ्चालन गरेको राहत अभियानमार्फत सम्बन्धित राहत कोषमा पठाइने सभापति अधिकारीले बताए । उनले विपद्को समयमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिँदै अभियानमा पार्टीका क्रियाशील सदस्य तथा शुभेच्छुकको साथ रहने विश्वास व्यक्त गरे।
कांग्रेस भीरकोटले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले अभियानलाई निरन्तरता दिने जनाएको छ । पार्टीले विपदमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।


प्रतिक्रिया