वालिङका मेयर—उपमेयरलाई थेग्नै नसक्ने नागरिकका प्रश्न
वालिङ ।
वालिङ नगरपालिकाले चौमासिक रुपमा गर्नुपर्ने सार्वजनिक सुनुवाई लामो समयपछि बल्ल आयोजना गरेको छ । नगरवासीले आफ्ना जनप्रतिनिधिले जनताको चाहाना अनुसार काम गरेका छन् या छैनन भन्ने मुल्याङ्कन सार्वजनिक सुनुवाई कार्यक्रमले तय गर्नेछ । तर वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले निर्वाचित भएर आएको झण्डै ३ बर्षमा ३ ओटा सार्वजनिक सुनुवाई गरेका छन् । निर्वाचित समयदेखी गणना गर्ने हो भने अहिले सम्म १२ ओटाभन्दा बढी सार्वजनिक सुनुवाई गर्नुपथ्यो ।
वालिङ नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना नगरिदिदा आफ्ना गुनासा नागरिकले पाउनबाट बन्चित हुदै आएका थिए । लामो समयपछि नगरपालिकाले बल्ल—बल्ल आयोजना गरेको सार्वजनिक सुनुवाईमा मेयर—उमेयरले थेग्नै नसक्नेगरी नागरिकले गुनासो उठाएका छन् । हरेक निर्णयमा विवादै विवादमा फसेको नगरपालिका नागरिकको सेवा भन्दा बढी आफ्नै निर्णय कसरी पारित गर्ने तर्फ नै केन्द्रिकृत रहेको थियो ।
बिहिवार वालिङमा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा नागरिकले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सहकारी, खेलकुद, आँधीखोला दोहन लगायत दर्जनौ बिषयमा जनप्रतिनिधिलाई प्रश्न तेर्साए । वालिङ १३ का स्थानीय हेमन्त गैह्रेले वडामा बेथीति, बिसंगति बढ्न थाल्यो भन्दै नागरिक मन्चले बुझाएको ज्ञापनपत्रको जवाफ ४ दिनमा दिन्छु भन्ने मेयरले ४ महिनासम्म यसको उत्तर किन दिन सकिएन भन्दै प्रश्न गरे । उपप्रमुखले पेश गरेका वालिङ १३ का योजना किन काटिए ?, सार्वजनिक जग्गा संरक्षणका नाममा भष्ट्रचार भएको छ यसको छानविन किन गरिएन ?, क्रसर उद्योगको मापदण्ड के हो ?, वालिङ १३ का कच्ची सडक कहिले सफा हुन्छ लगायतका प्रश्न गैह्रेले अगाडी सारे ।
त्यस्तै वालिङ २ का पुष्पकमल रेग्मी (हरी) ले शैक्षिक संस्थामा गरिएको राजनीतिकका बिषयमा प्रश्न उठाए । शिक्षक सरुवामा किन अनियमितता, अनुगमन र अनुगमित रहने वडाअध्यक्षहरु किन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको हो । भर्खर सर्वोच्च अदालले काठमाण्डौ महानगरपालिकाका बिषयमा वडा अध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नु हुदैन भन्ने फैसला अनुरुप वालिङ नगरपालिकालाई लागु हुन्छ कि हुदैन भन्ने बिषयमा प्रश्न उठाए ।
त्यस्तै वालिङ ८ का स्थानीय भुपराज वगालेले वालिङ समस्याग्रस्त नगर भन्ने बिषय जस्ता समाचारहरु बाहिर आएका छन्, कृषि, शिक्षा, सहकारी लगायत सबैतिर समस्याग्रस्त र निरासै निरासा छ । यस बिषयको समस्या समाधानका लागि नगरपालिकाको योजना के के छन् भन्ने बिषयमा प्रश्न उठाए । अधिकांश नागरिकले शिक्षा, स्वास्थ्य, सहकारी र आँधीखोला दोहनका बिषयमा प्रश्न उठाएका थिए । तर यी प्रश्नको जवाफ नगर प्रमुखले खासै दिन नसकेको स्थानीय पुष्पकमल रेग्मीले बताए ।
त्यसैगरी वालिङ ८ का स्थानीय हुमनाथ अर्यालले मिर्दी डुम्रीकोट सडकखण्डको बाँकी रहेको सडक कहिले पक्की हुन्छ ? वडावासीले दिएको ज्ञापनपत्रको बिषयमा कहिले ध्यानाकर्षण हुन्छ भन्ने प्रश्न राखेका थिए । यी पत्र मात्रै हुन् । झण्डै ५० जना भन्दा माथी नागरिकहरुले प्रश्नै प्रश्न गरेका थिए । नागरिकको प्रश्नको जवाफ दिदै नगर प्रमुख कृष्ण खाँणले हामीले राम्रो काम गरेको भए सार्वजनिक सुनुवाई गर्ने थिएनौ भन्दै ५ बर्ष दिएको समय कुर्न उनले अनुरोध गरे । हामी अर्ध बार्षिक परीक्षामा सहभागी भएको भन्दै यहाँ सम्म आइपुग्दा पास भयौ कि भएनौ मुल्याङकन गर्ने नागरिकले हो भन्ने जवाफ खाँणले दिए । यो कार्यक्रममा हामीलाई सुधार्ने प्रश्नहरु आएका छन् प्रमुख खाँणले भने,‘वान टु वान जवाफ दिने कार्यक्रम नभएको र समयपनि नभएकाले प्रश्नकर्ताहरुलाई धन्यवाद दिन चाहान्छु ।’ धेरै जनताको जवाफ भेटमा पनि दिन सकिन्छ उनले भने ।
जनताको चाहाना अनुसार काम नभएको स्विकार गर्दै नगर प्रमुख खाँणले सबैले सकरात्मक सुझाव दिएको भन्न्दै उत्तर नदिएर उम्किने प्रयास गरे । प्रश्नै प्रश्नको चाङ्ग प्रमुखमाथी उठेका थिए । नगरपालिकामा जाँदा मेयर—उपमेयर भेट्न नपाइने भन्दै सार्वजनिक सुनुवाईमा भेट्न पाइएकोमा धन्यवाद समेत दिएका थिए । कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रे, नेपाली काँग्रेसका नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादी केन्द्रका सचिव टुकराज डुम्रे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, वडाअध्यक्ष नमलाल डुम्रे, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी लगायतका बक्ताहरुले शिक्षा, स्वास्थ्य, संचार, खानेपानी, सहकारीहरुका बिषयमा नगरपालिकाले बिशेष ध्यान दिनुपर्ने बताएका थिए ।
नगर प्रमुख र उपप्रमुखलाई नगरपालिकामा भेट्न नपाएका नगरवासीले सार्वजनिक सुनुवाईमा खुलेर प्रश्न गरेका थिए । नगरपालिका शुसासन बिहिन हुन पुगेको भन्दै जनप्रतिनिधिहरु बाहिर हिड्ने भन्दा नगरपालिकामा बसेर काम गर्न सुझाव दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण शुसिल सुवेदीले गरेका थिए ।


प्रतिक्रिया