अर्जुनचौपारीमा घरदैलो स्वास्थ्य अभियान

अमृत अर्याल,
वालिङ ।
स्याङ्जाको अर्जुनचौंपारी गांँउपालिका–२ केवरेकी ८४ वर्षीय द्रुपती केसी समयसमयमा बिरामी पर्छिन् । उच्च रक्तचाप र दमको बिरामी केसीलाई दैनिकजसो स्वास्थ्य संस्थामा लैजानुपर्ने बाध्यता भए पनि अहिले पहिले जस्तो स्वास्थ्य संस्था जानुपर्ने बाध्यता हटेको छ । बुढेसकालमा स्वास्थ्योपचारका लागि स्वास्थ्य संस्थासम्म जान निकै गाह्रो मान्ने केसी घरमै स्वास्थ्यकर्मी आउन थालेपछि खुशी भएकी छन् । पालिकाले ज्येष्ठ नागरिक र अपांगता भएकालाई घरदैलोमा स्वास्थ्योपचार कार्यक्रम शुरु गरेपछि केसी जस्ता धेरैले घरमै बसेर आफ्नो स्वास्थ्य जाँच गराउन पाएका छन् । पहिला अत्यधिक रुपमा बिरामीले च्यापेपछि मात्र स्वास्थ्य संस्थामा जान्थे ८४ बर्षिय केसीले भनिन्,‘अहिले स्वास्थ्यसेवा घरमै लिन पाए, खुशी छु ।’ पालिकाले ज्येष्ठ नागरिकका लागि गरेको यो कार्यक्रमले हामी जस्तालाई धेरै सहज भएको छ उनले भनिन् ।

वडा नं. ६ का चेते खड्का ७२ वर्षका भए । उनलाई उच्च रक्तचाप र खोकीको समस्या छ । उनि औषधि ल्याउनकै लागि पनि स्वास्थ्य संस्था पुग्नुपथ्र्यो । अहिले स्वास्थ्यकर्मीको परामर्शले मात्रै पनि उनले आफूलाई सञ्चो भएको महसुस गर्न थालेका छन् । घरमै उपचार सगै औषधी पाएका छौं ७२ बर्षिय खड्काले भने,‘यसभन्दा बढी सुविधा हाम्रा लागि अरु केही हुन सक्दैन ।’ यो कार्यक्रमलाई पालिकाले निरन्तरता दिन सके धेरै राम्रो हुन्थ्यो उनले भने । कार्यक्रम नियमित सञ्चालन भएन भने हाम्रो स्वास्थ्यको कसले पुनः हेरचाह गर्ला भन्ने चिन्ता यो सेवाले हटेको खड्काको भनाई छ ।

खड्का र केसी जस्तै अर्का वडा नं. ६ कै ४७ वर्षीय बेदप्रसाद पौडेल शारिरिक रुपमा अशक्त थिए । उनलाई औषधोपचारका लागि स्वास्थ्य संस्थासम्म जान उनलाई पनि निकै समस्या थियो । शारीरिक अस्वस्थताका कारण सधै घरका अन्य सदस्यलाई पनि भन्न अप्ठ्यारो मान्ने पौडेल अहिले खुशी देखिन्छन् । घरमै स्वास्थ्यकर्मी उपचारका लागि पुग्न थालेपछि पौडेललाई स्वास्थ्य संस्थासम्म जानपर्ने बाध्यता मात्र टरेको छैन गाउँघरमा हुने विभेदमा पनि कमी भएको महसुस हुन थालेको छ । पालिकाले हाम्रा लागि यो भन्दा राम्रो काम केही गर्न सक्दैन पौडेलले भने,‘नागरिकमैत्री यस्तो सेवालाई निरन्तरता दिनुपर्छ ।’ अहिले औषधि उपचारभन्दा स्वास्थ्यकर्मीको परामर्शले हामी धेरै खुशी छौं उनले भने । अर्जुनचौपारी गांउपालिकाले ज्येष्ठ नागरिक, अपांगता भएकाहरुको घरदैलो स्वास्थ्योपचार र अन्यको हकमा टोल टोलमै पुगेर उपचार गर्नका लागि ३ जना स्वास्थ्यकर्मीको टिम नै खटाएको छ । स्वास्थ्यकर्मी लिलादेवी गुरुङ हप्तैपिच्छे स्वास्थ्योपचारका लागि स्वास्थ्य संस्था धाउनुपर्ने नागरिकको बाध्यता टरेको बताउछीन् । घरमै पुगेर उनीहरुको स्वास्थ्य परामर्स सहित उपचारमा खटिएका छौं गुरुङले भनिन्, ‘स्वास्थ्य संस्था जानै पर्ने भए पनि स्वास्थ्यकर्मीको सल्लाहअनुसार जाँदा सहजरुपमा सेवा पाउन थालेका छन् ।’ घर—घरमा स्वास्थ्यकर्मी पुग्दा ठुलो राहत महशुष नागरिकले गरेका छन् उनले भनिन् ।

माघ महिनाबाट शुरु भएको घरदैलो स्वास्थ्य अभियानमा हालसम्म ४ सय ८३ जेष्ठ नागरिक र १ हजार ३ सय ५ अन्यले स्वास्थ्य सेवा लिएका छन् । उक्त टिममा सहभागी स्वास्थ्यकर्मी गिता सापकोटाले शुरुमा काम गर्न गाह्रो भए पनि अहिले गाउँमा जाँदा नागरिक आफै उपचारका लागि आउने गरेको बताएकी छन् । उनले गाउँमा गएर प्राथमिक उपचार र स्वास्थ्य परामर्शका साथै स्वास्थ्य संस्थाबाट प्रदान गरिने निःशुल्क औषधीसमेत वितरण गरिँदै आएको बताईन् ।
नागरिकहरु पालिकाले थालेको यो कामबाट पूर्णरुपमा सन्तुष्ट भएको देखिन्छ । पालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वरी केसी पालिकाको क्षमताले भ्याएसम्म नागरिकलाई स्वास्थ्योपचारका लागि काम गरेको बताउछन् । कार्यक्रमलाई निरन्तरता दिने हाम्रो प्रयास छ उनले भने,‘बिशेष स्वास्थ्य प्याकेज बनाएर अगाडी बढ्ने अभियानमा छ ।’ नागरिकको स्वास्थ्यप्रति हामी जिम्मेवारी छौं भन्ने सन्देश दिने छौं उनले भने ।

स्वास्थ्य शाखा प्रमुख केसीका अनुशार यो स्वास्थ्य परिक्षण अभियानमा विशेष गरि नसर्ने रोगहरु उच्च रक्तचाप, मधुमेह र स्वासप्रश्वासको समस्या भएका बिरामीहरु बढी भेटिएको छ । महिलाहरुमा बढी रक्तअल्पताको समस्या भेटिएको केसी बताउछन् । बच्चाहरुमा कुपोषणको समस्या नभेटिएको उनको भनाई छ । समस्यामा परेका बिरामीहरुलाई औषधी वितरणदेखि व्यावहार परिवर्तनको सन्देश समेत दिइएको केसीले बताए । ग्रामिण इलाकामा सरसफाईको पनि समस्या रहेको केसीले जानाकारी दिए । जनताले पाउनुपर्ने स्वास्थ्य सुविधाको अधिकार पनि प्रयोग नगरेकाले तथा स्वास्थ्य संस्थामा सेवा लिन पनि नआउने गरेकाले यो अभियानको थालनी गरेको केसीले बताए । हामीमा पनि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध छ है भन्ने सन्देश दिन पनि यो कार्यक्रम शुरु गरेको स्वास्थ्य प्रमुख केसीको भनाई छ ।
हरेक महिनामा नागरिकको स्वास्थ्य परिक्षण लिने अभियान शुरुआत गरेको गाँउपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।

प्रतिक्रिया