पुतलीबजारका मेयर—उपमेयर पहिरो पिडितको घरहरुमा स्थलगत अवलोकन

स्याङ्जा ।
शुक्रवार र शनिवार आएको अविरल बर्षाका कारण पुतलीबजार नगरपालिकामा जनधनको क्षती भएको छ । मनसुनजन्य विपदमा परेका नागरिकको घरदैलोमा नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी पौडेल, वडा अध्यक्ष जुद्धबहादुर थापा लगायत नगरपालिकाको विपद शाखाका कर्मचारी सहित अहिले बाढी पहिरो पिडितको घरदैलोमा पुगेका हुन् । बाढी पहिरोबाट नागरिकको क्षतीको स्थलगत अवलोकन सहित थप क्षती हुनबाट जोगाउन जोखिम भएका घरहरुका लागि त्रिपाल समेत प्रदान गरेका छन् ।

पुतलीबजार १३ मा पुगेर स्थलगत अवलोकन गरेका नगर प्रमुख रेग्मी, उपप्रमुख अर्याल र प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीले १९ जना पिडित परिवारलाई त्रिपाल प्रदान गरिएको नगरपालिकाले जनाएको छ । १ घर परिवारलाई नगद २ हजार समेत प्रदान गरिएको नगरपालिकाले जनाएको छ । पुतलीबजारका सबै वडाहरुमा बाढी पहिरोले क्षती पुराएको खबरहरु पाएको र सबै वडाहरु अवलोकन गरी पिडितहरुलाई नगरपालिकाले सक्दो सहयोग गर्ने नगर प्रमुख रेग्मीले जानकारी दिए । प्रकृति विपदको सबैले सचेत भएर सामाना गर्नुबाहेक अन्य विकल्प हामी सगँ नभएको भन्दै बाढी पहिरोबाट पिडित भएका परिवारलाई नगरपालिकाले बिशेष प्याकेज ल्याएर सहयोग गर्ने प्रतिवद्धता नगर प्रमुख रेग्मीले गरे ।

 

मनसुन अझै सक्रिय हुने सम्भावना रहेकोले सबै नगरवासी सचेत रहन उपप्रमुख अर्यालले सुझाव दिएकी छन् । नागरिकको सुखदुखमा स्थानीय सरकार रहेको भन्दै उपप्रमुख अर्यालले बाढी पहिरोबाट जोखिम भएका परिवारलाई सुरक्षित ठाउँमा राख्न नगरपालिकाले सहयोग गर्ने बताइन् । तत्काल पिडितलाई बचाउने र जोगाउने काममा नगरपालिका लागेको र सबै वडाहरुको क्षतीको विवरण आएपछि नगरपालिकाले सक्ने काम नगरपालिकाबाटै र नगरपालिकाले नसक्ने काम भएमा प्रदेश र संघिय सरकार सगँ पहल गरि राहत उपलब्ध गराउने अर्यालको भनाई छ । बाढी पहिरोको विवरण संकलन गर्न नगरपालिकाले विपद हेल्प डेक्स संचालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।

प्रतिक्रिया