मिलन समीर बर्ष पुस्तक पुरस्कार २०८० बाट पुरस्कृत हुदै

क्रान्ति अर्याल,
गल्याङ ।
नारी स्रष्टा समाजद्वारा हरेक वर्ष प्रदान गरिने प्रभुभक्त ‘छोरीनानी वर्ष पुस्तक पुरस्कार’ २०८० पहिलोपटक सशक्त युवा कवि मिलन समीरको मिलन समीर र मिलन समीरहरु (शृङ्खला कविताहरु २०८०) लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

नारी स्रष्टा समाजका अध्यक्ष सशक्त अग्रज साहित्यकार ममता मृदुलको अध्यक्षतामा बिहीबार काठमाडौंमा बसेको नारी स्रष्टा समाजको बैठकमा गरिएको निर्णयअनुसार हरेक वर्ष नेपाली भाषामा देशैभरिबाट प्रकाशित भएका विभिन्न विधा केन्द्रित उत्कृष्ट साहित्यिक पुस्तकहरु मध्येबाट सर्वोत्कृष्ट पुस्तक छनौट गरि प्रदान गरिने प्रभुभक्त ‘छोरीनानी वर्ष पुस्तक पुरस्कार’ २०८० पहिलोपटक मिलन समीर र मिलन समीरहरू (शृङखला कविताहरु २०८०) पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

२०८० सालमा नेपाली भाषामा देशैभरिबाट प्रकाशित भएर नारी स्रष्टा समाजमा प्राप्त भएका उत्कृष्ट साहित्यिक पुस्तकहरुमध्येबाट सर्वोत्कृष्ट पुस्तकको रूपमा निर्णायक समितिद्वारा सर्वसम्मत रूपमा छनोट भएको मिलन समीर र मिलन समीरहरु (शृङ्खला कविताहरु २०८०) पुस्तकका स्रष्टा स्याङ्जाका युवा कवि मिलन समीरलाई पहिलोपटक प्रदान गरिन लागेको बताइएको छ । प्रभुभक्त ‘छोरीनानी वर्ष पुस्तक पुरस्कार’ बिन्जु जोशी र विक्रमभक्त जोशीद्वारा आफ्ना बुवाआमाको नाममा स्थापना गरिएको हो र यही वर्षदेखि यो पुरस्कार प्रदान गर्न थालिएको आयोजकले जनाएका छन् ।

आगामी मङ्सिर १ गतेका दिन काठमाडौंमा आयोजना गरिने विशेष साहित्यिक समारोहमा यो वर्ष पुस्तक पुरस्कार प्रदान गरिने समेत निर्णय गरिएको छ । स्याङ्जाका कवि समीर पछिल्लो समय जोसिला र चोटिला साहित्य प्रकाशनमा निकै रुची राख्ने व्याक्तिका रुपमा परिचित छन् ।

प्रतिक्रिया