‘म मेयर बने जनताले सम्झिरहने काम गर्नेछु’

गुरुप्रसाद भट्टराई,
मेयर पदका उम्मेदवार,
गल्याङ नगरपालिका, स्याङ्जा ।
नेपाली कांग्रेसले गल्याङ नगरपालिकाको मेयरको उम्मेदवार चयन गर्दै गर्दा लामो रस्साकस्सीपछी जिल्ला सचिव समेत रहेका गुरुप्रसाद भट्टराईलाई टिकट दिएको छ । महासमिति सदस्य समेत रहेका भट्टराईलाई गल्याङले अस्वीकार गर्ने अवस्था थिएन । भट्टराईलाई गठबन्धनको साझा उम्मेदवार सगै एक कुशल राजनीतिक सेवक पाएको महशुष गल्याङवासीले गरेका छन् । ३२ वर्ष सक्रिय राजनीतिमा रहेका भट्टराई गल्याङ नगरपालिकाको मेयर बन्ने दौडधुपमा छन् । उम्मेदवारी दर्तासँगै उनको घरदैलो देखी कोणसभामा व्यस्तता बढेको छ । भट्टराईसँग उनको उम्मेदवारी र उनका योजनाका प्राथमिकतामा केन्द्रित रहेर पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले गरेको कुराकानी ः
१. भट्टराईजी आराम हुनुहुन्छ ? स्थानीय तह निर्वाचनमा पार्टीले उम्मेदवार छनोट गरिसकेपछि कतिपय ठाउँमा असन्तुष्टि र बागी उम्मेदवार बनेको पनि देखियो । तपाईंको उम्मेदवारीप्रति भने गल्याङ नगरमा कांग्रेसभित्र असन्तुष्टिका स्वर सुनिएनन् नि ! किन होला ?
धन्यवाद, नमस्कार । आरामै छु । मेरो स्वभावले पनि होला । मैले पार्टीका लागि धेरै काम गरेको छु । तर, कहिले पनि पदको लोभ गरिन । पदको चाहना नगरी निरन्तर पार्टीमा लागिरहेँ । मेरो नेचर र निरन्तर पार्टीका लागि लोभ नगरी लागेकाले नै मेरो उम्मेदवारीमा सबै खुसी देखिनुभएको होला ।
२. आकांक्षी अरु पनि थिए । पार्टीले तपाईंलाई नै योग्य देख्नुको कारण चाहिं के रहेछ ?
सबैजना उपयुक्त र योग्य हुनुहुन्छ । सबै जना आन्दोलनमार्फत अघि बढ्दै कांग्रेसको राजनीतिमा हुनुहुन्छ । इच्छा राख्नेहरुमध्ये मलाई उठाए राम्रो हुन्छ भन्ने नेताहरुलाई लाग्यो होला । योग्यता अरुको भन्दा मेरो बढी हो भन्दिनँ । नेताहरुले मूल्यांकन गरेर मलाई अघि सार्दा बेस हुन्छ भन्ने लाग्यो होला ।
३. तपाई निर्वाचित हुनुभयो भने प्राथमिकताका कामहरु के के छन् ?
ठूलो ठूलो काम गर्छु भनेर आश्वासन दिन्न । नगरभित्र मैले सुशासन ल्याउँछु । नगरवासी सबैलाई सहज हुने गरी सुशासनका काम गर्ने मेरो पहिलो काम हुनेछ । दोस्रो प्राथमिकता महिलाहरुलाई दिनेछु । महिला सुरक्षा, अधिकार, सशक्तिकरण, आत्मनिर्भर लगायतका काममा म लाग्नेछु । सामाजिक सुरक्षामा जोड दिन्छु । नगरको गल्ली गल्ली, टोल टोलमा बत्तीको राम्रो व्यवस्था गर्नेछु । सीसीटीभी ठाउँ ठाउँमा राख्ने व्यवस्था मिलाउने छु । त्यसले गर्दा महिला सुरक्षित भएको महसुस गर्नेछन् । युवाका लागि पनि विशेष कार्यक्रम ल्याउनेछु । लोकतन्त्र प्राप्तिमा युवाले देशका लागि धेरै योगदान दिएका छन् । युवाले साथ नदिएको भए कुनै पनि आन्दोलन सफल हुने थिएन । अहिलेसम्म युवाले राज्यलाई दिने काम मात्रै गरे म मेयरमा विजयी भएँ भने युवालाई नगरमार्फत रोजगार दिने बनाउँछु ।
४. दलमा आवद्ध नभएका सर्वसाधारण मतदाताले तपाईंलाई नै मत किन दिनुपर्ने ?
म समान्य राजनीतिक चेतना भएको कृषक परिवारको छोरा । विद्यार्थी राजनीतिबाट पार्टीमा आएको युवा उम्मेदवार हुुँ । मैले अहिलेसम्म कसैको लागि केही नराम्रो काम गरेको छैन जस्तो लाग्छ । समाज परिवर्तनका लागि अग्रपङ्तिमा रहेर योगदान गरेको युवा उम्मेदवार भएकाले सबैले मतदान गर्नुहुन्छ भन्ने लाग्छ । म यहाँको संस्कृति, परम्परा, धर्म, रितिरिवाज सबैलाई संरक्षण गर्दै आएको तपाईहरुकै परिवारको सदस्य हुँ । एक भोट मलाई दिनुस्, यहाँहरुले सोचेको, खोजेको जस्तै गल्याङ म बनाउँछु । स्वच्छ हराभरा गल्याङ बनाउँछु, सामाजिक सुरक्षा दिन्छु । मेरो नाम आफ्नो कर्मले देखाउँछु÷चिनाउँछु । यस नगरलाई कृषि, पशुपालन र पर्यटकीय गन्तव्यको स्थल बनाउने छु ।
५. तपाईं निर्वाचित हुनुभयो भने जिल्लाका अन्य पालिका भन्दा भिन्न विकास गल्याङमा पाँच वर्षमा के के देख्न सकिन्छ ?
अहिले नै मैले भनेर सबै कुरा हुने त होइन । निर्वाचित भएँ भने काम गरेर देखाउँछु । शिक्षालाई निशुल्क र युवालाई रोजगारी साथै उद्यम विकास अन्यत्र भन्दा फरक हुनेछ । मेरो प्रमुख एजेन्डा भनेको भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अवलम्बन गर्दै यसको नियन्त्रणका लागि विशेष संयन्त्र बनाउने नै हो । अहिले स्थानीय तहप्रति आमजनताको धारणा नकारात्मक बन्दै गएको छ । यसको प्रमुख कारण भनेको भ्रष्टाचार नै हो । यसलाई म निमिट्यान्न पार्छु । नगरले गर्ने विकास–निर्माणका कामलाई प्राथमिकता दिन र व्यवस्थित गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा विभाजन गर्नेछु । नगरपालिका कार्यालयमा गरिँदै आएका अनावश्यक र अनुत्पादक खर्च नियन्त्रण, नगरका खर्चलाई रचनात्मक क्षेत्रमा प्रयोग गर्न कठोर आर्थिक नीति र अनुशासनको तर्जुमा, नगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सुविधा, सेवा र सामाजिक कार्यमा प्रदान, नगरपालिकाका कार्यसम्पादनलाई व्यवस्थित, सुचारु र प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विशेषज्ञहरुको विज्ञ समूह गठन गर्ने एजेन्डालाई मैले अघि सारेको छु ।
६. कांग्रेस नेतृत्वले सबै हिसाबले जित्ने व्यक्तिलाई टिकट दिएको भनेको छ । तपाईं कसरी सबै हिसाबले जित्ने व्यक्ति पर्नुभयो त ?
नयाँ नयाँ विचार ल्याउने भएर होला । म सामाजिक विषय उठाउने गर्छु । गल्याङ नगरवासीको दुखसुखको एक सेवकको रुपमा परिचित पनि हो । नगरको आर्थिक, सामाजिक र उन्नयनका लागि सदैव अग्रपंक्तिमा उभिएको युवा हो । सबैको मन जित्न सक्छ भन्ने पाटीले मुल्याङ्कन ग¥यो र सबैहिसाबले परे होला । म भए जित्ने अर्को भए नजित्ने भन्ने होइन सबै अग्रज नेताहरु अहिले गल्याङ्मा जित्न सक्ने हुनुहुन्थ्यो । पार्टीका अग्रज र युवाहरुको प्रेरणाले नै मलाई यही देखाएको होला ।
७. तपाईहरुले सबै क्षेत्र समेटेर घोषणापत्र जारी गर्नुभएको छ । तर पार्टीको घोषणापत्र कार्यान्वयन गर्न मेयरलाई अवरोध गर्ने काम त फेरि पार्टीबाटै होला । त्यस्तो अवस्थामा के गर्नु हुन्छ ?
त्यस्तो हुँदैन । घोषणा प्रमाणीकरण गर्नुपर्छ । पार्टीको सर्वोच्च लिडरसिपसँग कुरा गर्नुपर्छ । समस्या कहाँ बसेर समाधान हुन्छ, त्यो बुझ्नुपर्छ । गल्याङमा विगतको पाँच वर्ष त एक ढंगले खेरै गयो । अब त्यसबाट पाठ सिक्छौं । हाम्रो घोषणापत्रमा मानिसको जिन्दगीलाई सरल बनाउने, आर्थिक हैसियत माथि ल्याउने, प्रकृतिले दिएका पर्यावरणलाई नबिगारी विकास गर्ने खाका ल्याएकाछौं । घोषणापत्रका सबै कुरा संभव छन् ।
८. तर यसपटक तपाईंको प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेको जिल्ला अध्यक्ष पनि हुनुहुन्छ । यो प्रतिस्पर्धालाई कसरी लिनु भएको छ ?
मैले धेरै ठाउँ भनिसकेँ– मलाई प्रतिस्पर्धा नै लागिरहेको छैन । ग्रास रुटसम्म बनेको कांग्रेसको संगठनको जग, भातृसंगठन, मिडियामा रहेका साथीहरुको क्रियाशीलता, आम कार्यकर्ताहरुको सहयोग, हाम्रो पार्टीका अग्रजहरुले गरेको उपलब्धि हेर्दा मैले निर्वाचन अवश्य जित्छु भन्ने लाग्छ । म त उपलब्धि र जगले खडा गरेको सामान्य पात्र न हो । विगतमा गल्याङमा नेतृत्व गरेको एमालेले अब के भनेर भोट माग्ने ? धारे हात लगाएर कांग्रेसलाई सराप्ने बाहेक केही पनि नभएपछि भोट कसरी आउँछ ? अन्यथा नलिनुहोला, मलाई प्रतिस्पर्धा जस्तै फिल हुन छोडिसक्यो । कार्यक्रम, विचार, दर्शनको प्रतिस्पर्धा हुनुप¥यो ।
९.गुरुसंग पैसा कम छ, के चुनाव जितिन्छ भन्ने लागेको होला र भन्ने पनि टीकाटिप्पणी सुनिन्छ नि !
जनताको मत पैसाले किन्न सकिने विषय होइन । म पैसा खर्च गरेर पदमा पुग्ने र पदमा पुगेपछि त्यो पैसा असुल गर्नेतिर लाग्ने प्रवृत्तिको विरोधी हुँ । म पार्टीमा पूर्णकालीन कार्यकर्ता हुँ । राजनीति पेशा हुन सक्दैन । राजनीति सेवा हुनुपर्छ । आजको दिनमा साँझ–बिहानको छाक टार्न समस्या छैन । म राजनीतिमा स्वयंसेवकका रुपमा काम गर्छु भनेर आएको हुँ । मैले नेतृत्व गरेको ठाउँमा निःस्वार्थ सेवा हुन्छ भन्ने स्थापित गरेको पनि छु । मैले पैसाभन्दा बढी साथीभाइ, समाजप्रतिको उत्तरदायित्व र इमान्दारी कमाएको छु । त्यही विश्वास र इमान्दारीले मलाई नगरको नेतृत्वमा पु¥याउनेछ ।
१०. अन्त्यमा पब्लिक आवाज मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
नेपाली कांग्रेस लोकतान्त्रिक आन्दोलन र संघर्षको उद्गमबाट जन्मिएको पार्टी हो । म अहिले नेपाली कांग्रेसका पथप्रदर्शक जननायक बीपी कोइराला, श्रद्धेय नेताहरु सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाहरुलाई यतिबेला सम्झिरहेको छु । हामी संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्तिपछि स्थानीय तहको दोस्रो निर्वाचन, २०७९ का सम्मुखमा छौँ । यस ऐतिहासिक क्षणमा म गल्याङको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक र साहित्यिक उत्थानमा योगदान गर्नुहुने समस्त महानुभावहरुलाई स्मरण गर्छु । पार्टीको विभिन्न तहमा काम गर्दै यहाँसम्म आएको छु । अहिलेसम्म कुनै सुविधाको राजनीतिक नियुक्ती पनि लिएको छैन । पत्रकार साथीहरुले पनि यो समाचार सम्प्रेषण गरिदिनुस् कि ५ बर्षसम्म रोइलो गाएर कांग्रेसले जितेको भए हुन्थ्यो भनेर भन्ने दिन फेरी नआओस् । बेलामा बुद्धि पुर्याऔँ । आम नेपाली कांग्रेसका कार्यकर्ता तथा मतदाताहरुलाई पनि चुनाव नहुन्जेल इच्छा आँकाक्षा जाहेर गरौँ भन्छु । उम्मेदवार छनौट भइसकेपछि कांग्रेसले कांग्रेसलाई हराउने काम नगरौँ । अवसर फेरी पनि आउँछ हतारमा निर्णय नगरौँ भन्न चाहान्छु । मेरा भावनाहरु राख्ने अवसर यहाँको मिडियामार्फत् पाएँ त्यसको लागि आभार व्यक्त गर्दछु । धन्यवाद, जयनेपाल ।
प्रतिक्रिया