सम्पादकीय ः स्थानीय तहको प्रगति सार्वजनिक गर

स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेलाई तोकिएको छ । यसअघिको निर्वाचनबाट आएका जनप्रतिनिधिहरुले पाँच वर्ष विताउन लागेका छन् । संविधान जारी भएपछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचनबाट आएका जनप्रतिनिधिहरुको लागि पहिलो पाँच वर्ष लगभग अनुभवको कार्यकाल बनेको छ । निर्वाचित भएपछि तत्कालै कार्यभार सम्हाल्न पाएनन् । स्थानीय तह सञ्चालन निर्देशिका समेत ढिलो गरि आयो । अर्को कुरा, निर्वाचन पनि स्थानीय तहपछि प्रदेश र संघको भयो । निर्वाचित भए लगत्तै काममा लाग्न नपाएका जनप्रतिनिधि सिक्दासिक्दै कार्यकाल सिध्याउन बाध्य भएका छन् । जनप्रतिनिधि प्रकार–प्रकारका आए । कोहि जनताको भावना बुझ्ने आए त कोही भावना बुझ्न नसक्ने आए । कोहि जवरजस्त आए भने कोही बाध्यताले आए । थोरै मात्र आवश्यकताले आएका थिए ।
राजनीतिक दलको लोकप्रिय व्यक्तित्व भएकै कारण आएका कतिपय उदाहरण छन् । अब, फेरि मुलुक निर्वाचनमा धकेलिएको छ । निर्वाचनको मिति तोकिएपछि अबको नेतृत्वका बारेमा छलफल शुरु हुनु स्वभाविक नै छ । तर, कतिपय जनप्रतिनिधि फेरि दोहो¥याउन स्वघोषणा गर्दै हिडिरहेका छन् । सर्वप्रथम, जो दोहो¥याउन खोज्दैछ, उनीहरुले मतदाताको भावनालाई कति सम्मान गरेका छन् ? त्यसको मुल्याङकन र समीक्षा हुन आवश्यक छ । जुन पार्टीबाट विजयी भए त्यै पार्टीलाई वेवास्था गरेका, आम नागरिकलाई सम्मान गर्न नसकेका, स्थानीय सरकारको मर्म अनुसार काम गर्न नसकेकाहरु दोहो¥याउन लायक छैनन् । यसप्रति सबै राजनीतिज्ञ गम्भीर बन्न आवश्यक छ । अर्को, मुख्य विधि भनेको प्रगतिको सार्वजनिकिकरण नै हो । सबै पालिकाले पाँच वर्षमा गरेका कामको प्रगति सार्वजनिक गर्नैपर्छ । त्यसको मुल्याङकनका आधारमा मतदाता मत दिन तयार हुनुपर्छ । अहिले स्याङ्जाका ११ वटै स्थानीय तहहरु सार्वजनिक सुनुवाईको चटारोमा छन् । जुनसुकै पालिकाको पनि सार्वजनिक सुनुवाई फगत औपचारिकतामा मात्र सिमित भएको छ । कार्यकालको अन्तिममा आईपुग्दा हरेक स्थानीय तहहरुले हालसम्मको कार्यप्रगती सार्वजनिक गर्नुपर्नेमा त्यसो गरेको पाईएन् ।
जिल्लाका कतिपय स्थानीय तहहरुले आ.ब. २०७८÷०७९ को अर्धबार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेका छन् भने कतिपय अब गर्ने तयारीमा छन् । तर कुनै पनि स्थानीय तहहरुले हालसम्मको कार्यप्रगती सार्वजनिक गर्नुपर्नेमा चासो देखाएका छैनन् । भर्खरै जिल्लाको स्मार्ट सिटीको रुपमा परिचित वालिङ नगरपालिकाको यसै आ.ब. को अर्धबार्षिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कार्यकालको अन्तिमतिर आईपुग्दा गरेको सार्वजनिक सुनुवाईमा नियमित प्रकृया बाहेक नयां बिषयबस्तुले खासै स्थान पाएन् । स्मार्ट सिटीका हालसम्मका उपलब्धि र चुनौतीहरु समेत यस नगरले सार्वजनिक गर्नुपर्ने देखिन्छ । जिल्लाको वालिङ नगरपालिका स्मार्ट सिटीको रुपमा, गल्याङ नगरपालिका सेतो शहरको रुपमा, पुतलीबजार नगरपालिका उज्यालो नगरको रुपमा, भीरकोट नगरपालिका हरित नगरको रुपमा कार्ययोजना सहित अघि बढिरहेका छन् । यी बाहेक जिल्लाका हरेक स्थानीय तहहरुले कुनै न कुनै नारा अंगिकार गरेर अगाडी बढेको अवस्था छ । अब हरेक पालिकाले हालसम्मको कार्यप्रगती सार्वजनिक गर्नेतर्फ सोचोस् ।
प्रतिक्रिया