अनाथ आश्रम स्थापनार्थ धार्मिक महायज्ञ

स्याङ्जा ।
स्याङ्जाको वालिङमा अनाथ आश्रम स्थापना लगायतका मानव रक्षार्थका लागि धार्मिक महायज्ञ गरिने भएको छ । कालिका आध्यात्मिक प्रतिष्ठान नेपालको आयोजनामा वालिङ १४ बायाँखोलामा श्रीमद्भागवत् सप्ताह तथा तण्डुलाचल ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरती—२०८२ गर्न लागिएको हो । प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर बैशाख २४ गतेदेखी ३० गतेसम्म महायज्ञ गरिने जानकारी दिएको छ । नेपालमा युगौंदेखी प्रचलित धर्म, संस्कृति, परम्परा, जीवन दर्शन, यज्ञयागादि तथा विविध मूर्त तथा अमुर्त सम्पदाको संरक्षण, सम्वर्धन, प्रसारण र भावी पुस्तालाई हस्तान्तरण गर्ने उदेश्य राखेर प्रतिष्ठान स्थापना गरिएको आयोजकले बताएको छ ।

वालिङमा कालिका आध्यात्मिक प्रतिष्ठानले आध्यात्मिक धाम निर्माण गर्ने, अनाथ आश्रम एवम् अन्नक्षेत्र खोल्ने, १ सय ८ शिवलिङ्ग स्थापना, १ हजार ८ शालिग्राम पूजा आराधना, दैनिक हवन सञ्चालन, समाजमा रहेका वृद्धा, अशक्त तथा अनाथहरुको सेवा गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा १०८ ओटा महायज्ञ गर्न लागिएको प्रमुख कथा वाचक तथा प्रतिष्ठानका अध्यक्ष पण्डित प्रकाश तिवारीले बताए । आफ्नै जन्मुभुमीबाट महायज्ञको शुभारम्भ गर्दै मातापिताको आर्शिवाद लिएर देश, विदेशका बिभिन्न भागमा महायज्ञ गर्ने लक्ष्य लिएको पण्डित तिवारीले बताए ।

यसैगरी विपन्न परिवारका लागि धार्मिक संस्कार धान्न सहयोग गर्ने र विपन्नलाई खर्च जुटाई अन्त्यष्टी गर्नमासमेत सहयोग गरी कसैको कुनै संस्कार नरोकिने अवस्थाको सिर्जना गर्नका लागि महायज्ञ शुरु गर्न लागिएको पण्डित तिवारीले बताए । २४ गते कलश यात्रासहित शुभारम्भ गरिने महायज्ञमा सङ्गीतमय कथावाचनसँगै दैनिक पाठ पारायण, गौपूजा एवम् कन्या पूजन, राधाकृष्ण तथा १ हजार ८ शालिग्राम शिलाको पूजाअर्चना गरिनेछ ।

यसैगरी दैनिक राष्ट्रियस्तरका भजनगायकहरुद्वारा दैनिक भजन किर्तनबाट संगितमय आध्यात्मिक आनन्द लिन पाइने आयोजकले जनाएको छ । साथमा दैनिकरुपमा सन्ध्याकालिन लक्षवर्ती आरती गरिने पण्डित तिवारीले बताए । श्री राधासर्वेश्वरको अनुकम्पाले भागवत् भक्तिप्राप्ती हेतु गरिमामय भागवत् सत्सङ्ग ज्ञान महायज्ञमा सहभागी भई धर्मानुरागी सम्पूर्ण महानुभावहरुले भगवत् ज्ञान लिन आयोजकद्वारा अनुरोध गरिएको छ ।

धार्मिक जागरणसगै महायज्ञमा संकलन हुने रकमले मानवीय संरक्षणकै लागि खर्चिने आयोजकले बताए । २४ गतेदेखी शुरु हुन लागेको महायज्ञको सहआयोजकमा वालिङ नगरपालिका र संयोजकमा वालिङ १४ को वडा कार्यालय रहेको छ ।

 

प्रतिक्रिया