रास्वपा, स्याङजा क्षेत्र नं. २ मा नयाँ नेतृत्व

अमृत अर्याल
वालिङ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङजा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्र समिति पुनर्गठनसँगै नेतृत्वको बागडोर अब जगदिश प्रसाद गैह्रेको हातमा आएको छ। वालिङ नगरपालिका–८ मा आयोजित नेता तथा कार्यकर्ताको विशेष भेलाले गैह्रेलाई सर्वसम्मत रूपमा निर्वाचन क्षेत्र समितिको संयोजकमा चयन गर्दै आगामी राजनीतिक गतिविधि सुदृढ बनाउने संकल्प व्यक्त गरेको हो। रास्वपा स्याङ्जाका सभापति रूक्मागत भण्डारी (विश्वास) ले गैह्रेलाई सर्वसम्मत निर्वाचित गरिएको घोषणा गर्दै उनको नेतृत्वमा संगठन विस्तार, जनतासँगको पहुँच र आगामी निर्वाचनका तयारीहरू थप योजनाबद्ध हुने विश्वास व्यक्त गरे। उनका अनुसार पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै संगठनलाई गाउँ–गाउँमा संस्थागत गर्न चुनावी क्षेत्र समितिको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ समिति गठन गरिएको हो।

भेलाले एक सदस्य पछि थप गर्ने गरी हालका लागि ७ सदस्यीय निर्वाचन क्षेत्र समिति गठन गरेको छ। नवगठित समितिमा सह–संयोजकका रूपमा रमकला भण्डारी चयन भएकी छन्। सचिव पदमा नारायण पंगेनी निर्वाचित भएका छन भने सदस्यहरूमा चोलाकान्त अर्याल, नारायण विक्रम खाँण र देउरुपा डुम्रे चयन भएका छन्। सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रुपमा चयन भएको जानकारी निर्वाचन समितिका संयोजक तथा गण्डकी प्रदेश प्रशिक्षण प्रमुख डा. तुलसी राम खनालले जानाकारी दिए। उनका अनुसार पार्टीको विधानअनुसार निर्वाचन समिति ७ सदस्यीय हुने व्यवस्था रहेकाले बाँकी एक सदस्य पनि चाँडै नै मनोनयनमार्फत समावेश गरिनेछ। पार्टी भित्र समावेशीकरण र क्षमतामा–आधारित नेतृत्व विकासलाई प्राथमिकता दिँदै सबै तहमा समान अवसर सुनिश्चित गर्ने उद्देश्यले चयन प्रक्रियालाई सर्वसम्मत र सहभागितामूलक बनाइएको खनालले स्पष्ट पारे।

नवगठित समितिको घोषणा तथा नेतृत्व हस्तान्तरण समारोह स्याङ्जामा एक उत्साहजनक माहोलबीच सम्पन्न भएको थियो। कार्यक्रम रास्वपाका केन्द्रीय विभाग सदस्य झविलाल डुम्रेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उनले देशभर पार्टीप्रति बढ्दो जनविश्वास, वैकल्पिक राजनीतिप्रतिको आकर्षण र युवाहरूमाझ रास्वपाको प्रभाव बढ्दै गएको हुँदा संगठनलाई अझ मजबुत बनाउन स्थानीय तहको नेतृत्व अत्यन्त महत्वपूर्ण रहेको टिप्पणी गरे। डुम्रेले नवगठित समितिलाई सक्रिय, पारदर्शी तथा जन–उत्तरदायी भएर काम गर्न शुभकामना व्यक्त गर्दै पार्टीको मूलभूत सिद्धान्त—सुशासन, पारदर्शिता, सेवामुखी राजनीति र व्यावहारिक परिवर्तन—अनुसार अघि बढ्न निर्देशन दिए।

कार्यक्रमको अध्यक्षता गर्दै रास्वपा स्याङ्जाका सभापति रूक्मागत भण्डारी (विश्वास) ले पार्टीले ल्याएको नयाँ राजनीतिक संस्कृतिले देशभर आशा जगाइरहेको बताए। विशेष गरी स्याङ्जा–२ लाई संगठन विस्तार र राजनीतिक हस्तक्षेपका हिसाबले रणनीतिक क्षेत्र मानिएको भन्दै नवगठित समितिको सक्रियताबाट पार्टीले आगामी राजनीतिक प्रतिस्पर्धामा महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा राखे। भण्डारीले सर्वसम्मत नेतृत्व चयन हुनु पार्टीभित्रको एकता र विश्वासको संकेत भएको र यही विश्वासलाई जनताको घर–घरमा पु¥याउन अब नेतृत्वले योजनाबद्ध रूपमा अभियान अघि बढाउनुपर्नेमा जोड दिए।

पार्टी कार्यकर्ताहरूको विश्वास र समर्थन पाएर संयोजकमा निर्वाचित भएका जगदिश प्रसाद गैह्रेले संगठनलाई मजबुत बनाउँदै वडा–वडा, टोल–टोल र घर–घरमा पार्टीको पहुँच बढाउन आफू समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेको कुरा कार्यक्रमस्थलमा उपस्थित कार्यकर्ताहरूले बताए। गैह्रेको नेतृत्वमा निर्वाचन क्षेत्रभित्रका सबै स्थानीय तहका समितिहरूलाई सक्रिय बनाइने, आन्तरिक संगठन विस्तार, नीति–निर्देशन तथा जनसमस्याका मुद्दामा पार्टीले उठाउने आवाजलाई सुदृढ बनाइने अपेक्षा गरिएको छ।

कार्यक्रममा रास्वपा वालिङ नगर समितिका सभापति सुरेन्द्र काफ्लेले स्वागत मन्तव्य राख्दै पार्टीले जनताको भरोसा जित्न स्थानीय नेतृत्वले प्रभावकारी भूमिका खेल्नुपर्ने टिप्पणी गरे। कार्यक्रमको सञ्चालन रास्वपा गण्डकी प्रदेश प्रशिक्षण विभाग सदस्य प्रकाश अर्यालले गरेका थिए। अर्यालले पार्टीका कार्यकर्ता तथा सदस्यहरूलाई संगठनात्मक एकता, अनुशासन र प्रभावकारी क्रियाशीलताको महत्त्वबारे जानकारी गराउँदै नवगठित समितिले आगामी दिनमा संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। हालको परिस्थितिमा रास्वपा स्याङ्जामा तीव्र गति साथ विस्तार भइरहेको उनको दावी छ। युवाहरू, पेशेवरहरू तथा गैर–पारम्परिक राजनीति चाहने नागरिकहरूको आकर्षण पार्टीतर्फ बढ्दो भएको  अर्यालले बताए। राष्ट्रिय नेतृत्वले भष्टाचारविरुद्ध उठाएको कडा अभिव्यक्ति, प्रशासनिक सुधारको एजेन्डा र व्यवहारिक राजनीतिप्रतिको दृष्टिकोणका कारण स्याङ्जासहित देशभर यसको प्रभाव विस्तार भइरहेको विश्लेषण उनको छ। स्याङ्जा–२ मा त अहिले रास्वपाको संरचनालाई थप व्यवस्थित बनाउँदै नयाँ नेतृत्व चयन हुनु पनि यही विस्तार प्रक्रियाको निरन्तरता भएको अर्यालले बताए। नयाँ नेतृत्वका साथ अब पार्टी क्षेत्रभित्रका राजनीतिक तथा सामाजिक अभियानहरू अझ सशक्त रूपमा अघि बढ्ने अपेक्षा अर्यालको छ।

 

प्रतिक्रिया