गल्याङमा डेंगु रोग ‘खोज र नष्ट’ गर अभियान

क्रान्ति अर्याल,
गल्याङ ।
पछिल्लो समय देशभर डेङ्गीका बिरामीहरू बढे लगत्तै गल्याङमा पनि डेङ्गीका बिरामीहरू देखापरेका छन् । यसै कुरालाई मध्यनजर गरी स्याङजाको गल्याङ नगरपालिकाले पनि डेंगी रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रमका साथै डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि खोज र नष्ट गरु कार्यक्रम सम्पन्न गरेको छ ।

बिहिवार गल्याङ नगरपालिका वडा नं .३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा गल्याङ नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले डेंगीलाई नियन्त्रण गर्न सरसफाइमा ध्यान दिने, डेंगी सार्ने लामखुट्टेको व्यवस्थापन गर्ने लगायतका कार्यमा सर्वपक्षीय सहभागिताको आवश्यकता रहेको बताए । त्यस्तै झुलको प्रयोग गर्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने लगायतका काम गर्न समेत उनले सुझाव दिए ।

भाद्र २३ गतेसम्मको तथ्यांक हेर्दा गल्याङ नगरपालिकामा ३९ जनालाई डेंगी संक्रमण देखिएको तर गम्भीर अवस्था नदेखिएको गल्याङ नगर अस्पतालले जानकारी दिएको छ । उक्त कार्यक्रममा गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु वलीले लामखुट्टे नियन्त्रणका उपायहरू, डेंगी रोग रोकथाम र यसबाट बच्ने उपायबारे प्रशिक्षण दिएका थिए । त्यस्तै गल्याङ नगर अस्पतालका डाक्टर अनिल ढकालले सहभागीहरुले सोधेका जिज्ञासाका बारेमा बताए । त्यस्तै गरी उच्च ज्वोरो आउनु, टाउको दुख्नु, पेट दुख्नु, वाकवाकी लाग्नु, आँखाको गेडी दुख्नु, रातो बिमिरा देखापर्नु यी मध्ये कुनै लक्षण देखा परे तुरुन्त अस्पताल गएर चेकजाँच गराउन समेत डा. ढकालले आग्रह गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, परिवार नियोजन सुपरभाइजर अधिकृत मित्र अर्याल ,नायब सुब्बा तोलाकान्त ढकाल,नगरपालिका भित्रका शिक्षक, आमा समूह, टोल विकासका अध्यक्ष, चेम्बर अफ कमर्सका अध्यक्ष, लायन्स क्लब अफ गल्याङ सिटीका प्रतिनिधि, गल्याङ प्रहरी चौकीका सुरक्षाकर्मी तथा पत्रकारको उपस्थिति रहेको थियो ।

त्यस्तै बिहीबार नै गल्याङ बजार परिसरमा रहेका ग्यारेज, खुल्ला गरि राखिएका पानी ट्याङ्की जस्ता पानी जम्न सक्ने स्थानमा स्वास्थ्यकर्मी, वडाअध्यक्ष, संघसंस्थाका अध्यक्ष, शिक्षक सहितको टोलीले अनुगमन गरि लामखुट्टेको लार्भा नष्ट गरेको छ । उक्त कार्यक्रमको संचालन क्षयरोग कार्यक्रम संयोजक मिलन अर्यालले गरेका थिए ।

प्रतिक्रिया