स्याङ्जामा ९० प्रतिशतमा एचपिभी खोप
स्याङजा ।
माघ २२ गतेबाट शुरु भएको एचपिभी खोप अहिलेसम्म ९० प्रतिशतले लगाएका छन् । २२ गतेदेखी २४गतेसम्म संचालन भएको एचपीभी खोप स्याङ्जामा ९० प्रतिशतले लगाइसकेका हुन् । प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले दिएको जानकारी अनुसार जिल्लाका ११ पालिकामा एचपिभी खोप लक्ष्य अनुसार नै पुग्ने बताएको छ ।
महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध कक्षा ६ देखी १० सम्मका र विद्यालय नजाने १० देखी १४ बर्ष उमेर समुहका बालवालिकालाई एचपिभि खोप दिइदै छ । प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका अनुसार तीनदिन सम्म चलेको खोप अभियानमा पुतलीबजारमा ७९.२, भीरकोटमा ९३, वालिङमा ९०.२, गल्याङ्मा १०१.२ र चापाकोट नगरपालिकामा ८१.९ प्रतिशत बालवालिकालाई खोपा लाईएको जनाएको छ । त्यसैगरी फेदिखोलामा ९०.५, आँधीखोलामा ८५.२, अर्जुनचौपारीमा १००.५, हरिनासमा, १०३, बिरुवामा ९१.३ र कालीगण्डकी गाउँपालिकामा १०४.३ प्रतिशत बालवालिकालाई खोप दिइसकिएको छ ।
स्याङ्जामा ९ हजार ३ सय १९ जना बालवालिकालाई यो खोप लगाउने लक्ष्य स्वास्थ्यको थियो । अहिले सम्म ८ हजार ४ सय ६२ जना बालवालिकालाई यो खोप लगाइ सकिएको स्वास्थ्यले जनाएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका ११ तहमा माघ २२ देखी २८ गतेसम्म यो अभियान संचालन गर्दै छ । प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रमुख केशव चापागाँईका अनुसार २२ गते ३ हजार ९ सय ३०, २३ गते २ हजार ८ सय ८८ र २३ गते १ हजार ६ सय ४४ जना बालवालिकालाई खोप लगाइएको बताए । अब खोप लगाउने अन्तिम चरणमा पुगेको र लक्ष्य अनुसार सफलता मिल्ने उनले बताए ।
हरेक बर्ष पाठेघरको मुखको क्यान्सर रोगबाट धेरै महिलाहरुले ज्यान गुमाउन थालेपछि नेपाल सरकारले यो खोप अभियान शुरु गरेको हो । स्याङ्जामा ३ सय १९ खोप केन्द्र मार्फत एचपिभी खोप संचालन गरेको थियो ।


प्रतिक्रिया