सम्पादकीय— सुरक्षित खानेपानीको पहल

स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाले पछिल्लो केही वर्षयता स्मार्ट नगरको अवधारणालाई व्यवहारमा उतार्ने क्रममा थुप्रै उदाहरणीय काम गर्दै आएको छ । तीमध्ये सबैभन्दा महत्वपूर्ण क्षेत्र भनेको सुरक्षित र प्रशोधित खानेपानीको व्यवस्था हो । आज वालिङ नगरपालिकाका नागरिकहरु दैनिक रुपमा प्रशोधित, शुद्ध र सुरक्षित पानीको प्रयोग गर्न सफल भएका छन्, जुन स्थानीयतहको नेतृत्व, योजना र जनसहभागिताको उत्कृष्ट नमूना मान्न सकिन्छ । यो खानेपानी परियोजनाको थालनी तत्कालीन नगर प्रमुख तथा हाल गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालको पहलमा भएको थियो । नगरप्रमुखको रुपमा रहँदा उनले प्रशोधित खानेपानीलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजना तयार पारेका थिए । यही योजनाको आधारमा उपभोक्ता संस्था मार्फत आयोजना कार्यान्वयनमा ल्याइएको हो ।

यद्यपि प्रारम्भिक चरणमा परियोजना कार्यान्वयनको क्रममा पानीको मुहानका विषयमा केहीविवादहरु देखिएका थिए । तर ती समस्या संस्थागत संवाद, सहकार्य र सहमतिका माध्यमबाट समाधान गर्दै आयोजना अगाडि बढाइएको हो । यसले देखाउँछ कि योजना कार्यान्वयनमा चुनौतीहरु आउन सक्छन्, तर जनसहभागिता र नेतृत्वको दृढ इच्छाशक्तिले ती समस्याहरु पार गर्न सकिन्छ । वालिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अहिले दैनिक झण्डै २८ लाख लिटर प्रशोधित पानी उत्पादन गरिरहेको छ । यो पानी वैज्ञानिक विधिबाट प्रशोधन गरी उपभोक्ता समक्ष पु¥याइन्छ, जसले नगरवासीको स्वास्थ्य र जीवनशैलीमा सकारात्मक प्रभाव पारेको छ । खानेपानीका कारण फैलने रोगहरुमा गिरावट आएको छ भने स्थानीय जनताको स्वास्थ्यमा सुधार देखिएको छ ।

यस परियोजनाले न केवल नगरवासीलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिएको छ, बरु स्थानीयतहले समावेशी विकास, उत्तरदायीशासन र दिगो पूर्वाधार विकासतर्फ कसरी काम गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण पनि प्रस्तुत गरेको छ । वालिङको यो अनुभवलाई अन्य नगरपालिका तथा गाउँपालिकाहरुले पनि सिकाइका रुपमा लिन सक्नेछन् । समग्रमा, वालिङ नगरपालिकाले प्रशोधित खानेपानीको माध्यमबाट नागरिकलाई सुरक्षित जीवनस्तरको आधार प्रदान गरेको छ । यस्तो प्रयासले स्मार्ट सहरको परिकल्पनालाई व्यवहारिक यथार्थमा रुपान्तरण गर्न सम्भव छ भन्ने प्रमाणित गरेको छ ।

अहिले वालिङको खानेपानी संस्थाले नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने अवधारणालाई सार्थक बनाएको छ । विगतमा हैजा लगायत रोगको संक्रमण देखिएपछि सुरु गरिएको सुरक्षित खानेपानी कार्यक्रमले हाल उल्लेखनीय सफलता हासिल गरेको छ । वालिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मार्फत मुख्य बजार क्षेत्रका ३ हजार २९ घरधुरीले दैनिक रुपमा प्रशोधित पानी प्रयोग गर्दै आएका छन् । अहिले यहाँका नागरिक दुषित पानीजन्य रोगबाट सुरक्षित छन् । यो उपलब्धिले स्थानीय उपभोक्ता संस्थाबाट संचालित खानेपानी कार्यक्रम कति प्रभावकारी हुन सक्छ भन्ने देखाएको छ ।

प्रतिक्रिया