स्याङ्जाका ७ पालिका पूर्णखोप घोषणा

स्याङ्जा ।
हरेक बर्ष १५ महिना भित्र बालवालिकालाई दिइने खोप लगाएपछि पूर्ण खोप पालिका घोषणा गर्न पाईने प्रक्रिया छ । यही प्रक्रिया अनुसार अहिले सम्म स्याङ्जाका ७ पालिकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका छन् । १६ देखी २३ महिना भित्रका बालवालिकाले पाउनुपर्ने सम्पुर्ण खोप पाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिने छ । कोही पनि बालवालिका खोप लगाउनबाट बन्चित हुनु हुदैन र यो बर्ष छैनन् भन्ने सन्देश दिनका लागि यो विधि अपनाइएको हो ।
गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रमुख केशवप्रसाद चापागाँईका अनुसार अहिलेसम्म ३ नगरपालिका र ४ गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको बताए । पुतलीबजार, भीरकोट, गल्याङ् नगरपालिका र बिरुवा, हरिनास, अर्जुनचौपारी र आँधीखोला गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकेको चापागाँईले बताए । यो साताभरी स्याङ्जाका बाँकी रहेका पालिकाले पूर्ण खोप पालिका घोषणा गरिसक्ने विश्वास उनले लिएका छन् । गतबर्ष जिल्लाभर २ हजार ६ सयको अनुमान गरिएकोमा यो बर्ष बृद्धिदरका आधारमा २ हजार ७ सय बालवालिकाले खोप लगाउने अनुमान गरिएको छ ।
पुतलीबजार नगरपालिकाका सरोकारवालाले हस्ताक्षर गर्दे दिगोपनका लागि समेत प्रतिबद्धता जनाउदै पालिकालाई पूर्ण खोप घोषणा गरेका छन् । पुतलीबजार नगर स्तरीय खोप समन्वय समितिको आयोजानामा पूर्ण खोप सुरक्षित भविष्य शिक्षा स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार, स्थानीय श्रोतको सदुपयोग स्वामित्व र सहभागिता पूर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि पूर्ण खोप पालिका घोषणा गरिएको जनाएको छ ।
घरधुरी सर्वेक्षणका आघारमा नगरभित्रका खोप लगाउन छुट भएका ५२३ जना बालबालिकालाई खोप लगाएपछि पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको नगर प्रमुख तुलसीराम रेग्मीले बताए । पूर्ण खोप पालिका घोषणा गर्दै जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक श्रीप्रसाद घर्तीले पूर्ण खोप कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिनुपर्ने कुराको आवश्यकताका बारेमा जोड दिए । कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुनेमा समन्वय प्रमुख घर्तीको जोड थियो । कार्यक्रममा नगर प्रमुख रेग्मीले स्वास्थ्य क्षेत्रमा पुतलीबजार नगरपालिका उत्कृष्ट बन्दै आएको बताए । उनले खोपको निरन्तरताका लागि सबैको साथ र सहयोग महत्वपुर्ण रहेको बताए ।
यसैगरी गल्याङ नगरपालिकाका ३ सय २३ बालवालिकालाई सम्पुर्ण खोप दिएपछि पालिकालाई पूर्ण खोप पालिका घोषण गरिएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए । बालबालिकालाई खोप सेवा प्रदान गर्न जम्मा ३४ वटा खोप केन्द्रहरु हरेक महिना संचालन गरेर यो कार्यक्रम सम्पन्न गरेको भट्टराईले बताए ।
पूर्णखोप कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न, बाल मृत्युदर तथा अपाङ्गताको दरलाई घटाउन सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिका सबैले जन्मे पश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेपछि पूर्णखोप सुनिश्चित घोषणा गरिने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
हरेक बर्ष बालवालिकाले पाउनुपर्ने खोप प्राप्त गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्ने कार्यक्रम रहदै आएको छ । यो बर्ष पनि बैशाख महिना भित्र सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेपछि जिल्लालाई पूर्णखोप सुनिश्चितताको घोषणमा रहेको प्रदेश स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया