होमस्टेको नयाँ गन्तव्य बन्दै फेदिखोलाको अयरपानी
स्याङ्जा ।
आन्तरिक र बाह्रय पर्यटकलाई होमस्टे मार्फत स्वागत गर्ने पहिलो जिल्ला हो स्याङ्जा । शिरुवारी गाउँ होमस्टे संचालनमा आएपछि पछिल्लो समय स्याङ्जामा होमस्टे संचालन गर्ने गाउँहरु बढ्न थालेका छन् । अहिले स्याङ्जाको फेदिखोलामा रहेको अयरपानी सामुदायिक होमस्टेका महिलाहरु पाहुँनाहरुकै स्वागत सत्कारमा रमाउदै आएका छन् । होमस्टेलाई उनीहरुले आम्दानीको पनि राम्रो स्रोतको रुपमा लिएका छन् ।
स्याङ्जामा नेपालकै पहिलो होमस्टे शिरुवारी संचालमा आएपछि जिल्लाका विभिन्न गाउँमा होमस्टे संचालन गर्ने बढ्न थालेका छन् । घरमै बसेर पाहुनाको स्वागत सत्कार गरि सजिलै आम्दानी बटुल्न सकिने भएपछि होमस्टे गर्ने गाउँहरु क्रमस स्याङ्जामा बढ्न थालेका हुन् । जहाँ होमस्टे संचालनमा आएका छन् त्यहाँ बसाइसराई पनि कम हुने गरेको तथ्याङकले देखाएको छ ।

शिरुवारी पछि स्याङ्जाको फेदिखोला गाउँपालिका १ मा रहेको अयरपानी सामुदायिक होमस्टे र रामकोष सामुदायिक होमस्टेमा आन्तरिक पर्यटकहरुको नयाँ गन्तव्य बन्न थालेको छ । जसका कारण आन्तरिक पर्यटकहरुले खचाखच भरिन थालेका छन् । शिरुवारी पछि यी दुई गाउँमा रहेको होमस्टे आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेका छन् । बिशेष गरी अयरपानी होमस्टेमा अर्गानिक उत्पादन खानकै लागि पाहुनाहरु आउने गरेको अयरपानी सामुदायिक होमस्टे संचालक निवु गुरुङ् बताउछिन् । स्थानीय माटोमा उत्पादन हुने तरकारीहरु र कोदोको परिकारहरु आन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गरेको गुरुङ्को भनाई छ । अयरपानी होमस्टेका संचालकहरु दैनिक जसो पाहुँनाहरु आइरहने भएकाले खाली बस्न नपर्ने गुरुङ्ले बताइन् ।
होमस्टेमा आउने पाहुँनालाई फुलमाला र सेतो चामलको टिका लगाई स्वागत गर्ने प्रचलन छ । यहाँ आउने बिशेषता भनेकै गाउँमै उत्पादन भएको खाना खान पाइने हो । प्याकेजमा एकदिनको एकजनालाई १२ सय मात्रै खर्च लाग्ने संचालकहरु बताउछन् । बेमौममा बाहेक यो होमस्टेमा आउने पाहुँनाले लोकल उत्पादननै खान खुवाउने होमस्टे संचालक बिन्दु गुरुङले बताइन् । यहाँ आउने पर्यटकले ७० प्रतिशत स्थानीय स्तरमै उत्पादन हुने बस्तुहरु खान पाइने गुरुङ्को भनाई छ । हरेक दिन पाहुनाहरु आउनु हुन्छ उनले भनिन्,‘उहाँहरुलाई खुवाउने, नचाउने र रमाइलोमै हामी व्यस्त हुन्छौं ।’ होमस्टे आउने पाहुँनाहरुलाई खुशी बनाएर मात्रै पठाउने गरेका छौं उनले भनिन् ।

फेदिखोला गाउँपालिकामा मात्रै तीन ओटा होमस्टे संचालनमा छन् । तीन ओटै होमस्टेमा दैनिक आन्तरिक पर्यटकहरु जाने गरेका छन् । पोखराबाट नजिक पर्ने भएकाले पनि यहाँ रहेका होमस्टेहरु संचालनमा कुनै कठिनाई नभएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पनि स्थानीय परिकारहरु बनाउन सहज होस भनेर विभिन्न तालिमहरु सहित सहयोग गर्दै आएको फेदिखोला गाउँपालिका १ का वडा अध्यक्ष अमृत क्षेत्रीले बताए ।
गोरखा स्मारक, मट्टीखान भ्यूटावर, गण्डकी प्रदेशको राजधानी पोखराको भ्याली र हिमश्रखलाहरु देख्न र अवलोकन गर्न पाईने यी होमस्टेका बिशेषताहरु रहेको अध्यक्ष क्षेत्रीले बताए । सिद्धार्थ राजमार्गबाट ५ किमि पक्की र कच्ची सडकयात्रा बाट पुग्न सकिने अयरपानी होमस्टे अत्यन्तै सुन्दर गाउँ पनि हो । यस्ता गाउँहरुलाई सरकारले पुर्वाधारका विकासमा ध्यान दिने हो भने आन्तरिक मात्रै नभएर बाह्रय पर्यटकहरुको पनि गन्तव्य हुन सक्ने अध्यक्ष क्षेत्रीले बताए । होमस्टे संचालनमा आएपछि गाउँ नै परिवर्तन भएको छ । स्याङ्जामा शिरुवारी पछि फेदिखोलामा संचालनमा रहेका होमस्टेहरु बढी सक्रिय रहेका छन् । अहिले सम्म स्याङ्जामा झण्डै १ दर्जन बढी होमस्टेहरु संचालनमा छन् ।


प्रतिक्रिया