शिक्षक संघ भीरकोटको छैटौं प्रतिनिधि सभा

भीरकोट ।
गुणस्तरीय शिक्षाको आधार, मर्यादित पेसाको पूर्वाधार भन्ने मूल नारा सहित स्थापित भीरकोट शिक्षक संघको छैटौं प्रतिनिधि सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शिक्षक संघ भीरकोटका अध्यक्ष चोलाकान्त काफ्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथि गण्डकी प्रदेश निवर्तमान शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले समग्र देशको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सक्षम, दक्ष तथा प्रतिभावान व्यक्तिलाई शिक्षक सेवाको क्षेत्रमा समाबेश गर्न आबस्यक रहेको बताए । त्यसका लागि सोही अनुशारको नीतिको प्रबन्ध गरिनुपर्ने बताउँदै सो कार्यका लागि आफूले सदैव प्रयत्न गरिरहेको उनको भनाई छ ।
शिक्षक सेवामा प्रवेश गरेका नवआगन्तुक १५ जना शिक्षक, सेवाकालीन अवस्थामा रहेका ५ जना शिक्षक र सेवा निवृत्त भएका २ जना शिक्षकहरूलाई सम्मान गरिएको उक्त कार्यक्रममा शिक्षक संघ स्याङ्जा जिल्ला अध्यक्ष पशुपति पौडेल, नेपाली कांग्रेस भीरकोटका पार्टी सभापति यामप्रसाद अधिकारी, भीरकोट ७ वडा अध्यक्ष तारा अर्याल, शिक्षक संघ स्याङ्जा जिल्ला सचिव युवराज ढकाल, संघीय प्रतिनिधि शेषकान्त खनाल, निवर्तमान भीरकोट शिक्षक संघ अध्यक्ष रेशम खनाल, सहसचिव युवराज कट्टेल, प्र अ युनियन भीरकोट अध्यक्ष देबकी रेग्मी, ट्रेड यूनियन भीरकोट अध्यक्ष राजेन्द्र कुमार खाँड, शिक्षक संघ प्रदेश प्रतिनिधि सुनिता उच्चै लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने स्वागत हिरा देवी खनालले गरेकी थिईन् ।
कार्यक्रममा सहभागीहरु बीच अन्तर्क्रिया कार्यक्रम पनि राखिएको थियो । अन्तर्क्रियामा सहभागी शिक्षकहरुले शिक्षक पेसालाई समाजको तल्लो स्तरको पेसाका रुपमा रहने गरी राज्यबाट विभिन्न तवरले विभेद गरिएको, बीसौं वर्ष सम्म पनि एउटै तह र श्रेणीमा काम गर्नु परेको, तहगत बढुवाको प्रबन्ध नगरिएको, पारिश्रमिक प्राप्त गर्न ३÷४ महिना व्यतीत गर्नु परेको लगायतका गुनासा प्रकट गरेका थिए । विभिन्न विद्यालयका १ सय भन्दा बढी शिक्षकहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन तथा उठेका विषयवस्तुको अभिलेखीकरण सचिव कृष्ण प्रसाद पौडेलले गरेका थिए ।
प्रतिक्रिया