‘साधनस्रोतको अभावमा पनि प्रहरी आफ्नो दायित्वबाट पछि हट्दैन’

संजय बहादुर राउत,
प्रहरी उपरिक्षक,
जिल्ला प्रहरी कार्यालय, स्याङ्जा ।
विधिको शासन र कानुन पालना गराउन प्रहरीको मुख्य भूमिका रहन्छ । अहिले नेपाल प्रहरीले नागरिक र स्थानीय समुदायसँग साझेदारी गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको पनि छ । पछिल्लो समय स्याङ्जा प्रहरी नागरिकको अवस्था बुझ्न गाउँ गाउँ पुग्न थालेको छ । गस्ती र चेकजाँचको क्रममा लुकाईछिपाई राखेको ठूलो परिमाणको लागुऔषधसहित ओसार पसार गर्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । स्याङ्जामा प्रहरीको बढ्दो सक्रियता, नागरिकप्रति प्रहरीको जिम्मेवारी, जिल्लामा शान्ति सुरक्षाको स्थिति लगायतका विषयमा पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक संजय बहादुर राउतसँग गरेको कुराकानीः

१. एसपी साव आराम हुनुहुन्छ ? स्याङ्जामा प्रहरीको जिल्लास्तरीय नेतृत्व गरिहँदा कस्तो अनुभव भइरहेको छ ?

धन्यवाद, नमस्कार । म आरामै छु । सुरुमा स्याङ्जा आउँदै गर्दा कर्मचारीहरुमा उच्च ओहोदामा पुगेका व्याक्तिहरु भएको जिल्ला भएकाले काम गर्न असहज हुन्छ कि भन्ने लागेको थियो । तर यहाँ आएर काम गर्न थालेपछि धेरै नै सहज महशुस भैरहेको छ । समग्रमा भन्नुपर्दा शैक्षिक जिल्ला स्याङ्जामा प्रहरीको जिल्लास्तरीय नेतृत्व गरिरहँदा कुनै तितो अनुभब अहिलेसम्म छैन्, सबै राम्रो भएको छ ।

२. तपाई स्याङ्जामा प्रहरी प्रमुखको रुपमा आइसकेपछी हालसम्मको सुरक्षा अवस्था कस्तो पाउनुभएको छ ?

म गत बर्षको माघमा मात्र यस जिल्लामा प्रहरी प्रमुखको रुपमा सरुवा भएर आएको हुँ । त्यतिबेला सबै तहको निर्वाचन सम्पन्न भैसकेका थिए । म आइसकेपछिको यो अवधिमा कुनै जटिल खालको ठूलो समस्या आइपरेको छैन् । हामीले समस्याको बारेमा हेर्नुपर्ने हुन्छ । म आएको १० महिना भयो । सिद्धार्थ राजमार्गलाई लागुपदार्थ ओसारपसारको ट्रान्जिट प्वाइन्ट भनेर चिनिन्छ र जिल्लाको एकाध ठाउँमा गाँजा खेती गरेको पनि पाईएको छ । त्यसलाई न्युनीकरण गर्न स्थानीय सरकारले पनि जनचेतनामुलक कार्यक्रम गर्नु जरुरी छ । त्यस्तै भारत तर्फबाट आउने लागुपदार्थको समाधान गर्न कानुनको दायरामा ल्याउन राम्रो सुरक्षाजाँच गर्नुपर्छ । स्याङ्जाकै हकमा भन्नुपर्दा महिला हिंसा तथा बालहिंसा पनि आंशिक रुपमा हुने गरेको पाईन्छ । त्यसका लागि हामी सबै ती हिंसा विरुद्धमा कठोरताका साथ लाग्नुपर्ने देखिन्छ । तेस्रो समस्याका रुपमा मैले सडक दुर्घटना पनि देखेको छु । विभिन्न किसिमका दुर्घटना दिन प्रतिदिन हुने भएकोले त्यसको समाधान गर्न हामी ट्राफिक प्रहरीसँग सहकार्य गरी मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा सवारी नियमलाई तोड्नेहरुको लागि पनि कारवाहिको दायरामा ल्याउँने गरेका छौं ।

३. अपराध नियन्त्रण, लागूऔषध नियन्त्रणमा प्रहरी सक्रिय देखिन्छ । अबको योजना के छ ? प्रदेश र स्थानीय सरकारसँग कसरी सहकार्य गरेर अगाडि बढ्नुहुन्छ ?

लागुऔषध पनि एउटा ठूलो समस्याको रुपमा रहेको छ । सिद्धार्थ राजमार्गसँग जोडिएको भारतसँगको खुल्ला सिमाना भएकाले धेरैले लागुपदार्थ ओसारपसारको लागि यो बाटोलाई प्रयोग गरेको अवस्था छ । यसको न्यूनिकरणका लागि हामीले स्थानीय तहहरुसँग पनि सहकार्य गरिरहेका छौं । हामीले सबै स्थानीय तहसँग सहकार्य गरिसकेका छौं । वडा वडामा पुगिसकेका छौं । समाजमा हुने विभिन्न घटनाहरुको समाधानका लागि हामी एकसाथ अगाडि बढ्ने सन्दर्भमा यो लागूपदार्थको समस्या सबभन्दा ठुलो समस्या भएको छ । यसलाई हटाउन स्थानीय तहकै ठूलो भूमिका अझ बढी प्रभावकारी होस् भन्ने किसिमले जनचेतनामुलक काम पनि गर्छौं र त्यसलाई भन्दा भन्दै पनि नमान्नेहरुलाई हामी कारवाहिको दायरामा ल्याउँछौं । तपाईले भनेजस्तै हामी बाटोमा मात्र होईन घरमै पुगेर पनि सुरक्षाजाँच गछौँ र कारवाहिको दायरामा ल्याउँछौँ । साँच्चै भन्नुपर्दा यस्ता विषयमा समाजको मूल भूमिका हुन्छ र समाज र हामी एकजुट भै अगाडि बढेमात्र यसको बिस्तारै न्युनीकरण हुन्छ ।

४. तपाईँहरुले गरिरहनुभएको यस्तो काममा स्थानीय सरकारको सहयोग कतिको पाउनुभएको छ ?

सहयोग छ । हाम्रा धेरै ठाउँका सचेतनामूलक कार्यक्रमहरुमा स्थानीय तहकै सहयोग रहेको छ । सहयोग त छ, तर अझै प्रभावकारी हुन जरुरी छ । यो संघीयताले धेरै अधिकार स्थानीय तहलाई दिएको छ, जस्तै साधन, स्रोत, बजेट यसका परिचालन राम्रो किसिमले गर्ने हो भने पक्कै पनि यो न्युनीकरण हुँदै जान्छ ।

५. लागुऔषधका समस्या न्युनीकरण गर्न स्थानीय तथा प्रदेश सरकारले के गर्नु पर्छ ?

स्थानीय तहले अझै धेरै सचेतनामूलक कार्यक्रमहरु संचालन गर्नुप¥यो । स्थानीय समाजलाई धेरै कुरा थाहा हुन्छ । उहाँहरुले त्यस्ता गतिविधिको सूचना दिनुपर्छ, काम हामी गर्छौ । यसमा धेरैजसो स्थानीय तहहरुले त हामीलाई एकदम कडाईकासाथ लाग्नु स्रोत र साधनको जे जति आवश्यकता छ त्यो हामी दिन्छौं भन्ने आश्वासन दिनुभएको छ । त्यस्तै हाम्रो जिल्ला समन्वय समिति र स्थानीय सरकारसँग हाम्रो सहकार्य भईरहेको अवस्था छ । यसमा हामीले विभिन्न कार्यक्रमहरु गरिरहेका छौं र कतै कतै प्रभावकारिता कम भएको जस्तो छ । यसलाई सुधार्न जरुरी छ ।

६. जिल्लामा प्रहरी जनशक्ति र साधन–स्रोतको उपलब्धता कस्तो छ ?

अहिलेसम्म त्यती नराम्रो भन्न त मिल्दैन् । हामीसँग भएको स्रोतसाधन अपुग हुँदा स्थानीय तहहरुको सहयोग पनि पाईएको छ । कुनै कुनै ठाउँमा जनशक्तिको अभाव छ । जनशक्तिको अभाव साधन स्रोतको अभाव हुँदाहुँदै पनि हामी आफ्नो दायित्वबाट पछि हट्न मिल्दैन । पहाडी जिल्ला भएको हुनाले यहाँको सुरक्षा अति संवेदनशील भएर गर्नुपर्छ र योजनाबद्ध ढंगले हेर्नुपर्छ । त्यसैले हामी साधन स्रोत कम भए पनि, जनशक्ति कम भएपनि सुरक्षामा कुनै सम्झौता गर्न सक्दैनौं । एकदमै सुदृढ सुरक्षा व्यवस्थाका साथ हामी अघि बढ्नेछौं ।

७. नागरिक–प्रहरी सम्बन्धलाई अझ नजिक बनाउनका लागि के गर्नुपर्ला ?

नेपाल प्रहरी, देशमा शान्ति सुरक्षा अमनचयन कायम गर्न अहोरात्र खट्दै जनताको जनधनको क्षति हुनबाट जोगाउन सक्रिय रहँदै आएको कानुन कार्यान्वयन गर्ने निकाय भएको त स्पष्टै छ । नागरिक प्रहरी सम्वन्धलाई नजिक बनाउन एकले अर्कामाथी विश्वास गर्नुपर्छ । प्रहरी बर्दीसहितको नागरिक हो र नागरिक बर्दिबिनाका प्रहरी हुन भन्ने कुरा बिर्सनु हुदैन् ।

८. प्रहरी जनशक्तिको मनोबल अहिले कस्तो छ ? कहिलेकाहीँ प्रहरीभित्र पनि चरम हस्तक्षेप हुन्छ भन्ने कुरा सार्वजनिक हुन्छ । जिल्लास्तरीय नेतृत्व तहमा रहेर काम गरिरहँदा तपाईंले कत्तिको दबाब महसुस गर्नुभयो ?

नेपाल प्रहरी प्राकृतिक विपत्ति र जोखिमका बेला सहयोगी र समन्वयकारी भूमिका निर्वाह गर्दै जनताको मन मष्तिस्कमा बस्दै आएको पनि विदितै छ । अहिले प्रहरी जनशक्तिको मनोबल उच्च छ । कार्यसम्पादनको क्रममा अहिलेसम्म खासै त्यस्तो दबाब महशुस गर्नुपरेको छैन् । केही राजनिती गर्ने व्याक्तिहरुको सुझाव, सल्लाह आउनु स्वभाविक हो तर दबाब छैन् । दबाब आएपनि हामीले कानुन विपरीत काम गर्दैनौं ।

९. तपाईं आफैंलाई चाहिँ आफू कत्तिको विनम्र र शालिन प्रहरी अधिकृत हुँ भन्ने लाग्छ ?

मेरो मूल्याङ्कन म आफैले गर्नु त्यती उपयुक्त नहोला । तथापि म शालिन र बिनम्र नै छु जस्तो लाग्छ । मैले आफुलाई प्रहरीको हाकिम नभै नागरिक सम्झिने गरेको छु । आम नागरिकहरु समस्यामा परेर आँउदा मैले नागरिकका गुनासा सुन्ने गरेको छु । कानुन कार्यान्वयन गर्ने निकायका रुपमा आफूलाई नागरिकमाझ स्थापित गर्न पनि सफल भएको छु जस्तो लाग्छ ।

१०. अहिले गाउँगाउँमा प्रहरी पुगेर नागरिकको अवस्था बुझ्ने काम भैरहेको छ, प्रहरीबाट नागरिकले के अपेक्षा गरेका रहेछन् ? त्यहाँ पुग्दा के पाउनुभयो ?

प्रहरीबाट नागरिकले अपेक्षा गरेको शान्ति, सुरक्षा र असल व्यबहार नै हो । हामी हरेक गाउँ ठाउँमा पुग्दा जहाँ पनि राम्रो रेस्पोन्स आएको छ । जनता यो अभियानबाट खुशी हुनुहुन्छ । प्रहरीसँग यति धेरै सफलताका विषय छन् जसको लेखाजोखा गरेर साध्यै छैन ।

११. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

सर्बप्रथम त यो अवसरका लागि जिल्लाको लोकप्रिय पत्रिका पब्लिक आवाजलाई धन्यवाद दिन चाहन्छु । नेपाल प्रहरीमा कार्य गर्नका लागि आकर्षित युवाहरुको संख्या वर्सेनि वृद्धि हुँदै जाने ठूलो भिडबाट पनि प्रहरीप्रतिको साख बढ्दै गएको प्रष्टिन्छ । विभिन्न बिषयमा हुने आपराधिक कृयाकलापमा संलग्न मान्छेहरु तपाईको छेउछाउमा छन् भने हामीलाई खबर दिनुहोस् । प्रहरीलाई विश्वास गर्नुहोस् । तपाईको समस्यामा प्रहरीको ध्यान जानेछ भन्न चाहन्छु ।

प्रतिक्रिया