प्राकृतिक चिकित्सालय निर्माण हुदैं

गल्याङ ।
स्याङ्जाको गल्याङ नगरपालिका–१ महालिङ्गधामस्थित उत्तरबाहिनी क्षेत्रमा प्राकृतिक चिकित्सालय (आयुर्वेद अस्पताल) बन्ने भएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट गरिने उपचार प्रभावकारी बन्दै गएपछि दीर्घकालीन रोगका बिरामीलाई सेवा दिने उद्देश्यले चिकित्सालयको निर्माण थालिएको हो । संघीय सरकारको सहरी विकास मन्त्रालय र नगरपालिकाको साझेदारीमा २ करोड १२ लाखको लागतमा १० शैयाको अस्पताल बन्न लागेको हो । फूलजोर निर्माण सेवा बिजुलीबजार काठमाडौँसँग गत फागुन १८ गते यसै आर्थिक वर्षमा काम सक्नेगरी भएको सम्झौताको काम धमाधम भैरहेको छ ।
४२ रोपनी क्षेत्रफलमा निर्माण हुन गैरहेको सुविधा सम्पन्न २४ कोठे अस्पतालबाट पञ्चतत्व, हाइड्रोथेरापी, फिजियोथेरापी, योगथेरापी, मसाजथेरापी, स्टिमथेरापी, अकुपञ्चर, एक्युप्रेससरलगायतका पद्धतिमार्फत बिरामीको उपचार गरिनेछ । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले प्राकृतिक पद्धतिबाट गरिने उपचार केही लामो समय लागे तापनि दीर्घकालीन फाइदा हुने हुँदा प्राकृतिक चिकित्सालय स्थापनाका लागि भवन निर्माण कार्य थालिएको बताए । “सामाजिक चिन्तन प्राकृतिक चिकित्सालय निर्माण गर्ने योजना थियो, उत्तरबाहिनीमा चिकित्सालय निर्माणका लागि त्यहाँ उपयुक्त वातावरण र भूगोल छ”, उनले भने, “कालीगण्डकीको तटमा सबैभन्दा राम्रो होला भनेर नगरपालिकाको अपनत्वमा अस्पताल निर्माणको काम भएको छ ।”
अध्यक्ष चैतन्य कृष्णले उत्तरबाहिनीमा योग शिविर, धार्मिक अनुष्ठान, संस्कृत शिक्षालगायतका कार्यक्रम पहिल्यैदेखि सञ्चालन हुँदै आएको जानकारी दिए । उनका अनुसार आवश्यकताका आधारमा नगरपालिकाले प्राविधिकलगायत अन्य व्यवस्थापकीय काम गर्नेछ । उनले भने, “प्राकृतिक उपचार पद्धतिले कुनै पनि प्रकारको असर नगर्ने र औषधि नखाई उपचार गरिने भएकाले संसारको सबैभन्दा राम्रो उपचार पद्धति यो हो, त्यसैले यहाँ प्राकृतिक चिकित्सालयको आवश्यकता भएको हो ।” चैतन्य कृष्णले यस अस्पतालमा प्राकृतिक भोजनसहितको प्राकृतिक उपचार गरिने बताए । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले यहाँ आउने तीर्थयात्री र बिरामीलाई निःशुल्क भोजनको व्यवस्था गर्ने जनाइएको छ ।
स्थानीय खगेन्द्र भण्डारीले उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय बन्नु अत्यन्त सुखद विषय भएको बताए । उनले तत्कालै उपचार गरिनुपर्ने बिरामी बाहेकका अन्य रोगीका उपचारका लागि यस उपचार पद्धति प्रभावकारी रहेको बताए । प्राकृतिक चिकित्सालय निर्माण भएसँगै गल्याङ नगरपालिका, वालिङ नगपालिका, पाल्पा र पर्वतका हजारौँ नागरिकले सेवा पाउने छन् । चिकित्सालयको संघीय सांसद धनराज गुरुङबाट शिलान्यास भएको थियो ।

प्रतिक्रिया