भीरकोटवासीलाई निराश हुन दिने छैन् ः मेयर कर्माचार्य

भीरकोट ।
भीरकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका गोविन्द कुमार कर्माचार्यले विगतका अधुरा काम पूरा गर्ने बताएका छन् । मेयरमा निर्वाचित भएपछि विभिन्न भेटघाटमा जनताहरुसँग कुरा गर्दै उनले भीरकोटलाई कृषि र पर्यटनको नमूना नगर बनाउने संकल्प पाँच वर्षमा पूरा गर्ने बताए । ‘भीरकोट नगरवासीलाई निराश हुन दिने छैन’, उनले भने । निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरुप नै आफलेू अबको पाँच वर्ष तिव्र गतिमा काम गर्ने बताए । उनले भने,– “नगरभित्र पूरा गर्न बाँकी योजना, आयोजना यो कार्यकालभित्रै सम्पन्न गर्ने तर्फ विशेष ध्यान जान्छ ।”
भीरकोटलाई कृषि र पर्यटनको हब बनाउने अवधारणा अनुसार केही काम अगाडि बढेपनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उनको भनाइ थियो । उनले भने, “भीरकोटमा मुख्य गरेर रोजगारीको समस्या विकराल बन्दै गएको छ । त्यसको समाधान तर्फ पनि विशेष ध्यान दिनेछु ।” शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास, फोहर तथा ढल व्यवस्थापनमा जोड दिने भन्दै उनले तत्काल आँधिखोला नियन्त्रणका लागि तटबन्धको काम शुरु गरेका छन् । भीरकोटका जनताले इमान्दारिता प्रकट गरेकाले आफ्नो जित भएको उनको भनाइ थियो । उनले भने, “विपक्षीहरुले हराउनका लागि ठूलो योजना बुने तर पनि असफल भए । अब हामी मतदाताले दिएको जिम्मेवारी पूरा गर्न तर्फ लाग्छौँ ।”
यतिबेला निर्वाचन अघि आफुले प्रतिवद्धता जाहेर गरे अनुरुप आँधिखोलाई दोहोरो तटबन्ध गरी खेतीयोग्य जमिन जोगाउने अभियानमा मेयर लागिपरेका छन् । उनको अभियानमा काँग्रेसका नगर सभापति यामप्रसाद अधिकारीले पनि साथ दिएका छन् । प्रतिबद्धता अनुरुप काम शुरु भएकोमा जनता काम सम्पन्न हुनेमा आशावादी छन् । हुन त कर्माचार्यले जनताको भावना अनुरुप नै पदभार ग्रहणका क्रममा प्रतिबद्धता व्यक्त गर्दा सर्वसाधारणमा केही गर्छ भन्ने अटल विश्वास पलाएर आएको थियो । आँधिखोला तटबन्धका सम्वन्धमा उनले भने–‘भीरकोटको जनजीवनसँग जोडिएको प्रमुख समस्याको रुपमा रहेको आँधिखोलाले खेतीयोग्य जमिन कटान गर्ने समस्या समाधानमा म केन्द्रित हुन्छु ।’ उनले सबैसँग सहकार्य गरेर अगाडि बढने प्रतिबद्धता जनाउदै भने ‘हाम्रो लागि सरकार भएपनि कर मात्र उठाउछ भन्ने आभाष हुन दिन्नँ, सरकारको अनुभूति सर्वसाधारणलाई दिलाउछु,। ’
प्रतिक्रिया