‘जनतासँग काँग्रेस अभियान’ पालिकास्तरमा

भीरकोट ।
काँग्रेस स्याङ्जाले चुनाव लक्षित ‘जनतासँग काङ्ग्रेस अभियान’लाई पालिकास्तरमा सञ्चालन गरेको छ । जिल्लास्तरमा कार्यक्रम गरी शुभारम्भ गरिएको उक्त अभियानलाई जिल्लाका ११ वटै पालिकामा सञ्चालन गरिने भएको हो । नेपाली काँग्रेस भीरकोट नगरसमितिले आयोजना गरेको शुभारम्भ कार्यक्रममा पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अग्रज नेतादेखि सबैको व्यवस्थापन हुनुपर्ने बताए । चुनावमा पाँच दलबीच गठबन्धन हुने भएकाले पार्टी र गठबन्धनलाई विजयी गराउन इमान्दार भएर लाग्नुपर्नेमा रेग्मीले जोड दिए । रेग्मीले निर्वाचनमा पार्टीले जुन क्षेत्रबाट टिकट दिन्छ सोही क्षेत्रबाट चुनाव लड्न तयार हुनुपर्ने बताए । पार्टीले आवश्यकता अनुसार निर्वाचनमा टिकट दिने र जुनसुकै क्षेत्रबाट पनि निर्वाचन लड्न तयार भएर मानसिकता बनाउनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि अर्जुन प्रकाश अर्याल, भीरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्य, महाधिवेशन प्रतिनिधि छायाराम खनाल, भीरकोट नगर उपप्रमुख भगवती रेग्मी अर्याल, निवर्तमान नगर उपप्रमुख सिमा केसी कर्माचार्य, नगर प्रवक्ता दिपेन्द्र केसी, नगर सभापति लक्ष्मण अधिकारी लगायतले ‘जनतासँग काँग्रेस अभियान’ मार्फत जनतालाई कांग्रेसमा आकर्षित गर्नुपर्ने बताए ।

प्रतिक्रिया