स्याङ्जामा लम्की स्किनबाट आधा करोड क्षति

प्रकाश डोटेल,
स्याङ्जा ।

पशुजन्य रोग लम्की स्किनबाट पशुचौपायाको मृत्यु हुँदा स्याङ्जामा आधा करोड बराबरको क्षति भएको छ । पछिल्लो समय पशुमा महामारीको रुपमा फैलिएको लम्बी स्किनबाट एक सय २१ पशुचौपायाको मृत्यु हुँदा जिल्लामा ४७ लाख २० हजार क्षति भएको हो ।

जिल्लाका ११ स्थानीय पालिकामा फैलिएको रोगबाट २ हजार ३ सय १७ पशु संक्रमित हुँदा एक सय २१ पशुको मृत्यु भएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मृत्यु हुनेमा ११ बाच्छाबाच्छी, ३८ गाई, सात भैसी र ६५ गोरु रहेका छन् ।

११ बाच्छाबाच्छीको मृत्यु हुँदा एक लाख १० हजार क्षति भएको छ । ३८ वटा गाईको मृत्यु हुँदा १९ लाख, सात भैसीको मृत्युबाट चार लाख २० हजार र ६५ गोरुको मृत्यु हुँदा १३ लाख बराबरको क्षति भएको हो । लम्की स्किन रोगबाट जिल्लामा झण्डै पाँच हजार पशुपालक कृषकहरु प्रभाबित भएको केन्द्रले जनाएको छ ।

लम्बी स्किन रोग सरुवा रोग नभएपनि घरपालुवा पशुको हेरचाह र उपचारमा ढिलाई गर्दा ठूलो रकम बरारबको क्षति भएको हो विज्ञ केन्द्रका निमित्त प्रमुख गोपाल गिरिले भने, ‘पशुचौपायाको हेरचाह र समयमै उपचार गरेको भए सबा दुई सय पशुचौपायाको मृत्यु हुने थिइन् ।’ मृत्यु भएका पशुचौपाया र उपचार खर्चमा गरी जिल्लामा झण्डै एक करोड भन्दा बढिको क्षति भएको प्रमुख गिरिले जानकारी दिए ।

रोग नियन्त्रण गर्न विज्ञ केन्द्रले स्थानीय पालिकालाई पाँच हजार छ सय डोज खोप उपलब्ध गराएको छ । जिल्लाका ११ मध्ये ५ पालिकाले मात्रै ४ हजार २ सय ५० डोज खोप खरिद गरेका छन् । अन्य पालिकाले खोप खरिद गर्न नसक्दा संघीय सरकारले दिएको अनुदान रकम समेत फ्रिज भएको छ ।

संघीय सरकारको अनुदान र आन्तरिक आयको रकमबाट वालिङले दुई हजार, भीरकोटले आठ सय र चापाकोट नगरपालिकाले चार सय तथा आँधीखोलाले छ सय र अर्जुनचौपारी गाउँपालिकाले चार सय ५० डोज खरिद गरेका छन् । संघीय सरकारले प्रत्येक पालिकालाई खोप खरिदका उपलब्ध गराएको १ लाखका दरमा छ लाख फ्रिज भएको छ ।

लामखुट्टे, किर्ना र भुसुनाको टोकाईबाट स्वस्थ पशुमा सर्ने यो रोग लागेमा पशुचौपायालाई कडाखालको ज्वरो आउने, खानामा अरुची हुने र झोक्राउने लक्ष्यण देखिन्छ । लक्ष्यण देखिएको २÷३ दिनमा पशुको शरिरभरी छालामा गिर्खा र गाँठाहरु देखिन्छ । पछिल्लो समय रोगको संक्रमण दर घटेको र खोप लगाएकाले रोग नियन्त्रणमा रहेको विज्ञ केन्द्रले जनाएको छ ।

प्रतिक्रिया