क्षयरोग मुक्त अभियानमा वालिङ

वालिङ ।
नेपाल सरकारको क्षयरोग मुक्त मुलुक घोषणा गर्ने अभियानलाई साकार पार्न वालिङ नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । क्षयरोग रोग मुक्त नगर घोषण गर्ने अभियान अन्तर्गत वालिङ नगरपालिका स्वास्थ्य शाखाले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । स्याङ्जाका वालिङ सगै भीरकोट, गल्याङ र पुतलीबजार नगरपालिका पनि क्षयरोग मुक्त नगर बनाउने अभियानमा छन् । पहिलो चरणको अभिमुखीकरण कार्यक्रम देशभरका १५० स्थानीयतहमा लागु गरिएको वालिङ नगर स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिए ।
वालिङलाई जति छिटो क्षयरोग मुक्त नगर घोषण गर्ने तयारीलाई तिब्र बनाइएको छ । जसका लागि पहिलो पटक एआई मार्फत छातीको एक्सरे गर्ने काम पनि सम्पन्न गरेको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । एआईबाट छातीको एक्सरे गर्ने शिविरमा ५ जनामा क्षयरोग पत्ता लागेको छ । अहिले वालिङ नगर स्वास्थ्य शाखाले बार्षिक ११८ जना क्षयरोगी पत्ता लगाउने लक्ष्य राखेको र चालु आर्थिक बर्षमा ३० जनामा क्षयरोग पहिचान भएको पाण्डेको भनाई छ ।

सन् २०१८—१० को सर्वेक्षण अनुसार ५० प्रतिशत मानिसहरुमा क्षयरोग जिवाणु देखिएको थियो । जसमध्ये सक्रिय जिवाणु देखिएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा औषधी खुवाएर निको बनाउन सकिने स्वास्थ्यकर्मीहरु बताउछन् । वालिङमा आयोजित अभिमुखिकरणमा स्वास्थ्यकर्मी र पोषण सहजकर्ताले सहभागिता जनाएका छन् । अभिमुखीकरणमा सहजकर्ताको भुमिका गह्रौ प्रथामिक अस्पतालका डट्स फोकल पर्सन तथा सूचना अधिकारी उदयबहादुर पौडेल, प्रयोशाला प्रमुख इश्वर कोइराला लगायतले गरेका थिए ।

नेपाल सरकारले सन् २०५० सम्ममा नेपाललाई क्षयरोग मुक्त देश घोषणा गर्ने लक्ष्य अनुसार देशका ७ सय ५३ पालिकालाई क्षयरोग मुक्त पालिका घोषण अभियान शुरु गरेको छ । यही अभियान अनुसार वालिङ नगरपालिकाले विगत ३ बर्षदेखी क्षयरोग मुक्त पालिका बनाउने अभियान अनुसार काम गर्दै आएको छ । गतबर्ष ७९ जनामा क्षयरोग देखिएको र उनीहरुको औषधी सेवनबाट निको हुनेक्रम बढ्दो रहको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया