स्याङ्जाका सबै पालिकालको बजेट ७ अर्ब नाघ्यो

श्रीकृष्ण सिग्देल,
स्याङ्जा ।

आर्थिक बर्ष २०७९÷०८० को लागि स्याङ्जामा रहेका सबै पालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । अधिकांश पालिकाले पुरानै शैलीमा बजेट पेस गरेका छन् । भौतिक पूर्वाधार निर्माणमा अधिकांशले बढी बजेट खर्चिएका छन् । त्यसपछि स्वास्थ्य, शिक्षा, खानेपानी, वन तथा वातावरण, संस्कृति तथा पर्यटन, खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, फोहोर व्यवस्थापन, नदी नियन्त्रणमा बजेट विनियोजन गरेका छन् । केही पालिकाले भने कृषि क्षेत्रमा पर्याप्त बजेट छुट्याएको पाइएको छ । आगामी आर्थिक बर्षका लागि पेश गरिएको ११ ओटै पालिकाको बजेटको आकार ७ अर्ब २ करोड ५२ लाख ५३ हजार ८ सय रहेको छ । संघिय सरकारले जिल्लालाई ४ अर्ब ६६ करोड २४ लाख बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक बर्षका लागि स्याङ्जाका स्थानीयतहले पेश गरिएको बजेटमा २ अर्ब ३६ करोड २८ लाख ५३ हजार ८ सय आन्तरिक श्रोतबाट व्यवस्थापन गर्नेगरी बजेट ल्याएका छन् । आन्तरिक श्रोत र संघिय सरकारले बिनियोजन गरेको बजेट सगै स्याङ्जाका सबै पालिकाको बजेट ७ अर्ब भन्दा बढी हुनेछ ।

जिल्लाका ११ पालिकाहरुले सार्वजनिक गरेका बजेटमध्ये सबैभन्दा धेरै वालिङ नगरपालिकाले ९१ करोड ८२ लाख २० हजार बराबरको बजेट पारित गरेको छ । नगरसभामा प्रस्तुत बजेटको ४५.८ प्रतिशत चालुतर्फ तथा ५४.२ प्रतिशत पूँजीगततर्फ रहेको छ । यस्तै पुतलीबजारले ९० करोड ६४ लाख ८८ हजार बराबरको बजेट बहुमतले पारित गरेको छ । बजेट मध्ये ३० करोड ९७ लाख १५ हजार पुँजीगततर्फ र ५९ करोड ६७ लाख ७३ हजार चालु खर्चतर्फ नगर सभाले बिनियोजन गरेको हो ।
यता जिल्लाको पहिलो बालमैत्री नगरपालिका भीरकोट नगरपालिकाको दशौं नगर सभाले ७५ करोड ४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । बजेटमध्ये चालु खर्चतर्फ ४३ करोड १७ लाख ४८ हजार र पूंजीगत खर्चतर्फ १५ करोड ८६ लाख ८२ हजार रहेको छ । यस्तै चापाकोट नगरपालिकाको ११ औँ नगरसभाले ६१ करोड ३४ लाख ७८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । प्रस्तुत बजेटको चालु खर्चतर्फ ४० करोड ५३ लाख ५२ हजार र पुँजीगत तर्फ २० करोड ८१ लाख २६ हजार विनियोजन गरिएको छ ।

यसैगरी कालिगण्डकी गाउँपालिकाले ५६ करोड ९१ लाख ५० हजार बराबरको बजेट अनुमान गरेको छ । बजेटमा चालुतर्फ ३२ करोड २५ लाख ५५ हजार र पुँजीगततर्फ २४ करोड ६५ लाख ९५ हजार रहेको छ । यहाँ सबैभन्दा धेरै आन्तरिक श्रोतमध्ये जलश्रोत रोयल्टी ५ करोड, राजस्व १ करोड १० लाख र अन्य १ करोड ७४ लाख ५९ हजार रहेको छ ।

यस्तै आँधीखोला गाउँपालिकाले ७१ करोड १८ लाख बराबरको बजेट अनुमान गरेको छ । पालिकाले पुँजीगततर्फ पूर्वाधार विकास निर्माण १८ करोड ८५ लाख, सशर्त, समपूरक, विशेष सशर्त कार्यक्रम २७ करोड २९ लाख, चालुतर्फ कार्यालय तथा प्रशासनीक खर्च ६ करोड ६३ लाख, आर्थिक, सामाजिक, सांस्कृतिक, सुशासन, न्याय तथा समानता, लैङ्गिक तथा समावेशिकरणतर्फ ५ करोड करोड २३ लाख, सामाजिक सुरक्षा भत्ता तर्फ १३ करोड १८ लाख प्रस्ताब गरेको छ ।
यता बिरुवा गाउँपालिकाले ४९ करोड ३ लाख बराबरकोे प्रारम्भिक बजेट अनुमान गरेको छ । चालू खर्चतर्फ ३१ करोड ४७ लाख ८० हजार र पुंजिगततर्फ १७ करोड ५५ लाख २० हजार रकम बिजनियोजन गरिएको छ । अर्जुनचौपारी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को लागि ४४ करोड १८ लाख १९ हजार बराबरको बजेट प्रस्ताब गरेको छ । बिनियोजित बजेटमध्ये १४ करोड ३३ लाख ८९ हजार पुजिगततर्फ प्रस्ताब भएको छ भने चालु खर्चतर्फ ७ करोड ३९ लाख ३० हजार प्रस्ताब भएको छ । बजेटमा सशर्त अनुदान तर्फ १८ करोड ४५ लाख रकम चालु तथा पुजिगत बजेट बिनियोजन भएको छ ।

यस्तै गल्याङ नगरपालिकाले ८२ करोड ५६ लाख ८२ हजार बराबरको बजेट ल्याउँदा फेदिखोलाले ३७ करोड ९० लाख ९६ हजार ८ सय बराबरको बजेट प्रस्ताब गरेको छ । यसैगरी हरिनास गाँउपालिकाले ४१ करोड ८७ लाख ८० हजार बराबरको बजेट प्रस्ताव गरेको छ । अधिकांश पालिकाले नीति तथा कार्यक्रममा सडक र पुर्वाधारमा पहिलो प्राथमिकता दिएर बजेट बिनियोजिन गरेका छन् । कृषि, स्वास्थ्य र शिक्षामा समेत प्राथमिकता राख्दै धेरै पालिकाले बजेट बिनियोजन गरेका छन् । कतिपय पालिकाको नीति तथा कार्यक्रम र बजेटको तालमेल भएको देखिदैन । जसले गर्दा नीति तथा कार्यक्रममै चुनौती छ ।

 

 

प्रतिक्रिया