वित्त आयोगको मूल्याङ्कनमा— भीरकोट उत्कृष्ट, अर्जुनचौपारी कमजोर

प्रकाश डोटेल,
स्याङ्जा ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा स्याङ्जाका ११ स्थानीय पालिकामध्ये भीरकोट नगरपालिकाले सबैभन्दा धेरै अंक प्राप्त गरी उत्कृष्ट भएको छ । वित्तीय समानीकरणको अनुदान सिफारिसका लागि आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा भीरकोट नगरपालिकाले ७२.४६ अंक प्राप्त गरी जिल्लामै उत्कृष्ट भएको हो ।
जिल्लामा सबैभन्दा कम अंक अर्जुनचौपारी गाउँपालिकाले प्राप्त गरको छ । उसले ४८.०६ अंक प्राप्त गरेको छ । जिल्लाका पाँच नगरपालिकामध्ये भीरकोटले सबैभन्दा बढी ७२.४६ र पुतलीबजारले सबैभन्दा कम ५८.९५ अंक प्राप्त गरेको छ, भने चापाकोटले ६५.५४, वालिङले ६४.५३ र गल्याङ नगरपालिकाले ६२.६४ अंक प्राप्त गरेका छन् । जिल्लामा रहेका छ गाउँपालिकामध्ये कालीगण्डकीले सबैभन्दा बढी ६५.०९ र अर्जुनचौपारीले ४८.०६ अंक प्राप्त गरेका छन्, भने फेदीखोलाले ६४.२५, आँधीखोलाले ६०.७०, हरिनासले ५५.६३ र बिरुवा गाउँपालिकाले ५१.९४ अंक प्राप्त गरेका छन् ।
जिल्लाका स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अंक प्रदान गरेको हो । कार्यसम्पादन मूल्याङ्कनका लागि स्थानीय तहका लागि १७ सूचक तय गरिएको आयोगले जनाएको छ । समयमै बजेट पेश गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको, राजस्व बाँडफाँट गरे नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थमन्त्रालयमा पुसमसान्तभित्र पेश गरे नगरेको विषयलाई आयोगले सुचांकमा समावेश गरिएको छ ।
आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आबको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवद्यिक योजना तय गरे नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसूति सख्या, बालबालिकाको सख्यालगायत शीर्षकमा सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिने गरेको छ । संघीय सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान नगरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्याङ्कन गरिएको आयोगले जनाएको छ । सोहि मूल्याङ्नका आधारमा आयोगले आगामी आबका लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम वितरणका लागि सरकारलाई सिफारिस गर्नेछ । समानीकरण अनुदानमा अब भीरकोट नगरपालिकालाई फाईदा पुग्ने बताइएको छ ।
प्रतिक्रिया