पुतलीबजारमा रेविज रोग रोक्न कुकुरको बन्ध्याकरण
स्याङ्जा ।
कुकुरबाट सर्ने रोग रेविजलाई न्युनिकरण गर्न स्याङ्जाको पुतलीबजार नगरपालिकाले सामुदायिक कुकुरहरूलाई निःशुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप संचालन अभियान शुरु गरेको छ । नगरपालिकाको वडा नं.९ कोल्मा र वडा नं. १० को राङखोलाबाट नगरपालिकाले यो अभियान शुरु गरेको हो । पुतलीबजार नगरपालिकाको पशु सेवा शाखाको आर्थिक बर्ष २०८१÷८२ को बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत निःशुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप लगाइएको नगर प्रमुख तुलसीराम रेग्मीले बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको प्राविधिक सहयोगमा शिविर तथा रेविज बिरुद्धको खोप लगाइएको नगरपालिकाले जनाएको छ । दुई ठाउँमा गरेर पहिलो चरणमा १ सय ४१ वटा सामुदायिक कुकुरहरूको बन्ध्याकरण शल्यक्रिया गरिएको छ भने १ सय ८९ कुकुरहरुमा रेविज रोग विरुद्धको खोप लगाइएको नगर प्रमुख रेग्मीले बताए ।
यस्तै बन्ध्याकरण शिविर तथा रेविज रोग विरुद्धको खोपको क्रममा दुई वटा कुकुरको म्यामरी क्यान्सरको अप्रेसन र एक वटा कुकुरको युटेरस क्यान्सरको अप्रेसन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले बताए । मानिसमा रेविज रोग ९५ प्रतिशत सामुदायिक कुकुरको टोकाईको कारणबाट हुने भएकाले यो रोग न्युनिकरण गर्न बन्ध्याकरण र खोप अनिवार्य लगाउनु पर्ने श्रेष्ठले बताए । यो शिविरमा डा. श्रेष्ठ, डा. अर्जुन अर्याल र डा. अनिल गौतमले कुकुरको बन्ध्याकरणमा खटिएका थिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चापाकोट, फेदिखोला र बिरुवामा यस अघि ३ सय ६४ कुकुरको बन्ध्याकरण र ४ सय १ वटा कुकुरमा रेविज खोप लगाएको थियो । पछिल्लो समय स्याङ्जाका पालिकाहरुले सामुदायिक कुकुरहरुलाई रेविज बिरुद्धको खोप दिनेक्रम तिब्र पारेका छन् ।


प्रतिक्रिया