शिक्षा र स्वास्थ्यमा समृद्धि खोज्दै चापाकोट

चापाकोट ।
स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथामिकता दिनेगरी काम गरेको जनाएको छ । प्राविधिक शिक्षा आजको आवस्यकता रहेको मान्यतालाई अङ्गिकार गर्दै नगरपालिकाले आगामी आर्थिक वर्ष चापाकोटमा कृषि क्याम्पस सञ्चालनमा ल्याउनेगरी कार्यक्रम अगाडि बढाइएको नगरप्रमुख देवबहादुर खाँण (इश्वर) ले जानकारी दिए ।

एक पालिका एक प्राविधिक शिक्षालय अन्तर्गत किसान बहुप्राविधिक शिक्षालय सञ्चालनमा रहेको छ भने यो वर्ष कृषि क्याम्पस सञ्चालनमा ल्याउनेगरी कार्यक्रम अगाडि बढेको नगरप्रमुख खाँणले बताए । कृषि क्याम्पसका लागि १ सय १७ रोपनी जग्गाको व्यवस्थापन गरिसकिएको छ र कृषि क्याम्पसका नाममा जग्गा पास भैसकेको नगर प्रमुख खाँणले बताए । यसकासाथै क्याम्पस सञ्चालनका लागि अरु धेरै कामहरु अगाडी बढिसकेको बताए ।

समथर भू—भाग, आवस्यक जग्गा व्यवस्थापनको सुविधा भएको र चापाकोट झण्डै देशकै मध्ये भागमा पर्दछ । यो सँगै कालीगण्डकी करिडोरको नजिकै रहेको र चारैतिरबाट यहाँ आउन र जानका लागि यातायातको सुविधा सम्पन्न छ । स्याङ्जासँगै छिमेकी जिल्ला पाल्पा, तनहुँ, कास्की, नवलपरासी, पर्वत, गुल्मी लगायतको पायक पर्ने क्षेत्र चापाकोट हो ।

एक पालिका १५ शैयाको अस्पताल राज्यको नीति छ । धेरै पहिला बन्नुपर्ने थियो तर जग्गाको व्यवस्थापन हुन नसक्दा अस्पताल बन्न सकेको थिएन । यसका लागि लगभग ३५ रोपनी जग्गाको व्यवस्था गरिएको नगर प्रमुख खाँणले बताए ।

हस्पिटल सञ्चालनका लागि आवस्यक प्रकृया अगाडि बढिसकेकाले आगामी आर्थिक वर्ष यो हस्पिटल सञ्चालनमा ल्याइनेगरी काम भइरहेको खाँणको भनाई छ । पूर्वाधार विकाससँगै विद्यार्थीहरुको स्वास्थ्यका लागि पनि नगरपालिकाले विशेष जोड दिएको छ । यसका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम लागु गर्ने तयारीमा जुटेको समेत उनले बताए ।

स्वास्थ्य र शिक्षामा जोड दिएको चापाकोट नगरपालिकाले कृषिलाई पनि जोड दिदै आएको छ । यहाँको मुख्य आयआर्जनको माध्यम कृषि भएकाले शिक्षा, स्वास्थय सगै कृषिलाई प्रथामिकतामा राखेर अगाडी बढ्न लागेको नगर प्रमुख खाँणले बताए ।

प्रतिक्रिया