‘अबको चुनावमा सबभन्दा अप्ठ्यारो एमालेलाई छ’

रामचन्द्र भट्टराई (आरसी),
अध्यक्ष,
नेकपा एकीकृत समाजवादी, स्याङ्जा ।
जनताको बहुदलीय जनवादसंग नजिक आरसी भट्टराई स्याङ्जा जिल्लाको (एकीकृत समाजवादी) का अध्यक्ष हुन् । यसअघि नेकपा एमालेको जिल्ला कमिटी सदस्य समेत रहेका भट्टराई विगत एमालेमा हुँदादेखि नै वैचारिक नेताका रुपमा परिचित छन् । हाल एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका भट्टराईसँग पब्लिक आवाजले मूलतः दुईवटा विषयमा कुराकानी गरेको छ, एक– बहुदलीय जनवादकै जगमा बनेका एमाले र एकीकृत समाजवादी पार्टीबीचको बैचारिक–सैद्धान्तिक धरातलमा के फरक छ ? दुई– समसामयिक राजनीतिक विषयमा सत्तापक्षीय गठबन्धन कसरी अगाडि जाला ? केपी ओलीकै नेतृत्वमा एमालेलाई सुधार्न सकिन्छ भन्ने भ्रम समाप्त भइसकेको र अन्तरसंघर्षबाट एमाले नसुध्रिने अध्यक्ष भट्टराईको तर्क छ । एमाले विभाजनपछि स्याङ्जामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको गतिविधि कसरी चलिरहेको छ र पार्टीको अवस्था कस्तो छ भन्ने लगायतका विषयमा पब्लिक आवाजका सम्पादक अमृत अर्यालले अध्यक्ष भट्टराईसँग गरेको कुराकानी यहाँ प्रस्तुत छ –
१. भट्टराई जी आराम हुनुहुन्छ ? एमालेबाट विद्रोह गरेर माधव नेपाल नेतृत्वको पार्टीभित्र आउनुभयो अहिले निराशा छ कि उत्साह ?
धन्यवाद, नमस्कार । आरामै छु । अहिले हामीमा निकै उत्साह छाएको छ । कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको आचरण जनपक्षीय हुनुपर्छ । जनसेवी हुनुपर्छ । यो चिज आजको एमालेसँग छैन । त्यसै कारणले हामी विद्रोह गरेर पार्टी फुटाउन बाध्य भयौं । धेरै साथीहरुको साथ सहयोगले गर्दा हामीमा कत्ति पनि निराशा उत्पन्न भएको छैन् । हामी उत्साही छौं ।
२. जिल्लामा अहिले तपाईं आवद्ध नेकपा एस र एमाले पार्टीको अवस्थालाई यहाँले कसरी नियालिरहनुभएको छ ? जिल्लामा तपाईको पार्टीको अवस्था कस्तो छ ?
हामीसँग हाम्रो पंक्तिमात्रै रहेको होइन, हिजो केपी ओलीसँग रहनुभएका कतिपय साथीहरु पनि हामीसँगै आउनुभएको छ । अरु थपिने क्रम जारी नै छ । नयाँ निर्माणको हिसावले नेकपा एकीकृत समाजवादीप्रतिको आकर्षण असाध्यै राम्रो छ । विभिन्न स्थानहरुमा भएका भेलाहरुमा सहभागीहरुको संख्या यहाँहरुले नै पनि देखिरहनुभएको छ । प्ररारम्भिक चरणमा केही चुनौतीहरु भएतापनि जिल्लामा तेश्रो शक्तिको रुपमा हामी स्थापति भैसकेको आभास भएको छ । नयां पार्टी भएर पनि हाम्रो अवस्था सन्तोषजनक छ ।
३. नेकपा एमालेभित्र रहेको तेस्रो धारको भविष्य तपाईं कस्तो देख्नुहुन्छ ? उहांहरु त ठुलो पार्टीमा हुनुहुन्छ ?
तेस्रो धार छ र त्यहाँ ? उहांहरुको भविष्य राम्रो देखिदैन् । ठूलो दल हुँदैमा हुन्छ र ? विगतमा ठूला पार्टी कयौं थिए । ०४८ सालमा काँग्रेस ठूलो थियो । किन खिइएर गयो त ? माओवादी ०६४ को चुनावमा ठूलो भएकै हो । त्यो पनि पछि सानो भयो । कहिलेकाहीँ चुनावी परिणामले ठूलो सानो देखाउने एउटा कुरा हो, जब विचारमा स्खलन हुन्छ, व्यवहारमा गलत बाटोमा जान्छ, त्यसले प्रगति गर्दैन । पार्टी भन्दा असल विचार ठुलो हो ।
४. एमालेभित्रै अन्तरसंघर्ष गरेर पार्टीलाई सच्याउन सकिन्छ भन्ने धेरै नेताहरुको लाइन थियो । तपाईंहरु चाहिँ केपी ओली नेतृत्वमा रहुञ्जेल यो काम असम्भव छ भनेर बाहिरिनुभयो । अब के गर्नुहुन्छ ?
व्यवहारले देखाइसकेको छ गल्ती कसले गर्यो भन्ने कुरा । एमालेमा बसेर लड्छौँ, संघर्ष गर्छौं भन्ने साथीहरुले विधान महाधिवेशन जो विचार पारित गर्ने थलो हो, त्यस्तो ठाउँमा विचार राख्न पनि पाउनुभएन । यदि सम्भव थियो भने त उहाँहरुले त्यो विचार राख्न पाउनुपर्ने । विचार सुनिने अवस्था भएको भए उहाँहरुको विचार सुनिनुपर्ने, त्यो त सुनिएन । त्यहाँ बसेर सुधार गर्न सकिन्छ भन्नेहरुले कुरा समेत राख्न पाइँदैन भन्ने त देखिइसकियो । त्यही बसेर पार्टीलाई सच्याउने कुरा संभव रहेन् । त्यो सम्भावना छैन भन्ने हामीले देखेका थियौं । अब हामी यो पार्टीलाई जनताको लोकप्रिय पार्टी बनाउन कम्मर कसेर लागिपरेका छौं । त्यो संभव पनि छ । स्याङ्जामा बिस्तारै हाम्रो पार्टीप्रति आकर्षण बढ्दो छ ।
५. तपाईंहरुमाथि लाग्दै आएको अर्को गम्भीर आरोप के छ भने बामपन्थीको सरकार ढालेर काँग्रेससँग मिल्ने ? यसको जस्टिफाई कसरी गर्नुहुन्छ ? भोलि चुनावमा त भन्नै पर्ला ….
पर्ला । यो भन्न हामीसँग विषय नभएको पनि होइन । यो देश ठूलो कि पार्टी ? यो प्रश्नमा जानुपर्छ । लोकतन्त्र ठूलो कि पार्टी ठूलो ? जनताको अधिकार ठूलो कि पार्टी ठूलो ? यी कुरामा जानुपर्छ । हामीले केपी ओली नेतृत्वको सरकारको विरोध किन गर्यौं ? जब उहाँले प्रतिनिधि सभा विघटन गर्नुभयो । प्रतिनिधि सभाको विघटन नहुँदासम्म त हामीले त्यहीँभित्र लडाइ गरिरहेका थियौं । जब विघटन गरेर अगाडि बढियो र अनेकौंखालका सैनिक शासन लागु गर्ने, राजतन्त्र फर्काउने खालका बजार हल्ला त भए नि । त्योबेला हामी सर्तक हुनै पर्यो । हामीले यो लोकतन्त्र बचाउन कदम चाल्ने कि नचाल्ने ? मुलुक बचाउन कदम चाल्ने कि नचाल्ने ? रातभर एउटा विदेशी गुप्तचर संस्थाको प्रमुखसँग बसेर चालिएको कदम गम्भीर थिएन र ? त्यो त गम्भीर थियो । राष्ट्रका विरुद्धको षडयन्त्र हो कि भनेर हामी सशंकित हुनुपर्ने स्थिति सिर्जना भैसकेपछि हामीले यो राष्ट्रको रक्षाका निम्ति, लोकतन्त्र र जनताका अधिकारका निम्ति पार्टीलाई ठूलो ठान्न हुदैन, पार्टीभन्दा ठूलो राष्ट्र हो, लोकतन्त्र हो, जनताको अधिकार हो । जनताका अधिकारका निम्ति पार्टी बनेको हो । लोकतान्त्रिक प्रणाली ल्याउनका निम्ति पार्टी बनाएको हो भने त्यो चिज नै समाप्त हुन्छ भने त्यतिबेला हाम्रो पार्टी, सरकार भनेर बस्न हुन्छ कि हुँदैन ? हाम्रो बुझाइमा हाम्रो कर्तव्य त्यसरी बस्नु हुँदैन । पार्टी त हाम्रो साधन हो । समाजलाई समाजवादको दिशामा लैजाने, समाजको शोषण र उत्पीडनलाई अन्त्य गर्ने र समतामुलक समाज निर्माण गर्ने लक्ष्य हो हाम्रो । त्यो लक्ष्यमा धक्का पुग्छ भने साधन अर्को पनि बनाउन सकिन्छ । एउटा साधनले काम गर्न सकेन भने अर्को साधन बनाउन सकिन्छ । त्यसकारण साधनलाई हामीले ठूलो ठानेनौँ, हामीले साध्यलाई ठूलो ठान्यौँ ।
६. सरकारले स्थानीय तहको चुनाब घोषणा गरीसकेको छ । अब चुनाव हुँदा माधव नेपालको हालत पातलो हुन्छ, कसैले एक सिट पनि जित्दैन भनिराखेका छन् त ? स्याङ्जामा तपाईहरुको अवस्था कस्तो छ ? जिल्लामा चुनाबी गठबन्धन टुट्ला कि ?
अबको चुनावमा सबभन्दा अप्ठ्यारो एमालेलाई छ । चुनाव पर्खौँ, किन हतारो ? त्यसबेला कसले जित्छ हेरौँला । गठबन्धन टुट्दैन् । अरुलाई नि हामी, हामीलाई नि अरु भन्ने सिद्धान्तमा हामी अडिएका छौं । यो प्रतिनिधि सभा पूर्ण कार्यकाल रहने र यसलाई जोगाउने हो भने चुनावमा पुगेर गठबन्धन किन टुट्ला त ? नटुट्ला । यो विश्वासको कुरा पनि हो । स्याङ्जामा यस चुनावमा गठबन्धन बन्ने भनेर निर्णय नै भैसकेको छ । यो प्रतिनिधि सभालाई पूर्ण कार्यकाल काम गर्नका निम्ति मिलेर सँगै जाने भन्ने त हाम्रो नियमित विषय हो । त्यसकारण चुनाव घोषणा गर्ने अनि गठबन्धन तोड्ने कुरा त कसरी होला र ?
७. तपाईंहरु चुनाव हार्न पनि तयार हो ?
हो लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि हामीहरु चुनाब हार्न पनि तयार हो । हामीले संख्यामा हारेपनि देशले जित्नेछ ।
८. माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी कुनै भविष्यमा कि माओवादीसँग एकीकृत हुन्छ ? तपाईलाई के लाग्छ ?
हामी अरु कसैसंग नभै अरु हामीसंग एकिकृत हुन्छन होला जस्तो लाग्छ, मलाई त । विभिन्न पार्टीहरुसंग एकिकृतको प्रस्ताव छ । रोजाइको हिसावले यो वा त्यो भनेर हामीले सोचिसकेका छैनौ । प्रचण्डहरुसँग त एकता गरिसकेको पनि हो । यो सबैलाई थाहा पनि भएको कुरा हो । अदालतको फैसलाले यस्तो बनायो, हामी फेरि कुनै दिनमा एक ठाउँमा हुनेछौँ । तर, अब विषयहरु कसरी जान्छन्, छलफल कसरी हुन्छ, त्यसमा भर पर्छ । सहकार्यभित्र पनि हामी कति घनिष्ट हुँदै जान्छौं त्यसले निर्णयमा फरक पार्छ । एकताकै सवालमा मेरो बुझाइ हतारमा एकता टिक्दैन भन्ने रह्यो । एकताका निम्ति वैचारिक, सैद्धान्तिक बहस र छलफल गरेर, आधार निर्माण गरेर र व्यवहारमा पनि सहकार्य गर्दै गएर अन्तरघुलन गर्दै कार्यशैलीगत कुरामा पनि एकरुपता कायम गर्न सक्यौ भने दिगो हुन सक्छ । त्यसो नगरी तात्कालिक विषयमा मात्रै आधारित भएर एकता गर्दा टिक्दो रहेनछ भन्ने एमाले र माओवादीबीचको एकता प्रकरणबाट पुष्टि भैसकेको छ । त्यसैले, सहकार्य गर्दै जाऊँ । विचारमा एकरुपता ल्याउन पनि पहल र प्रयत्न गर्दै जाऊँ । कार्यशैली र कार्यपद्दतिमा पनि एकरुपता ल्याउने प्रयास गरौं भन्ने हो । यति भएपछि दिगो एकता हुन्छ भन्ने अवस्था सिर्जना हुन्छ र त्यसबेला एकता गर्दा राम्रो भन्ने बुझाइ हो ।
९. आगामी स्थानीय तहको चुनावमा तपाईं कुनै पालिकाबाट प्रमुखमा लड्ने होला नि ? के छ बिचार ?
म साथीहरुलाई अगाडी बढाउने सोचमा छु । म आफै चुनाब लड्ने मनसाय बनाएको छैन् । परिस्थिति त्यस्तै खालको निर्माण भएमा विचार गरौंला ।
१०. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त यो अवसरका लागि जिल्लाको लोकप्रिय पत्रिका पब्लिक आवाजलाई धन्यवाद दिन चाहन्छु । हाम्रो उद्देश्य नेपाली समाजको परिवर्तन गर्ने हो । त्यो परिवर्तनको अभियानमा हामी लामो समयदेखि लागिरह्यौँ । कहिले कुन र कहिले कुन हिसावले लाग्यौं । अहिले पनि हामी त्यही अभियानमा छौं । इमान्दारीताका साथ त्यो अभियानमा लाग्छौं, यहाँहरूको साथ र समर्थनको आशा गर्छौं भन्न चाहन्छु । धन्यवाद ।
प्रतिक्रिया