चापाकोटमा ३२ जनाबाट रक्तदान

चापाकोट ।
स्याङ्जाको चापाकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी चापाकोट उपसाखाको आयोजना नेपाल रेडक्रस सोसाईटी स्याङजाको प्राविधिक सहयोग र चापाकोट नगरपालिकाको आर्थिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । ४ महिला र २८ पुरुष गरी ३२ जनाले रक्तदान गरेका हुन् ।

संक्रलित ३२ युनिट रगत स्याङ्जाको ब्लड बैंकमा राखिएको छ । पछिल्लो समय स्याङ्जा स्थित ब्लड बैंकमा रगत अभाव भएपछि रेडक्रसको अनुरोधमा रक्तदान कार्यक्रम गरिएको रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्यालले जानकारी दिए । नेपाल रेडक्रस सोसाईटी स्याङ्जाले केहि महिनादेखि ब्लड बैंक स्थापना गरेर रगतको सहजता प्रदान गरेको छ ।

जिल्लाका ११ पालिकाको सहयोगमा स्थापित ब्लड बैंकमा रगत अभाव रहेको सभापति अर्यालले बताए । अर्यालले भने,‘रगत अभाव भएकाले हामीले अनुरोध गरेर रक्तदान कार्यक्रम गरिएको हो । संकलित ३२ पिन्ट रगतले एक हप्तासम्म काम गर्छ ।’ अन्य विभिन्न संघसंस्थाहरुलाई समेत रगत अभाव भएकाले रक्तदान कार्यक्रम गर्न अनुरोध गरिएको छ उनले भने ।

स्याङ्जा स्थित ब्लड बैंकमा १२० पिन्ट रगत राख्ने क्षमता छ । चापाकोट स्थित गंगालाल माविमा भएको रक्तदान कार्यक्रममा बोल्दै चापाकोट नगरउपप्रमुख ईशा रानाले मानव सेवाको सबैभन्दा ठुलो धर्म नै रगतदान भएकाले नगरपालिकाले यस्ता मानविय कार्यमा सँधै सहकार्य गर्ने बताइन् । कार्यक्रममा रेडक्रस सभापति दिनेश अर्याल, मन्त्री रामचन्द्र अर्याल, रेडक्रस जुनियर संयोजक विष्णु गैह्रे, चापाकोट स्वास्थ्य शाखाप्रमुख विन्दु कोईरालालगायतले रगत दान गर्नु महान कार्य भएको बताएका थिए ।

प्रतिक्रिया