आँधिखोला र गल्याङको एकीकृत घुम्ती शिविर

वालिङ ।

स्याङ्जा जिल्लाका आँधिखोला गाउँपालिका र गल्याङ नगरपालिका नागरिकमैत्री सेवा प्रवाहको दिशामा अग्रसर देखिएका छन्। स्थानीय तहबाट उपलब्ध हुने सेवा नागरिकको घरआँगनमै पुर्‍याउने उद्देश्यसहित दुवै पालिकाले गाउँगाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्न थालेपछि ग्रामीण भेगका नागरिकको दैनिकी सहज बन्दै गएको छ। शिविरमा सहभागी हुन किसानहरू पशु चौपायाका गोबर र खेतबारीको माटो बोकेर पुग्ने दृश्यले स्थानीय तहप्रति बढ्दो विश्वास र उत्साह झल्काउँछ। गल्याङ नगरपालिका र आँधिखोला गाउँपालिकाले आ आफ्ना पालिकामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै स्वास्थ्य, कृषि, पशु सेवा तथा विकास योजनासम्बन्धी सम्झौता जस्ता विविध सेवाहरू एकै स्थानबाट उपलब्ध गराउने व्यवस्था मिलाएका छन्। यसले गर्दा सेवाका लागि सदरमुकाम वा पालिकाको केन्द्रसम्म धाउनुपर्ने बाध्यता हट्दै गएको छ। गाउँमै सबै सेवा पाइने भएपछि समय, खर्च र झन्झट कम भएको स्थानीयवासीको भनाइ छ।

गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईका अनुसार घुम्ती शिविर वडागत रूपमा सञ्चालन गरिएको छ। “प्रत्येक वडामा तोकिएको मितिमा शिविर पुग्छ, नागरिकले आफ्नै वडामा आवश्यक सेवा लिन पाउँछन्,” उनले भने, “यसले नागरिक र स्थानीय सरकारबीचको दूरी घटाएको छ।” नगरपालिकाले प्रकाशित कार्यतालिकाअनुसार वडा कार्यालयहरूमा शिविर सञ्चालन गरिरहेको छ। त्यस्तै आँधिखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले साना–साना सेवाका लागि पनि पटक–पटक नगरपालिका वा सम्बन्धित कार्यालय धाउनुपर्ने बाध्यतालाई कम गर्न एकीकृत घुम्ती शिविरको अवधारणा अघि सारिएको बताए। “नागरिकलाई सहज सेवा दिनु स्थानीय सरकारको दायित्व हो,” उनले भने, “त्यही दायित्व पूरा गर्न स्वास्थ्य, योजना, कृषि र पशु सेवासम्बन्धी सेवा एकै ठाउँबाट उपलब्ध गराइँदै आएको छ।”

शिविरमा स्वास्थ्य सेवातर्फ उल्लेखनीय सुविधा उपलब्ध गराइएको छ। मृगौला जाँच, ईसीजी, भिडियो एक्स–रे, मधुमेह (सुगर) जाँच, पाठेघर क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ, आवश्यक औषधी वितरणलगायतका सेवा प्रदान गरिएको छ। ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा लिन कठिन हुँदै आएको अवस्थामा गाउँमै यस्ता सेवा पाउँदा स्थानीयवासी खुसी देखिन्छन्। विशेषगरी महिलाहरूले पाठेघर र स्तन क्यान्सरसम्बन्धी जाँच सहजै गर्न पाएको भन्दै सकारात्मक प्रतिक्रिया जनाएका छन्। शिविरमार्फत योजना शाखाबाट विकास योजनासम्बन्धी सम्झौता गर्ने सेवा पनि दिइएको छ। यसका साथै बैंक खाता सञ्चालन गर्न सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ। यसले विकास योजनाको कार्यान्वयन प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने विश्वास दुवै पालिकाले लिएका छन्। योजना सम्झौताका लागि पालिका केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेपछि उपभोक्ता समितिहरूलाई समेत राहत मिलेको छ।

कृषि सेवातर्फ शिविरमा माटो परीक्षण, बाली परामर्श तथा उन्नत कृषि अभ्याससम्बन्धी सुझाव प्रदान गरिएको छ। किसानहरूले खेतबारीको माटो परीक्षण गराएर कुन बाली उपयुक्त हुन्छ, कस्तो मल प्रयोग गर्ने भन्नेबारे प्रत्यक्ष जानकारी लिन पाएका छन्। यसले उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै पशु सेवातर्फ गोबर परीक्षण, पशु औषधी वितरण तथा पशु स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराइएको छ। पशुपालक किसानहरूका लागि यो सेवा निकै उपयोगी बनेको छ। पशु बिरामी हुँदा टाढा लैजानुपर्ने बाध्यता हटेको भन्दै उनीहरूले पालिकाको पहलको प्रशंसा गरेका छन्। पालिकाका अनुसार “वडावडामा सेवा, घरघरमा सुविधा” भन्ने अवधारणालाई व्यवहारमा उतार्ने लक्ष्यसहित घुम्ती शिविर सञ्चालन गरिएको हो।

नागरिकको आवश्यकता र मागअनुसार आगामी दिनमा पनि यस्ता एकीकृत सेवा शिविरलाई निरन्तरता दिने प्रतिबद्धता दुवै पालिकाले जनाएका छन्। स्थानीय तहबाट प्रवाह हुने सेवा प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा आँधिखोला गाउँपालिका र गल्याङ नगरपालिकाले चालेको यो कदमलाई उदाहरणीय पहलका रूपमा हेरिएको छ। गाउँमै सेवा पुगेपछि नागरिकको सहभागिता बढ्दै गएको छ भने स्थानीय सरकारप्रति विश्वास पनि मजबुत बन्दै गएको छ।

प्रतिक्रिया