‘नेपाल प्रहरी नागरिकको सारथी हो’

शालिकराम शर्मा पौडेल,
(प्रमुख)
जिल्ला प्रहरी कार्यालय, स्याङ्जा ।
विगत १ बर्षदेखि स्याङ्जा जिल्लामा प्रहरीको नेतृत्व शालिग्राम शर्माले सम्हाल्दै आएका छन् । स्वच्छ छवि, स्पष्ट वक्ता, अब्बल अनुसन्धानकर्ता र इमान्दार अधिकृतका रुपमा संगठनभित्र चिनिएका उनी जिल्लाको शान्ति, सुरक्षाका लागि अहोरात्र खटिएको पाइन्छ । उनी आइसकेपछी जिल्लामा केही सुधारका प्रयासहरु पनि भएका छन् । गत बर्षको फागुन ११ गतेदेखि जिल्ला प्रहरी कार्यालय स्याङ्जामा एसपी शालिग्राम शर्माले प्रमुखका रुपमा कार्यभार सम्हाल्दै आएका हुन् । विसं २०६१ सालमा प्रहरीमा भर्ना भएका शर्मा यस अघि सुरक्षा सेवा व्यवस्थापन, काठमाडौंमा सेवारत थिए । एसपीमा बढुवा भएपछि शर्माले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा प्रहरी प्रमुख भएर काम गरिरहेका छन् । प्रस्तुत छ, उनै शर्मासँग जिल्लाको सुरक्षा चुनौती र योजनाबारे पब्लिक आवाजका सम्पादक अमृत अर्यालले गरेको कुराकानी ः

१. एसपी साव आराम हुनुहुन्छ ? जिल्लामा प्रहरी बलको नेतृत्वमा आउनुभएको पनि एक वर्ष पूरा भएको छ । कस्तो अनुभव भइरहेको छ ?

धन्यवाद, नमस्कार । म आरामै छु । म जिल्ला प्रहरी कार्यालय स्याङ्जाको कार्यालय प्रमुखको रुपमा २०८० फागुन ११ गते हाजिर भएको हुुँ । एक वर्षको अनभव मिश्रीत रह्यो । जिल्लामा सुरक्षाको नेतृत्व गर्दै गर्दा विभिन्न चुनौतीहरु सामना गर्नुप¥यो, तर स्थानीय तह, संचारकर्मी लगायत समुदायसँगको समन्वयमा अपराध न्यूनीकरण र शान्ति सुरक्षाको लागि प्रभावकारी कदम चाल्न सकेका छौं । यतिबेला जनतासँग प्रत्यक्ष सम्पर्क राख्न, उनीहरुको समस्या बझ्न र समाधान खोज्नमा नै बढी समय बित्यो । यस अवधिमा, जिल्लामा अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामाजिक सचेतना तथा आपराधिक गतिविधिहरुको नियन्त्रण गर्नमा विशेष पहल गरियो । सुरक्षाका हिसाबले केही चुनौतीहरु भए पनि समर्पित प्रहरी टिम र समुदायको सहकार्यले धेरै सकारात्मक परिणाम ल्याउन सफल भएका छौं ।

२. सामाजिक तथा अन्य फौजदारी अपराधमा प्रहरीको भूमिकालाई कसरी हेर्नुहुन्छ ?

सामाजिक तथा फौजदारी अपराध नियन्त्रणमा प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । प्रहरी कानून कार्यान्वयन गर्ने मात्र नभई, अपराध न्यूनीकरण, अनसन्धान र समुदायलाई सुरक्षित वातावरण प्रदान गर्ने अभिभावकको भूमिकामा पनि रहन्छ । हामीले अपराध रोकथामका लागि सोही अनुशारको काम गरेका हुन्छौं । सामाजिक अपराध न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम तथा समुदाय प्रहरी कार्यक्रम मार्फत जोखिमयुक्त क्षेत्रहरुमा निगरानी गरिएको हुन्छ । विद्यालय तथा यवा समुहहरुसँग सहकार्य गरी लागूपदार्थ दुव्र्यसनी, साइबर अपराध, र बालअधिकारबारे जनचेतना फैलाउने प्रयास भइरहेको छ । यसका साथै अनुसन्धान र कारबाहीको भूमिकामा पनि प्रहरी नै आउने गर्छ । अपराध भएपछि कानूनी प्रकृया अनसार छानबिन गरी दाषीमाथी कारबाही हुन्छ । पीडितलाई न्याय दिलाउन, पीडकलाई कानूनी कठघरामा ल्याउन प्रहरी पूर्णरुपमा प्रतिवद्ध छ । पीडित सहायता, पुनस्र्थापना सहयोग, फरार प्रतिवादी खोजी गर्ने पनि प्रहरीकै दायित्व हो । यसका अतिरिक्त हामी समुदायसँगको सहकार्यलाई पनि जोड दिइरहेका हुन्छौं । अपराध न्यूनीकरणको काम प्रहरीको मात्र नभई, समुदायको पनि भएकाले सोही अनुशार समाजलाई सुसुचित बनाउने काम प्रहरीले गर्छ । यसका साथै नयाँ रणनीतिसँग जुध्ने काम पनि प्रहरीले गर्छ । साइबर अपराध, लागुपदार्थ ओसारपसार, महिला तथा बालबालिका विरुद्ध हुने अपराध, ठगी, तथा संगठित अपराध नियन्त्रणका लागि विशेष योजना बनाइएको हुन्छ । हामी प्रहरी जनताको शान्ति सुरक्षाका लागि खटिएका हौं ।

३. कतै कतै प्रहरी नै भ्रष्टाचार र घूसघोरीमा संलग्न भनेर पक्राउ परिरहेका छन् नि, यस सम्वन्धमा के भन्नुहुन्छ ?

हो, पछिल्लो समय प्रहरी प्रशासनसँग जोडिएका केही भ्रष्टाचार र घूसघोरीका घटनाहरु उजागर भएका छन् । यो एक गम्भीर समस्या हो जसले सार्वजनिक विश्वासलाई कमजोर बनाउँछ । प्रहरी संस्थाको जिम्मेवारी भनेको नागरिकको सुरक्षा र कानूनको पालना सुनिश्चित गर्नु हो, तर जब उनीहरु आफैं नै भ्रष्टाचारमा संलग्न हुन्छन् भने त्यसले समग्र समाज र शासन प्रणालीलाई असर पु¥याउँछ । घूसघोरी र भ्रष्टाचारले केवल न्याय प्रणालीको कार्यक्षमता मात्र घटाउँदैन, यसले कमजोर र असमान न्याय वितरणको स्थितिको सिर्जना पनि गर्दछ, जसले आम नागरिकको अधिकार र सुरक्षा गुमाउने खतरा पैदा गर्न सक्छ । यसैले, प्रहरी संस्थामा पारदर्शिता, निगरानी र जिम्मेवारी सुनिश्चित गर्न अत्यन्त महत्वपूर्ण छ । सरकार र प्रशासनले प्रहरी विभागको कार्यप्रणालीलाई सुधार्न, दण्डको व्यवस्था गर्न र भ्रष्टाचार रोकथामका उपायहरु लागू गर्न आवश्यक छ । नागरिकको विश्वास पुनःस्थापना गर्न, सही र पारदर्शी व्यवस्थापनको आवश्यकता छ ।

४. स्याङ्जा जिल्लामा अपराध न्यूनीकरण गर्न प्रहरीले के गर्दैछ ?

स्याङ्जा जिल्लामा अपराध न्यूनीकरणका लागि प्रहरीले विभिन्न रणनीतिक तथा प्रभावकारी कदमहरु चालिरहेको छ । जिल्ला सुरक्षालाई मजबुत बनाउन प्रहरीले समुदायसँगको सहकार्य, प्रविधिको प्रयोग तथा सक्रिय गस्तीलाई प्राथमिकता दिएको छ । समुदाय प्रहरी साझेदारी अन्तर्गत स्थानीय तह, टोल सुधार समिति, विद्यालय र संघसंस्थासँग समन्वय गरी जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गरीरहेको छ । गाउँस्तरमै प्रहरी जनता सम्वाद कार्यक्रम आयोजना गरेर अपराध न्यूनीकरणका उपायबारे छलफल गरिन्छ । गस्ती तथा निगरानी प्रणालीको सुदृढीकरण गरिएको छ । जिल्लाका संवेदनशील क्षेत्रहरुमा नियमित पैदल गस्ती, मोवाइल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन तथा विशेष निगरानी अभियान चलाइएको छ । रात्री गस्ती, सिसिटिभी जडान तथा मोबाइल गस्तीलाई प्राथमिकता दिईएको छ । लागुपदार्थ तथा अबैध कारोबार नियन्त्रणमा लागिपरिएको छ । अवैध मदिरा, काठ तस्करी तथा चोरी पैठारी नियन्त्रणका लागि अभियान चलाइएको छ । स्याङ्जा जिल्ला प्रवेश गर्ने कुभिण्डे र राम्दिमा चौविसै घण्टा प्रहरी चेकिङ र सिसि क्यामेराद्धारा निगरानी गरिएको छ । घरेलु तथा महिलाा हिंसा कम गर्न सोही अनुशारको काम कारवाही गरिएको छ । महिला हिंसा, बालश्रम, बालविवाह तथा लैंगिक अपराध न्यूनीकरणका लागि सचेतना तथाकानूनी परामर्श सेवा प्रदान गरिदैंछ । साइबर अपराध तथा ठगी रोकथामका लागि काम गरिएको छ । प्रविधिको विकाससँगै बढ्दो साइबर अपराध, फेसबुक ठगी, बैंकिङ अपराध, फोन ठगी, नियन्त्रणका लागि विशेष अनुगमन टोली परिचालन गरिएको छ । कानूनी कठोरता तथा अपराधीमाथि कडा कारबाही गर्ने गरिएको छ । अपराधमा संलग्न व्यक्तिहरुलाई तीव्र अनसन्धान गरी कडा कानूनी कारबाही अघि बढाइएको छ । जिल्ला अदालत, सरकारी वकिल तथा अन्य निकायसँग समन्वय गर्दै अपराधीलाई शीघ्र न्याय सम्पादन गर्न पहल भइरहेको छ ।

५. अहिले जिल्लाको ट्राफिक र सवारीसाधनको अवस्था कस्तो पाउनुभएको छ ?

स्याङ्जा जिल्लाको ट्राफिक व्यवस्थापन र सवारीसाधनको अवस्था सधारोन्मुख छ । तर केही चनौतीहरु अझै कायम छन । जिल्लाका मुख्य सहरहरु पुतलीबजार, वालिङ, भीरकोट तथा ग्रामीण भेगका सडक सञ्जालमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन प्रहरीले विभिन्न कदम चलाइरहेको छ । अहिले सहरी क्षेत्रहरुमा सवारी चाप बढ्दै गएको देखिन्छ । विशेष गरी बिहान र बेलुका कार्यालय समय तथा विद्याालय आवागमनको समयमा चाप बढी नै छ । ग्रामीण भेगमा कच्ची सडकमा कहिलेकाही पहिरो तथा अन्य भौगोलिक चुनौतीका कारण आवागमन प्रभावित हुने गरेको छ । सडक स्तरोन्नति भइरहेकाले निर्माणाधीन सडकहरुमा ट्राफिक जाम तथा धुलोको समस्या देखिएको छ । ट्राफिक व्यवस्थापन सुधारका लागि हामीले मुख्य बजार क्षेत्र, विद्यालय तथा सरकारी कार्यालय आसपास सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरी तैनाथ गरिएको छ । ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरी चालक, पैदल यात्री तथा अन्य यात्रुलाई यात्रा सम्बन्धी जानकारी दिईदैछ । सवारी चेकजाँच अभियान कडा पारिएको छ । मादक पदार्थ सेवन गरी गाडी चलाउने, ओभर स्पिड, ओभरलोड र बिना लाइसेन्स सवारी सञ्चालन गर्नेहरुलाई कारबाही गरिएको छ । पहाडी भूभाग भएका कारण सडक साघुरो छ, जसले गर्दा ट्राफिक व्यवस्थापन जटिल बनेको छ । सवारीसाधनको संख्या बृद्धि भए पनि पार्किङ स्थान सीमित छन, यसले बजार क्षेत्रमा समस्या निम्त्याएको छ । ग्रामीण भेगका सडकहरुको अवस्था कमजोर रहेकाले बर्षायाममा कठिनाइ हुने गरेको छ ।

६. प्रहरी र जनताको सम्बन्धमा कसरी सुमधुरता ल्याउन सकिन्छ ? प्रहरीले सञ्चालन गरिरहेको प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी सेवा, नमस्कार अभियान जस्ता कार्यक्रम प्रभावकारी देखिएन भन्ने छ, तपाईंको कार्यकालमा यहाँका जनताले त्यो महसुस गर्न पाएका छन त ?

स्याङ्जा जिल्लामा प्रहरी र जनताको सम्बन्ध अझ समधुर बनाउन विभिन्न अभियान सञ्चालन भइरहेका छन् । प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी सेवा, नमस्कार अभियान जस्ता कार्यक्रम सरुआतका दिनमा प्रभावकारी देखिए पनि तिनीहरुको दिर्घकालीन प्रभाव सुनिश्चित गर्न थप सुधार आवश्यक रहेको छ । विगतमा सञ्चालन गरिएका कार्यक्रमहरु कागजी रुपमा मात्र सीमित भएको हो कि भन्ने भान परेको थियो । अहिले आम जनताबाट प्रहरीप्रति विश्वास बढाउन उजुरी व्यवस्थापन प्रणालीलाई पारदर्शी बनाइएको छ ।

७. जिल्ला प्रहरी कार्यालय स्याङ्जाका आगामी योजना के–के छन् ? स्याङ्जाका जनताले तपाईंबाट के अपेक्षा गर्ने ?

स्याङ्जा जिल्लाको सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले आगामी दिनमा केही रणनीतिक योजना अघि सारेको छ । यी योजनाहरु अपराध न्यूनीकरण, समुदायसँगको सहकार्य, ट्राफिक व्यवस्थापन, प्रविधिमैत्री प्रहरी सेवा तथा समग्र शान्ति सुरक्षालाई मजबुत बनाउन केन्द्रित छ ।

८. जिल्लाको सुरक्षा चुनौती कस्तो पाउनुभएको छ ? अनि तपाईंको सुरक्षा रणनीतिमा के–के प्राथमिकतामा छन् ?

स्याङ्जा जिल्ला पहाडी भगोल, मिश्रीत जनसंख्या र बढ्दो शहरीकरण भएको क्षेत्र भएकाले यहाँ सुरक्षा चुनौतीहरु पनि विविध छन । जिल्ला प्रहरी कार्यालयले यी चुनौतीहरुलाई सम्बोधन गर्न विशेष सुरक्षा रणनीति अपनाएको छ । बढ्दो आपराधिक गतिविधि, लागपदार्थ तथा अवैध कारोबार, ट्राफिक समस्या तथा दुर्घटना, महिला तथा बालबालिका हिंसा, प्राकृतिक विपद तथा आपतकालीन सुरक्षा चुनौती, समुदाय प्रहरी साझेदारीलाई बलियो बनाउने, साइबर अपराध नियन्त्रण र प्रविधिमैत्री सेवा हाम्रो प्राथमिकतामा छन् ।

९. जिल्लाभित्रका सहकारी पिडितहरु उजुरी लिएर प्रहरी समक्ष आएका छन् कि छैनन् ? यो केश प्रहरीले हेर्न मिल्छ कि मिल्दैन ? अनि यसमा राजनीतिक दबाब कत्तिको आउँछ ?

स्याङ्जा जिल्लामा सहकारी पीडितहरु उजुरी लिएर प्रहरीसम्म आउने क्रम बढिरहेको छ । केही सहकारी संस्थाहरुले आर्थिक अनियमितता तथा ठगीका काम गरिरहेको गुनासो आइरहेका छन । तर सहकारीसम्बन्धी मुद्धा हेर्ने कानूनी संरचना तथा प्रहरीको अधिकार क्षेत्रबारे केही सीमितताहरु छन् । जिल्ला प्रहरी कार्यालयले प्रारम्भिक छानबिन गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने काम गरररहेको छ । प्रहरीले प्रत्यक्ष रुपमा सहकारी विवाद हेर्ने कानूनी अधिकार धेरै सीमित छ । नेपालको सहकारी ऐन, २०७४ अनसार सहकारी विवादहरुको प्रारम्भिक जिम्मेवारी सहकारी डिभिजन कार्यालय (जिल्ला वा प्रदेश) लाई हुन्छ । यदी सहकारी सञ्चालकहरु पीडितको रकम हिनामिना गरेर भाग्ने, कागजात नक्कली बनाउने वा गैरकानुनी रुपमा सम्पति लुकाउने कार्यमा संलग्न देखिए भने प्रहरीले कारबाही अगाडि बढाउन सक्छ । सहकारी पीडितहरुको मुद्धालाई पारदर्शी रुपमा कानुनी निकायमा पठाउने र न्यायिक प्रकृया पूरा गर्ने प्रयास भइरहेको छ ।

१०. अन्त्यमा पब्लिक आवाज मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

स्याङ्जा जिल्लाका सम्पूर्ण आम नागरिकलाई जिल्ला प्रहरी कार्यालय, स्याङ्जाको तर्फबाट हार्दिक नमस्कार टक्राउन चाहन्छु । सबैभन्दा पहिला यहाँहरुकै साथ, सहयोग र विश्वासले जिल्लाको शान्ति सुरक्षा मजबुद हुर्दै गएको छ । प्रहरी र नागरिक सहकार्यकै कारण अपराध न्यूनीकरण, समाज सधार तथा समुदायमैत्री प्रहरी सेवा प्रभावकारी बन्दै गइरहेको छ । त्यसैले आम नागरिकको शान्ति, सुरक्षा र अमनचयनमा प्रहरी सारथी बन्नेछ भन्न चाहन्छु ।

प्रतिक्रिया