क्षयरोगबाट स्याङ्जामा १४ जनाको मृत्यू

स्याङ्जा ।
क्षयरोगबाट एक वर्षको अवधिमा स्याङ्जामा १४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा क्षयरोगबाट संक्रमित भएका १४ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख तथा जनस्वास्वास्थ्य अधिकृत केशव चापागाँईले जानकारी दिए । क्षयरोग पत्ता लागेपछि समयमै औषधी सेवन गरेर निको बनाउन सकिने भएपनि बिरामीले समय अनुसार औषधीहरु सेवन नगरिदिदा मृत्यू हुने गरेको तथ्याङ्क स्वास्थ्य कार्यालयमा रहेको प्रमुख चापागाँईले बताए ।

गत आर्थिक वर्षमा २८१ जना नयाँ क्षयरोगी भेटिएका थिए । बिरामीले डट्स विधिबाट औषधी सेवन गरिरहेको स्वास्थय कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सबै भन्दा धेरै क्षयरोगीका बिरामी वालिङमा रहेको तथ्याङक छ । गत आर्थिक बर्षमा वालिङ नगरपालिकामा ७९ जना क्षयरोगीका विरामी छन् । त्यस्तै पुतलीबजार नगरपालिकामा ४३, गल्याङ नगरपालिकामा ५०, चापाकोट नगरपालिकामा ३३, भीरकोट नगरपालिकामा २३, फेदिखोला गाउँपालिकामा ६, कालीगण्डकी गाउँपालिकामा २३, हरिनास गाउँपालिकामा ५, विरुवा गाउँपालिकामा १०, अर्जुनचौपारी गाउँपालिकामा ५ जना र आँधीखोला गाउँपालिकामा ४ गरी २८१ जना क्षयरोगबाट संक्रमित भएको पत्ता लागेको हो ।

क्षयरोग पत्ता लागेका बिरामीहरुलाई नजिकको स्वास्थ्य संस्थाबाट औषधीको व्यवस्था गरिहेको छ । स्याङ्जामा प्रतिलाख जनसंख्यामा १३४ जना क्षयरोगी भेटिने गरेको तथ्याङ्क स्वास्थ्य कार्यालयसगँ छ । प्रतिलाख जनसंख्यामा २ सय देखि ३ सय जनासम्म क्षयरोगी भेटिनुपर्ने भएपनि जिल्लामा अझै पनि परिक्षणको दरमा कमी आएकाले लक्ष्य अनुसार पुग्न नसकिएको प्रमुख चापागाँईले बताए । क्षयरोगको लक्षण देखिएपछि तथा लगातार खोकी लागरिहेका बेला स्वास्थ्य संस्थामा गएर क्षयरोग जाँच गर्नुपर्छ भन्ने सचेतनाको कमी भएको देखिएको छ । यसलाई अझै जनमानसमा पु¥याउन नसकिएको स्वास्थ्यले जनाएको छ ।

क्षयरोगको औषधी जिल्लाभित्रका सबै स्वास्थ्य संस्थाबाट र संक्रमित भएका हरेक वडा वडामा क्षयरोगको औषधी निशुल्क रुपमा वितरण भईरहेको छ । नियमित औषधी सेवन गरे क्षयरोगबाट बच्न सकिन्छ । बिरामीले प्रायजसो औषधी बिचमै खान छाडिदिने चुनौती थपिएको बताइएको छ । निरन्तर रुपमा खोकी लाग्ने, ज्वरो आउने, टाउँको दुख्ने, वाकवाक हुने जस्ता लक्षणहरु देखिए क्षयरोग लागेको हुनसक्ने चिकित्सकहरु बताउँछन् । ४ सय क्षयरोगी पत्ता लगाउनुपर्ने लक्ष्य यो बर्ष राखिएपनि ३ सय जसरीपनि पत्ता लगाउने गरी कार्ययोजना बनाइएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । नयाँ आर्थिक बर्ष शुरु भएसगै साउनमा मात्रै २९ जना क्षयरोगी संक्रमित फेला परेको छ ।

 

प्रतिक्रिया