आर्थिक संकटकाल क्याम्पसको दिर्घकालिन स्थायित्वका लागि हो
हुमकान्त कोइराला,
अध्यक्ष,
क्याम्पस संचालक समिति,
वालिङ बहुमुखी क्याम्पस,
वालिङ, स्याङ्जा ।
यतिवेला शैक्षिक क्षेत्रमा भईरहेको चर्चा मध्ये एक हो, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको देशकै जेठो सामुदायीक क्याम्पस, वालिङ बहुमुखी क्याम्पसको आर्थिक संकटकाल । स्याङ्जा जिल्लाको करिब मध्ये भागमा अवस्थित वालिङ बजार हरेक हिसाबले सुगम मानिन्छ । यस्तो अनुकूलता यहाँ हँुदाहुदै पनि कैयौं बिषय र वस्तुस्थितिका कारण उच्च तहको शिक्षा दिन नसकिरहेको अवस्थामा स्थानीय राजनीतिक दल, सामाजिक अभियान्ता, शिक्षक, बुद्धिजीवी, व्यापारी–व्यवसायी, उद्योगी, सञ्चारकर्मी, स्थानीय अभिभावक तथा विद्यार्थीमाझ प्रतिनिधिमूलक भेलाले यस क्षेत्रमा उच्च तहमा अध्यान गर्न अनिवार्य जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई महशुस गर्दै २०३७ सालमा वालिङ वहुमुखी क्याम्पसको स्थापना गरेको देखिन्छ । हाल उक्त क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरिएको अवस्था छ । प्रस्तुत छ उक्त क्याम्पसका अध्यक्ष हुमकान्त कोइरालासँग आर्थिक संकटको घोषणा गर्नुपर्ने आवश्यकता र अबको निकासबारे पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंश ः
१. अध्यक्ष ज्यू आराम हुनुहुन्छ ? तपाई देशकै जेठो सामुदायीक क्याम्पस, वालिङ क्याम्पसको अध्यक्ष हुनुहुन्छ । तपाईकै कार्यकालमा यस क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरियो । अब अध्यक्षको रुपमा तपाईंलाई किन विश्वास गर्ने ? कसरी क्याम्पसको अर्थिक अवस्था कमजोर भयो त ? किन यो क्याम्पस सेतो हात्ती हुदैंछ ?
आराम छु । आर्थिक संकटकाल क्षणिक सोँच, आवेग र हतारमा गर्ने निर्णय होइन । तपाईको प्रश्नको मात्र उत्तर दिँदा म अध्यक्ष भएपछि समस्या पहिचान गरे र संकटकाल लगाउनु प¥यो । किन अध्यक्ष मान्ने भन्ने प्रश्नमा यो संकटको अन्त्य गराएर क्याम्पसलाई सबै प्रकारका समस्याबाट मुक्त गराउने उद्देश्य र योजना पनि मेरै नेतृत्वमा सम्पन्न गर्ने हुँदा यस समितिलाई पूर्ण विश्वास गर्न म सबैलाई आग्रह गर्दछु । अर्को महत्वपूर्ण पक्ष – किन संकटकाल लगाईयो भन्ने सन्दर्भमा म थोरै प्रष्ट पार्ने कोशिस गर्दछु । जब म अध्यक्षको कार्यभार सम्हाले २०७८ भाद्रमा हामीले चौथो बैठकमा आर्थिक विश्लेषण ग¥यौं । त्यतिबेला क्याम्पसको आर्थिक अवस्था ऋणको खाडलमा परिसकेको थियो । विभिन्न शिर्षकमा तिर्नुपर्ने रकम झण्डै ३ करोड रहेको थियो । क्याम्पस वार्षिक रु. ८४ लाख ऋणात्मक अवस्थामा थियो । यस अवस्थाको अन्त्यका लागि हामीले मिति २०७८÷०५÷१६ मा एक कार्यदल निर्माण गरी समस्या पहिचान गर्ने काम ग¥र्यौं साथै केहि खर्च कटौतीका निर्णयहरु पनि ग¥र्यौं । तर समग्र समस्याहरुलाई सामान्य प्रक्रियाबाट समितिको निर्णयले मात्रै समाधान गर्ने अवस्था नरहेको निष्कर्ष सञ्चालक समितिले गरेपछि यसको दीर्घकालीन समाधानका निम्ति समुदाय, क्याम्पस सम्बन्धित पक्षहरु र सरोकारवालाहरुको राय सल्लाहका आधारमा संकटमोचन वा अन्त्य गर्ने उद्देश्यले संकटकाल घोषणा गरिएको र यस संकटबाट क्याम्पसलाई मुक्ति गर्न कार्यदल निर्माण गरेका छौं । त्यसको प्रतिवेदनका आधारमा बढीमा ६ महिनाभित्र क्याम्पसलाई आर्थिक संकटमुक्त गराई यस क्षेत्रको उच्चशिक्षाको थप आकर्षणको रुपमा स्थापित गर्ने छौं । त्यसैले यसलाई शब्दमा संकटकाल भनिएपनि यो संकटमोचनकालको रुपमा बुझिदिन समेत आग्रह गर्दछु । क्याम्पसको आर्थिक अवस्था कमजोर हुनुमा प्राध्यापक तथा कर्मचारीको संख्या बढी हुनु, स्नातक र स्नातकोत्तरका कक्षाहरु कलेज तहको हुनुपर्नेमा स्नातकोत्तरको छुट्टै पिरियडको सेवा सुविधा भुक्तानी हुनु, क्याम्पसमा लामो समयदेखि सेवा गर्दै आउनु भएका प्राध्यापकहरु विधान अनुसार भन्दा सञ्चालक समितिको निर्णय अनुसारको सुविधा प्राप्त गर्दै आउनु, क्याम्पस र विश्वविद्यालय अनुदान आयोगसँग साझेदारी गरेका निर्माण तथा अन्य खरिदका रकम समय भित्र कागजात पेश गर्न नसकि उक्त रकम क्याम्पसको स्रोतबाट भुक्तानी हुनु, क्याम्पस सञ्चालनको दीर्घकालीन योजना नबनाउनु, बेला बेलामा विद्यार्थी शुल्क समायोजन नहुनु, स्थानीय सरकारले बोलेका आर्थिक सहयोग पुरा नगर्नु आदि कारण मान्नु पर्दछ । विगतका संचालकहरु क्याम्पसप्रति चिन्तित भएको, शैक्षिक गुणस्तरबारे बहस चलाएको पाइएनँ । क्याम्पस प्रशासनलाई नै चिन्ता नभएपछि सुधार कसले गर्ने त भन्ने हो । यिनै कारणहरुले गर्दा क्याम्पस संचालन गर्न सेतो हात्ती पाल्न झै हम्मे हम्मे भएको छ ।
२. वालिङ क्याम्पसमा आर्थिक मात्र नभएर शैक्षिक प्रणालीमा पनि केही समस्याहरु छन् भन्ने बेला बेलामा चर्चा हुन्छ, यसलाई कसरी समाधान गर्नुहुन्छ ?
वालिङ क्याम्पसमा आर्थिक मात्र नभएर शैक्षिक प्रणालीमा पनि समस्या छ भन्ने सन्दर्भमा हामी क्याम्पसलाई गुणस्तरीय शिक्षाको प्रतिबद्धतामा दृढ छौं । देश भरीका १४३६ (विश्वविद्यालय अनुदान आयोगले पहिचान गरेको) उच्चशिक्षा मध्ये हामी ५३ औं स्थानमा सुचिकृत भएको र क्यूएए प्रमाणित (गुणस्तर प्रत्यायनकृत) भएको हामी सबैलाई विदित नै छ । तर पनि यहाँको गुणस्तरलाई स्थानीय होइन अन्तर्राष्ट्रियकरण गर्ने अभियान हाम्रो हो । यसलाई हामीले आर्थिक संकटकालको अन्त्य सँगै संस्थागत गर्दै लैजान्छौं । क्याम्पसमा आकर्षक भवन, कम्पाउण्ड र गेटहरु बनिसकेका छन् । अब हामी पूर्वाधारमा होइन गुणस्तरमा केन्द्रित हुदैछौं ।
३. शैक्षिक संस्थाहरुबाट व्यवहारिक ज्ञान भन्दा पनि धेरै सैद्धान्तिक ज्ञानमात्र दिईन्छ, तपाईको क्याम्पसमा पनि यस्तो भईरहेकै होला ? यसको समाधान के हुन सक्छ ?
हामीले सैद्धान्तिक मात्र होइन, उच्च शिक्षालाई व्यवहारिक बनाउने क्याम्पसको प्रमुख उद्देश्य नै हो । वालिङ क्याम्पसका विद्यार्थीहरु क्याम्पस छोड्दा प्रमाणपत्र लिने मात्र होइन क्षमतावान पनि बनाउनु पर्दछ । जसलाई हामीले गुणस्तर सहितको प्रमाण पत्र भन्न सक्छौं । त्यसलाई प्राप्त गर्न स्नातकतहमा कम्प्युटर कक्षाहरु, क्षमता विकास, नेतृत्व विकास तालिमहरु सञ्चालन गर्ने, रोजगार व्यवस्थापन उपसमितिलाई क्रियाशिल बनाई विद्यार्थीहरुको लागि विभिन्न संघसंस्थामा रोजगारको व्यवस्था गरिदिने र रोजगारमूलक तालिमहरु नियमित कोर्षसँगै विशेष पाठ्यक्रम बनाएर लागु गर्ने कार्यविधिहरु हामीले निर्माण गरी यसलाई लागु गर्दैछौं । हाम्रो क्याम्पसको यस्तो राम्रो भवन छ, पुस्तकालय छ, हामी राम्रो शिक्षा दिइरहेका छौं । सुविधाको हिसाबले ठूला भवन, पुस्तकालय, कम्प्युटर ल्याब हुनु राम्रो हो, तर सिकाइ वा ज्ञानको दृष्टिले विद्यार्थीले कति सिकेका छन् भन्ने कुरा बढी महत्वपूर्ण हो ।
४. क्याम्पसमा राजनीतिको मुद्दा कहिँ न कहिँ लुकेको छ, वालिङ क्याम्पसको संचालक समितिमा सहस्यहरुको विश्वास प्राप्त गरेर तपाईंले नेतृत्व गर्ने जिम्मेवारी पाउनुभयो । अहिलेका क्याम्पसका चुनौती र अवसरहरुलाई कसरी उपयोग गर्नुहुन्छ ? कि यो जिम्मेवारी सम्हाल्दा टाउको दुखाई मात्र भएको छ ?
हाम्रो सामाजिक संरचना दलीय पद्धतिको हो । एक आपसको सहमति सहकार्यले संस्था सञ्चालन भइरहेका पद्धतिहरुले हामी चलेका छौं । त्यसैले हामी दलको प्रभावमुक्त छौं भन्न सक्दिन तर संस्थामा सञ्चालक समिति निर्माणका क्रममा र सञ्चालनका क्रममा हामी सहमति अनुसार संस्थाको मात्र हितलाई प्रमुख केन्द्रमा राखेर अगाडि बढीरहेका छौं । निर्वाचित जनप्रतिनिधिहरु तथा राजनैतिक दलका नेतृत्वहरुसँग सल्लाह गरिरहेका छौं । यस घडीमा वहाँहरुसँग अन्तरक्रिया समेत आयोजना गर्ने छौं । यो संस्था हाम्रो यस क्षेत्रको गौरवसँग जोडिएको हुँदा सकारात्मक सल्लाह, सुझावका निम्ति समेत म अपिल गर्न चाहन्छु । टाउको दुखाई त मान्नु भएन । संस्था सञ्चालनको जिम्मा लिएपछि यसलाई प्रक्रिया कै रुपमा लिएको छु र संकट हटाउने संकल्प पनि बोकेको छु । विगतदेखि नै हामी दुरदर्शी नहुदा जे चिजमा लगानी गर्नुपर्ने हो त्यसमा पैसा पुगिरहेको छैन । थोरै लगानी गर्दा पनि हुने चिजमा अत्यधिक लगानी भइरहेको छ ।
५. क्याम्पसमा बढी राजनीति भयो भन्ने सुनिन्छ ? राजनीतिप्रतिको तपाईको प्रष्ट दृष्टिकोण के छ ?
क्याम्पसमा क्याम्पस निर्माण गर्ने, व्यवस्थित गर्ने, संकट समाधान गर्ने राजनीतिका लागि म सबैलाई अपिल गर्न चाहन्छु । क्याम्पस विगार्ने राजनीति कसैले नगरौं, यो मेरो विनम्र अनुरोध पनि छ । सामुदायिक क्याम्पसहरुको शिक्षा एक प्रकारको गन्जागोलमा रुमल्लिरहेको छ । त्यसैले, सबभन्दा पहिला त गुणस्तरीय शिक्षाको आधारभूत अवधारणा नै स्पष्ट पार्नुपर्ने देखें मैले ।
६. क्याम्पसभित्र छात्रवृत्ति वितरण लगायत अरु केही विषयहरुमा संचालक समितिका पदाधिकारीहरुले हस्तक्षेप गर्छन भन्ने सुनिन्छ । यो विषयमा तपाईंको भनाई के छ ?
यो विषयमा क्याम्पसको प्रशासनिक पक्ष मुख्य जिम्मेवारी हो । हामीले क्याम्पस सञ्चालनमा १३ वटा उपसमिति र ५ वटा इकाइ बनाएका छौं र ति उपसमितिहरुलाई गाईड वा अनुगमन गर्न सञ्चालक सदस्यहरुको कार्य विभाजन गरेका छौं । छात्रवृत्ति उपसमितिमा त्यसको उपसमिति प्रमुखलाई बैठकमा बोलाउन सक्ने प्रावधान छ साथै स्व.वि.यु. अध्यक्ष वा प्रतिनिधिलाई पनि क्रियाशील गराइएको छ । निर्णयमा समितिको कुनै हस्तक्षेप वा प्रभाव रहेको छैन र हामीले रहन पनि दिदैनौं । तर छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने विशिष्ट महानुभावहरुको उपस्थितिलाई हामीले ध्यान दिने योजनामा छौं । गुणस्तरीय शिक्षाप्रतिको हाम्रो बुझाइ नै गलत छ । भर्ना र पास हुनेको संख्याको आधारमा शिक्षाको गुणस्तर मापन हुँदै आएको छ । क्याम्पसले छात्रावृत्ति दिने लगायतको कुरा यही आधारमा गर्दै आइरहेको छ ।
७. तपाईं अध्यक्ष भएको संचालक समितिको अहिलेको टिमले गरेका महत्वपूर्ण काम के के हुन ? हाल क्याम्पसमा कार्यरत करार सेवामा रहेका तर अन्यत्र स्थायी सेवा गरिरहेका प्राध्यापक तथा कर्मचारीहरुको विषयमा के सोच्नुभएको छ । यो विषय पनि अलि बढी विवादित देखिन्छ नि ?
हिजो पढेर रोजगार हुन्थे, आज पढेर बेरोजगार भइरहेका छन् । अर्थात्, हाम्रो शिक्षाले गरिखाने बनाउँदैन कि भनेर अब हामी व्यावहारीक शिक्षालाई बढावा दिने अभियानमा छौं । क्याम्पसमा हामी आइसकेपछि हामीले प्राविधिक शिक्षा सञ्चालनको योजना अनुसार बिआइसिटीइ कार्यक्रमको स्वीकृति ल्याई कक्षा सञ्चालन गरेका छौं । बिबिए कार्यक्रमको अनुमति प्रक्रियामा गएका छौं । २०७२ सालदेखि यूजिसी तथा महालेखामा रहेको २ करोडको बेरुजुलाई फर्छयौट गराई नियमित गरेका छौं । सबै परीक्षा प्रणालीमा सुधार ल्याउन अधिकांश कक्षाकोठाहरुमा सिसिटिभी जडान, आर्थिक समस्या पहिचानको लागि कार्यदल निर्माण गरी समस्या समाधानतर्फ उन्मुख, क्याम्पसको भौतिक निर्माणका कार्यहरु सम्पन्न गर्ने जस्ता कार्य गरेका छौं । करार प्राध्यापकहरुका हकमा हामीले हाम्रो क्याम्पसको विधानलाई कार्यान्वयन गर्ने प्रयास मात्र गरेका हौं । क्याम्पसलाई हालसम्म शिक्षण गरी सहयोग पु¥याउने सरकारी विद्यालयका स्थायी÷अस्थायी शिक्षकलाई विधानमा आंशिक वा करार रहने व्यवस्था भएकोले करार र आंशिक शब्दमध्ये के राख्ने भन्ने सन्दर्भमा क्याम्पसको विधान २०५३ ले व्यवस्था गरे अनुसार नै गर्ने छौं ।
८. तपाईंले क्याम्पसमा दुई किसिमका संघर्ष गरिरहनुपरेको छ, एउटा शैक्षिक सुधार अर्काे अर्थिक बेथितीको अन्त्य । आर्थिक वेथितीको अन्त्य गर्न तपाईले २०७८ भदौमा खर्च कटौतीका लागि क्याम्पसको हितमा केही महत्वपूर्ण निर्णयहरु गरेको देखिन्छ तर यो निर्णयप्रति तपाईकै प्राध्यापक तथा कर्मचारी भने आक्रोशित भए किन होला ?
हामीले गरेका निर्णयहरु वहाँहरुसँग पटक पटक बसेर, कार्यदल बनाएर निर्णय गरेका छौं । तर बैठकको अन्त्यमा वहाँहरुले असहमति प्रकट गरेपछि हामी पनि अचम्मित छौं । हामी त उदार प्रजातान्त्रिक अभ्यास गर्दै वहाँहरुलाई मानार्थ उप–प्राध्यापक पद दिने सम्मको प्रस्ताव गरेका थियौं । समिति विधान कार्यान्वयन गर्न र विश्वविद्यालय अनुदान आयोगलाई रिपोर्टिङ गर्नका लागि पनि बाध्य छ । यो समस्या आदरणीय प्राध्यापक साथीहरुले बुझिदिनुपर्दछ । हामीले गरेका निर्णय विधानविपरित, क्याम्पसको हितविपरित छन् भने सबैको निष्कर्ष निस्कदा हामी सच्याउन पनि तयार नै छौं । तर क्याम्पसको दीर्घकालीन स्थायीत्वका लागि गरिएका कार्यलाई अवरोध गर्ने नियत भने हामी स्वीकर गर्न कदापि सक्दैनौं ।
९. हाल यस क्याम्पसमा उच्च शिक्षा पढ्ने विद्यार्थीको अवस्था के छ ? कक्षा १२ सम्म माध्यमिक तह मान्ने भनेको छ । तर वालिङ क्याम्पसमा त लागु भएको पाइँदैन नि ?
कक्षा १२ सम्मको कक्षा सञ्चालन हाम्रो बाध्यात्मक अवस्था हो । प्रविणता प्रमाणपत्र तहको अन्त्य गरी कक्षा ११ र १२ सञ्चालित छ । समुदायले एक गुणस्तरीय मा.वि. सामुदायिक संस्था चाहिन्छ भनेर पनि आवाज उठाइरहेको छ । त्यसैले यसलाई साथीहरुले त्यही रुपमा अगाडि बढाउन छलफल पनि चलाइरहनु भएको छ र नगरपालिकासँग अनुरोध पनि गर्नुभएको छ ।
१०. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
वालिङ क्याम्पसको यस अवधिमा क्याम्पसँग जोडिएका विषयमा हाम्रो धारणा सार्वजनिक गर्ने अवसरका निम्ति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । हामीले क्याम्पसलाई आर्थिक संकटबाट मुक्त गराउने अभियानमा नै छौं । यस ६ महिनाको छोटो अवधिलाई सबैले क्याम्पस निर्माणको अर्को चरणका रुपमा हेरिदिनुहुन साथै क्याम्पसका विषयहरुमा सकारात्मक ढंगले सत्य तथ्य र आर्थिक सुचकांक सहितको आधारमा बुझिदिनुहुन तथा सोहीअनुसार सहयोग गरिदिनुहुन अनुरोध गर्दछु । साथै क्याम्पसलाई स्थापना गर्दै हालसम्म सहयोग पु¥याउनुहुने सम्पूर्ण वालिङ बहुमुखी क्याम्पसका साधारण सभासद्, जनप्रतिनिधि, व्यापारी, बुद्धिजिवी, समाजसेवी, शुभचिन्तक, पूर्व सञ्चालक, पूर्वविद्यार्थी एवम् मिडियाकर्मी, पत्रकार आदि सबैलाई आर्थिक संकटकाल क्याम्पस निर्माण, पूनर्संरचना र दीर्घकालीन समस्या समाधान गर्ने माध्यमको रुपमा यसलाई प्रयोग गर्न खोजिएको हुँदा यहाँहरु सबैको सहयोगमा छिट्टै सुखद सन्देश सहित हामी उपस्थित हुने विषय अनुरोध गर्न चाहन्छु । धन्यवाद ।


प्रतिक्रिया