स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकतामा ः नगर उपप्रमुख तिवारी

वालिङ ।
वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आधारभुत क्षेत्र आफूहरुको पहिलो प्राथमिकतामा रहेको बताएकी छन् । वालिङ १० मदिखोलामा रहेको ‘फुलबारी सहरी स्वास्थ्य केन्द्र’ को नयाँ भवनबाट सेवा प्रवाह शुभारम्भ गर्दै नगरउपप्रमुख तिवारीले समस्या रहित आधारभुत सेवा नागरिकलाई उपलव्ध गराउनु हाम्रो पहिलो काम भएकोले यसमा हामी प्रतिबद्ध रहेको बताईन् । नागरिकको व्यक्तिगत जीवनमा परिवर्तन ल्याउदै आर्थिक रुपमा सवल हुने योजना सञ्चालन गरिने भन्दै उपप्रमुख तिवारीले गाँउमा नै स्वरोजगार बन्ने अवस्था सिर्जना गर्न नगरपालिकाले बिभिन्न कार्यक्रम ल्याउने बताइन् । गाँउको समस्याहरुको पहिचान र समस्याको समाधानका लागि सबैको सहकार्य आवश्यक रहेको उपप्रमुख तिवारीको भनाई छ ।
कार्यक्रममा वडा नं. १० निवर्तमान् वडा अध्यक्ष अनन्तराज गैह्रे, वडा अध्यक्ष तथा सहरी स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष सुनिल खनाल, वडा सदस्य लुकमाया एस्के, स्थानीय समाजसेवी हिमनिधि पंगेनी, तरकारी तथा फलफूल सहकारीका अध्यक्ष कल्पना गौतम पंगेनी, वडा सचिव दिपेन्द्र गैह्रे, स्वास्थ्यकर्मी कला गैह्रे लगायतले जनप्रतिनिधिहरुले चुनावमा भोट माग्दा बोलेका प्रतिवद्धताहरु पुरा गर्नुपर्ने बताएका थिए ।
२०७४ सालमा स्थापना भएको सहरी स्वास्थ्य केन्द्रले यसअघि स्थानीय क्लवको भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । सोही अवसरमा स्थानीय समाजसेवी ढाकाराम डुम्रेले आफ्ना बुवा बासुदेव डुम्रे तथा आमा गिनसरा डुम्रेको स्मृतिमा स्वास्थ्य केन्द्रलाई ह्विलचियर प्रदान गरेका थिए । प्रयोग नहुदै स्वास्थ्य चौकी जिर्ण भन्ने खबर पब्लिक आवाजले प्रकाशित गरेको एकसाता नवित्दै वडा कार्यालयले भवन सदुपयोग गरेको छ ।
प्रतिक्रिया