पदभारसँगै पहिलो निर्णय सार्वजनिक गर्दै पालिका प्रमुखहरु

स्याङ्जा ।
वालिङका नवनिर्वाचित नगर प्रमुख कृष्ण खाँणले एक वर्षमा शल्यक्रिया कक्ष (सीएस) सेवाको संञ्चालन र २ वटा ग्रामिण सडक स्तरोन्नती गर्ने पहिलो निर्णय गरो छन् । प्रमुख खाँणले पदभार ग्रहणपछि सो निर्णय गरेका हुन् । प्रमुख खाँण र उपप्रमुख कबिता तिवारीले धार्मिक विधी अनुरुप पूजाआजा गरेर सोमबार पदभार ग्रहण गरेका हुन् ।
नगरप्रमुख खाँणले सीएस सेवा नहुँदा यहाँका जटिल अवस्थामा रहेका गर्भवतीले जिल्ला अस्पताल स्याङ्जा, पाल्पा, पोखरा जानुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘गह्रौ प्राथमिक अस्पताल वालिङमा एक वर्षभित्र सीएस सेवा सुरु गर्नेछौं ।’ यसैगरी दुर्घटना घटाउने उद्देश्यले वालिङ १२ डाँडाखर्क र वालिङ १४ अर्खलबासको ग्रामीण सडक स्तरोन्नति गर्ने निर्णय भएको छ । यी दुवै ग्रामिण सडकमा गत बैशाखमा दुर्घटना हुँदा ६ जना र निर्वाचनका दिन बैशाख ३० गते मतदाता बोकेको जीप दुर्घटना १४ जनाको मृत्यु भएको थियो । उक्त घटनाका ९ जना घाईते अझै उपचाररत छन् । पदवहालीसहितका अन्य कार्यक्रममा वालिङ् नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराईले सहजीकरण गरेका थिए ।
यसैगरि कालीगण्डकी गाँउपालिकाका अध्यक्ष खिमबहादुर थापाले ग्यास चुल्होसँग इन्डक्सन चुल्हो साट्ने निर्णय सार्वजनिक गरेका छन् । जनताले आफ्नो घरमा रहेको ग्यास चुल्हो गाँउपालिकामा ल्याएर बुझाउने तथा गाँउपालिकाले बिजुलीबाट चल्ने चुल्हो दिने भएको हो । यसबाट आर्थिक बचत हुने तथा सस्तो बिद्युतको सदुपयोग हुने अपेक्षा गरिएको छ ।
जिल्ला सदरमुकाममा रहेको पुतलीबजार नगरपालिकाले ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका हुन् । रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भइ पहिलो निर्णयको रुपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको उनले बताए । “स्याङ्जा जिल्ला अस्पतालमा डायलासिस सेवा विस्तार र ‘ब्लड बैंक’ स्थापनालाई पहिलो प्राथमिकतामा राखेर निर्णय गरिएको छ ।”, नगरप्रमुख रेग्मीले भने, “सार्वसाधारणमा स्वास्थ्यको सहज पहुँचका लागि थालिएको अभियानलाई पूर्णता दिने गरी कामको सुरुवात गरेका हौँ ।”
हाल सञ्चालनमा रहेको डायलासिस सेवालाई विस्तार र प्रभावकारी ढङ्गबाट सञ्चालन गर्ने, ‘ब्लड बैंक’ स्थापना गरी सहजरुपमा रगत उपलब्ध गराउने कार्यकालागि आर्थिक वर्ष २०७८÷७९ को विपद् व्यवस्थापन कोषबाट रु १० लाख निकासा गर्न लागिएको छ । डायलासिस सेवालाई विस्तार र थप प्रभावकारी बनाउन आवश्यक स्वास्थ्यकर्मी, बायोमेडिकल टेक्निसियन तथा पूर्वाधार निर्माण गरिने भएको छ । जिल्ला अस्पतालमा हाल नियमितरुपमा १२ मिर्गौलाका बिरामीलाई डायलासिस गरिँदै आएकोमा त्यसलाई विस्तार गरी ४५ जनालाई सेवा उपलब्ध गराउने गरी आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्न लागिएको छ ।
सेवा थप विस्तार भएसँगै मिर्गौलाका बिरामीलाई डायलासिस गर्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुनाका साथै जिल्ला अस्पतालमा शल्यक्रियामार्फत हुने सुत्केरी सेवा र अन्य बिरामीलाई अत्यावश्यक पर्ने रगत सहजरुपमा उपलब्ध गराएर रगतको अभावमा अकालमै मृत्यु हुनबाट रोक्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । यता फेदीखोला गाँउपालिकाले प्राविधिक शिक्षाका बिद्यार्थाीहरुलाई पूर्ण छात्राबृत्ति दिने भएको छ ।
प्रतिक्रिया