विपिसी अब गुणस्तर सुधारको बाटोमा छ

डोल प्रसाद खरेल,
प्रमुख,
आँधीखोला विद्युत वितरण केन्द्र, गल्याङ ।
आँधीखोला जलविद्युत स्याङ्जा जिल्लाको गल्याङ्मा संचालित परियोजना हो । यसको क्षमता ९.४ मेगावाट छ । विगत ३ दशकदेखि यसले स्याङ्जा र पाल्पा जिल्लाका केही भागहरुमा विद्युत सेवा प्रदान गर्दै आइरहेको छ । ग्रामिण विद्युतीकरणमा बिपिसीले महत्वपूर्ण भूमिका खेलेको छ । बुटवल पावर कम्पनी (बिपिसी) नेपालको जलविद्युत् क्षेत्रमा ५० वर्षमाथिको इतिहास बोकेको एकमात्र अग्रणी कम्पनी हो । कम्पनीसँग हाल ९ दशमलव ४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक आयोजनाको सम्पूर्ण स्वामित्व रहेको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)मा सूचीकृत भएका जलविद्युत् कम्पनीहरुमध्ये अब्बल कम्पनीको रुपमा बिपिसी रहेको छ । नेप्सेमा सूचीकृत भएका ती कम्पनीहरुमध्ये यस कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रत्येक वर्ष आकर्षक लाभांश प्रदान गर्दै आएको छ । हरेक बर्ष लाभांश बाँडीरहेको यस कम्पनीले आँधीखोला केन्द्रबाट घाटा लागेको बताउदै महशुल बृद्धिको प्रस्ताव गरिरहेको छ । हाल यस केन्द्रका प्रमुख डोल प्रसाद खरेल रहेका छन् । सरकारले जलविद्युतबाटै देशको समृद्धि चाहने हो भने हालका केही नियमहरु निलम्बन गरी ऊर्जा विकासमा लाग्नुपर्ने खरेलको भनाइ छ । प्रस्तुत छ ः बिपिसीले महशुल बृद्धि गर्नुपर्ने कारण, बिपिसीको सेवा प्रवाह र अन्य समसामयीक विषयलाई लिएर केन्द्रका प्रमुख खरेलसँग पब्लिक आवाज र अनलाईनका सम्पादक अमृत अर्यालले गरेको कुराकानी ः

१. खरेल सर आराम हुनुहुन्छ ? बुटवल पावर कम्पनीद्धारा संचालित यस आँधीखोला विद्युत वितरण केन्द्र अन्तर्गत ग्राहकको संख्या कति रहेको छ ? साथै यसको विद्युत वितरणको अवस्थाको बारेमा बताईदिनुहोस् न ।

धन्यवाद, नमस्कार । म आरामै छु । आँधिखोला विद्युत वितरण केन्द्र अन्तर्गत पाल्पा र स्याङ्जा जिल्लाका केहि पालिकाहरुमा विभिन्न वर्गका ग्राहक जस्तैः ग्राहस्थ, उद्योग, खानेपानी, सिंचाई आदी गरेर ४० हजार ७ सय ग्राहकहरु छन । यहाँको आँधीखोलाबाट कम्पनीले विद्युत उत्पादन गरेको छ । जलविद्युतको सुरुवातीदेखि हालसम्मको अवस्था हेर्ने हो भने यहाँबाट करिव साढे ९ मेगावाट विद्युत उत्पादन गरेका छौं । हामीले उत्पादन गरेको विद्युतले मात्र वितरण गर्न अपुग भएकाले नेपाल विद्युत प्राधिकरण र उसको सहायक कम्पनीहरुबाट खरिद गरी वितरण गर्ने गरेका छौं । निजी क्षेत्रले उत्पादन गरेर गरीब जनतालाई सस्तोमा उज्यालो दिने बिपिसी नै हो । यसमा निजी क्षेत्रको बढी लगानी छ । पहिले पहिले अन्यत्र १६ देखि १८ घण्टा लोडसेडिङमा बस्नुपर्ने बाध्यता हुदैगर्दा पनि हामीले आफ्नो वितरण क्षेत्रमा लोडसेडिङ गरेनौं ।

२. विद्युत क्षेत्रसँग आवद्ध इलेक्ट्रिसियन, व्यवसायी र विद्युत उत्पादन तथा वितरण कम्पनी बीच कस्तो सम्वन्ध हुनुपर्छ ? साथै निजी क्षेत्रबाट भएको विद्युत उत्पादनको विषयमा के भन्नुहुन्छ ?

विद्युत क्षेत्रसँग आवद्ध इलेक्ट्रिसियन, व्यवसायी मात्र नभएर सबै ग्राहकवर्गसँग सुमधुर सम्बन्ध हुनुपर्दछ । उपभोक्ताहरुको चाहाना र आवश्यकता भनेको निरन्तर र गुणस्तरीय विद्युत सप्लाई हो र त्यस अनुसार सेवा दिन हरसम्भव हामी प्रयासरत छौं । तर पनि कहिलेकांही विभिन्न प्राविधिक, भौगोलिक, मौसम साथै अन्य कारणले गर्दा त्यसलाई शतप्रतिशत गर्न नसकिएको हुनसक्छ । यद्यपि हामीले ग्राहक सन्तुष्टिमा धेरै ध्यान दिएका छौं । अहिले पनि हामीले प्राधिकरणबाट विद्युत् खरिद गर्नुपर्ने बाध्यता छ । अझ केही वर्षअघि हिउँदमा मात्र हैन बर्षामा पनि विद्युत् किन्नुपरेको थियो । हामीले महंगोमा विद्युत खरिद गरी सस्तोमा बेचेका छौं । निजी क्षेत्रकै योगदानका कारण आज लोडसेडिङ अन्त्य भएकाले राज्यले निजी क्षेत्रलाई सम्मान गर्नुपर्ने हो । नेपालमा जलविद्युतको भविष्य उज्ज्वल छ । किनभने नेपालमा मात्र हैन, संसारको इतिहास हेर्ने हो भने निजी क्षेत्रलाई साथ लिएर अगाडी बढ्दा विकास निमार्णका काम छिटो भएको देखिन्छ । यदि नेपालमा पनि अहिले नेताहरुले भनेका र जनताहरुले भोगेका कुरा सम्झने हो र देशलाई समृद्व बनाउने हो भने जलविद्युतबाटै हुन्छ । यसका लागि निजी क्षेत्रलाई सँगसँगै लिएर जानुपर्छ । यस्तो भएमा सरकारले सोचेभन्दा छिटो विकास हुन्छ । माथिल्लो तामाकोशी बनाउन १२ वर्ष लाग्यो । यदि यस्ता आयोजना निजी क्षेत्रलाई दिने हो भने त्योभन्दा छिटै र सस्तोमा बनाइदिन सक्छ । देशको लागि अँध्यारोबाट उज्यालोमा लैजान, विदेशी मुद्रा विदेशिनबाट रोक्न, देशको ऊर्जा देशभित्रै खपत गर्न÷गराउन निजी क्षेत्रले ठूलो योगदान पु¥याएको छ । त्यसैले जलविद्युतमा निजी क्षेत्रको योगदान गर्व गर्नलायक छ ।

३. आँधीखोला विद्युत वितरण केन्द्रमा हालसम्म कति कर्मचारी रहेका छन् ? के कर्मचारीहरु पर्याप्त छन् त ? अहिले पनि त्यति नै कर्मचारीले वितरण केन्द्रको आवश्यकता पूर्ति गर्न सक्छ त ?

यस वितरण केन्द्रमा विभिन्न क्षेत्रमा काम गर्ने १ सय ६ जना कर्मचारीहरु कार्यरत छन् । ग्राहक संख्या बृद्धि हुंदै गएमा कर्मचारी अपुग पनि हुन सक्छ । कमसेकम निजी क्षेत्रबाट यतीका जनालाई भएपनि रोजगारी दिएका छौं । केही कर्मचारी थप गर्न हामीले कम्पनीलाई सुझाव पनि दिएका छौ ।

४. उपभोक्ताले ट्रान्फर्मर, मिटर, एमसिविहरु कसरी प्राप्त गर्न सक्छन् ? यसको गुणस्तरप्रति जनतालाई सचेत गराउन कस्ता कस्ता कार्य गर्दै आउनु भएको छ ?

ट्रान्सफरमर कम्पनीले व्यवस्था गर्दछ र मिटर कम्पनीबाट खरिद गर्नुपर्छ भने एमसिबि ग्राहक स्वयंले व्यवस्था गर्नुपर्छ । तर २५ केभिए भन्दा बढी क्षमताको विद्युत आवश्यक पर्ने ग्राहकले ट्रान्सफरमर तथा अन्य सामानहरु पनि आफै खरिद गर्नुपर्छ । विद्युत जडान गर्न जाँदा कर्मचारीहरुले एमसिबि राम्रो भए नभएको सुझाब दिने गर्दछन् भने विद्युत माग गर्न जाँदा नै उपलब्ध गराएको कार्डमा विस्तृत रुपमा विभिन्न जानकारी गराईएको छ । हामीले बिजुलीमात्र बाल्ने हैन स्थानीय रुपमा गाउँको पनि विकासमा साथ दिएका छौं । तर केही व्यक्तिको स्र्वाथले विवाद श्रृजना हुने, सुरक्षामा समस्या भएकाले सरकारले लगानीकर्ताको समस्यालाई पनि सोचर कार्यायोजना बनउनु पर्दछ । लगानीमैत्री भइदिएमा निजी क्षेत्रहरु पछाडि हट्दैन । विजुलीका गुणस्तरीय सामाग्री खरिदको एकद्वार नितिमा सरकारले विचार गर्नुपर्दछ ।

५. बुटवल पावर कम्पनीले विद्युत वितरणका क्रममा पोल गाड्न तथा तार टाग्न प्रयोग गरेको जग्गाबापत नागरिकले मुआब्जा प्राप्त गरेका छन् त ?

बिपिसिले विद्युत वितरण गर्दाको क्रममा पोल तथा तार तान्दा प्रयोग गरेको जग्गाको मुआब्जा दिएको छैन र नेपाल विद्युत प्राधिकरणले पनि मुआब्जा दिने व्यवस्था गरेको छैन । नेपाल सरकारले १३२ के भि भन्दा तलको प्रसारण तथा वितरण लाईन विस्तारमा जग्गाको मुआब्जा दिने व्यवस्था गरेको छैन् । राज्यकै निती अनुशार हामीले काम गरिरहेका छौं । तर पनि कहिलेकाही हामीलाई समस्या आउने गरेको छ । हामीमा सुरक्षाका त्यतिकै समस्या छन् । करोडौं लगानी भएको ठाउँमा अराजक भीडहरु आएर ढुँगामुढा गर्ने पनि भइरहेको छ । तोडफोड भइरहेकोे छ । यस्तो अवस्थामा राज्यले कम्तीमा पनि हामी छौं है तिमीहरुको पछाडि भन्ने प्रत्याभूती दिनपर्छ ।

६. सरकारको उज्यालो नेपाल अभियानलाई साकार पार्न आँधीखोला विद्युत वितरण केन्द्रले कस्तो भूमिका निर्वाह गर्दै आएको छ ?

प्राविधिक समस्या बाहेक निरन्तर विद्युत सप्लाई गर्ने र ग्राहकको समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने गरिएको छ । हामीले पनि ऊर्जा क्षेत्रमा रहेका समस्या समाधानका लागि पहल गरिरहेका छौँ । यो अभियानलाई साकार पार्न हामी गुणस्तरीय विद्युत सेवा प्रवाहमा जुटेका छौं । यसका लागि हामीले महशुल बढाउनुको विकल्प छैन । तर विविध समस्याकै कारण विद्युत् महशुल बृद्धि हुन सकेको छैन । विविध कारण कतिपय अवस्थामा क्षमताभन्दा कम विद्युत् उत्पादन भइरहेको छ । तर पनि सरकारको लक्ष्य पूरा गर्न निजी क्षेत्र तयार छ । सरकारको लक्ष्य पूरा गर्न लगानी चाहिन्छ । त्यसका लागि विद्युत् विधेयक पनि लागानीमैत्री चाहिन्छ भन्ने विषयमा हामीले घचघच्याइरहेका छौं । यसमा निजी क्षेत्र समेट्ने गरी सरकार अगाडि बढ्नुपर्छ । लगानी गर्न सरकार एक्लैले सक्दैन ।

७. आँधीखोला विद्युत वितरण केन्द्रको भावि कार्ययोजनाहरु के के रहेका छन् ?अनि तपाईहरुको विद्युत वितरण क्षेत्रमा लोडसेडिङ हुन्छ कि हुँदैन् ?

बिपिसिको भावी कार्ययोजना भोल्टेज कम भएका ठाउँमा क्रमशः सुधार गर्दै जाने, विद्युत पोल भन्दा अन्यत्र टाँगिएको तारलाई हटाई विद्युत पोलमा राख्ने काम गर्दै जाने र जिर्ण अवस्थामा रहेका पोललाई हटाई नयाँ पोल परिवर्तन गर्ने रहेको छ । यस्ता कार्यहरु गल्याङ, वालिङ, भिरकोट, रामपुर, चापाकोट साथै अन्य ग्रामीण क्षेत्रहरुमा यसै आ.व.मा काम गर्ने योजना छ । रुखमा टाँगिएका तारहरुको जन्जाल हटाउने भनेर काम सुरु गरिसकेका छौं । तर सबै ठाउँको तार व्यवस्थापन सम्पन्न हुन सकेको छैन । अनि हाम्रोमा विशेष कारण बाहेक लोडसेडिङ हुदैन् ।

८. दिन प्रतिदिन विद्युतीय दुर्घटनाहरु बढ्ने क्रममा यस वितरण क्षेत्रमा चाहि कत्तिको दुर्घटना हुने गरेको छ ?

विद्युत दुर्घटना हुनुको कारण विभिन्न तरिकाले हुन सक्छ । जस्तैः एकथरी दुर्घटना घर भित्रको विद्युत प्रयोग गर्दा हुने गर्दछ भने अर्को ट्रान्समीसन लाईन नजिक रहेका रुखहरु काट्दा हुनसक्छ । त्यसबाहेक हावहुरी चल्दा, चट्याङ पर्दा, बाढी पहिरो जाँदा आदी कारणले विद्युत लाईन नजिक मान्छे भएमा ठूलो दुर्घटना हुनसक्छ । त्यसकारण त्यस्तो अवस्था भएमा सुरक्षित स्थानमा बस्नु पर्छ । साथै विद्युत लाईन नजिकको रुख काट्न परे विद्युत अफिसमा जानकारी गराउन भनेका पनि छौं र जानकारी पाएको ठाँउमा विद्युत लाईन काटिदिएका पनि छौं । अहिले आपूर्ति प्रणालीमा विश्वसनीयता र गुणस्तरका लागि हामीले धेरै सुधारहरु गरिरहेका छौँ, ताकी दुर्घटना कम होस् ।

९. विपिसीले बृद्धि गर्न खाजेको विद्युत महशुल त पुनरावलोकन हुने भयो नि । के कारणले आँधीखोला वितरण केन्द्रको महशुल बृद्धि गर्नुपरेको हो ?

महशुल बृद्धी गर्नु पर्ने कारण त विद्युत वितरणमा ठूलो घाटा नै हो । २०७३ साल पछि विद्युत महशुल बृद्धी भएको छैन । हामीले अहिलेसम्म जुन सफलता हासिल ग¥यौ, अब आगामी दिनमा त्यसलाई संस्थागत गर्नुपर्ने ठूलो चुनौती छ । त्यसका लागि महशुल बृद्धिको विकल्प छैन ।

१०. अन्त्यमा पब्लिक आवाज पत्रिका र अनलाईन मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

आँधिखोला केन्द्रले देशमा १८ घण्टा लोडशेडिङ हुँदा पनि हाम्रा ग्राहकहरुलाई लोडशेडिङ नगरेको कुरा यहाँहरुलाई जानकारी भएकै विषय हो । भविष्यमा पनि आँधिखोलाको पावर प्लाण्ट सञ्चालन भएको अवस्था र उत्पादीत क्षमताले पुगेसम्म लोडशेडिङ हुंदैन भन्न चाहन्छु । तपाईहरुको विश्वास जितेको यस जलविद्युत केन्द्रलाई अहिलेकै अवस्थामा नाफामा चलाउनलाई सञ्चालन खर्चमा कटौती गर्नुपर्ने, व्यवस्थापकीय सुधार गर्नुपर्ने र महशुल बृद्धि गर्नुपर्नेलगायत धेरै कुराहरु छन् । समयसापेक्ष महशुल बृद्धिमा सबै उपभोक्ताबाट सहयोगको अपेक्षा गर्दछु । साथै यो अवसरका लागि जिल्लाको लोकप्रिय पत्रिका पब्लिक आवाजलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया