स्याङ्जा प्रशासनमा स्वास्थ्य सहायता कक्ष स्थापना

अमृत अर्याल,
स्याङ्जा ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जामा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउन आउने जेष्ठ नागरिक लगायत अन्य सेवाग्राहीलाई लक्षित गरेर स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताईन । ‘जेष्ठ नागरिकलाई मुख्य लक्षित गरि कक्ष सुरुवात गरिएपनि सबै सेवाग्राहीलाई राहत पुगोस् भन्ने उद्देश्य राखिएको हो,’ नेपालले भनिन्, ‘सम्पूर्ण उपचार तथा औषधि समेत निःशुल्क वितरण गरिने छ ।’

जिल्ला प्रशासन कार्यालयको समन्वय साथै पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको व्यवस्थापनमा स्वास्थ्य सहायता कक्ष सुरुवात गरिएको हो । स्वास्थ्य सहायता कक्षमा एक जना स्वास्थ्यकर्मी रहने जनाइएको छ । कक्षबाट टाउको, पेट, सुगर, प्रेसर र जटिल अवस्था भए÷नभएको लगायत परीक्षण समेत गरिने छ ।

बिशेषगरी पछिल्लो समय परिचयपत्र बनाउनका लागि भन्दै जेष्ठ नागरिकको धेरै भीड बढेपछि प्रशासनले सो सुबिधा सहितको सेवा थप गरेको हो । उक्त कक्षबाट प्रशासनमा सेवा लिन आउने जो कोहीले पनि आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउन सक्नेछन । अकस्मात कोही बिरामी भएमा पनि थप उपचारका लागि एम्बुलेन्स सेवा समेत उपलब्ध गराईने प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिईन् । स्वास्थ्य सहायता कक्षबाट कार्यालय समयभर स्वास्थ्य सेवा उपलब्ध गराईने प्रशासन कार्यलयले जनाएको छ ।

प्रतिक्रिया