सामाजिक कार्यमा भीरकोट लायन्स ः अस्पताल परिसर सरसफाई
भीरकोट ।
सरसफाई र गोडमेल कार्य सम्पन्न भएपछि स्याङ्जाको भीरकोट नगरपालिका–१, हेलुमा अवस्थित नगर अस्पताल परिसर थप आकर्षक र चिटिक्क बनेको छ। लायन्स क्लब अफ भीरकोटले सञ्चालन गर्दै आएका विभिन्न मानवीय, सामाजिक तथा वातावरणीय कार्यक्रमअन्तर्गत मंगलबार आयोजित क्लिननेस कार्यक्रमपछि अस्पताल क्षेत्रमा रहेको बगैचाको स्वरूप नै फेरिएको हो। क्लबले गत भदौ महिनामा अस्पताल परिसरमा रोपेका विभिन्न बहुमूल्य विरुवा र फूलहरू समयक्रममा झारपात तथा अनावश्यक घाँसले ढाकिएका थिए। विरुवाको वरिपरि अन्य बिरुवाहरू अनियन्त्रित रूपमा उम्रिँदा रोपिएका विरुवाको उचित संरक्षण हुन सकेको थिएन। यसले गर्दा वातावरणीय सौन्दर्य घट्नुका साथै विरुवाको वृद्धिमा समेत असर परेको थियो।
यही अवस्थालाई मध्यनजर गर्दै लायन्स क्लब अफ भीरकोटले सरसफाई तथा गोडमेल कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूले घाँस काट्ने हँसिया, कोदालो लगायतका उपकरण प्रयोग गरी बिहानभरि निरन्तर सरसफाई गरे। झारपात हटाइएपछि फूल र विरुवाहरू खुलेर देखिन थालेका छन् भने अस्पताल परिसरमा हरियाली र सौन्दर्य थपिएको छ। क्लबका अध्यक्ष चिन्तामणि चापागाईंका अनुसार यो कार्यक्रम क्लबको वातावरण संरक्षण प्रोजेक्टअन्तर्गत सञ्चालन गरिएको हो। अध्यक्ष चापागाईले भने, “हामीले रोपेका विरुवाहरू अस्पताल आउने बिरामी, कुरुवा तथा सर्वसाधारणले सहजै अवलोकन गर्न सकून् भन्ने उद्देश्यले सौन्दर्यीकरणमा विशेष ध्यान दिएका छौँ,”। उनका अनुसार वातावरणीय संरक्षणसँगै सार्वजनिक स्थललाई स्वच्छ र रमणीय बनाउने क्लबको दीर्घकालीन योजना रहेको छ।
कार्यक्रमका क्रममा विरुवामा सिंचाइको समेत व्यवस्था गरिएको थियो। बिहानभर करिब दुई घण्टा लायनकर्मीहरूले सक्रिय रूपमा सरसफाई तथा गोडमेलमा सहभागिता जनाएका थिए। सरसफाईपछि अस्पताल परिसर खुला, सफा र अझै व्यवस्थित देखिन थालेको छ, जसले अस्पतालको समग्र वातावरणलाई थप सकारात्मक बनाएको स्थानीयवासीको प्रतिक्रिया छ। कार्यक्रममा लायन्स क्लब अफ भीरकोटका पूर्व अध्यक्षहरू लक्ष्मण अधिकारी र ढाकाराम खनालसहित अन्य पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले वातावरण संरक्षणका साथै सामाजिक उत्तरदायित्व वहन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
स्थानीयवासी तथा अस्पताल प्रशासनले लायन्स क्लबको पहलको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता सरसफाई, वृक्षरोपण तथा संरक्षणका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्। सार्वजनिक स्वास्थ्य संस्थाको परिसर सफा र हरियालीयुक्त हुँदा बिरामीको मनोबल बढ्ने र उपचार प्रक्रियामा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ। लायन्स क्लब अफ भीरकोटले यसअघि पनि विभिन्न सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमहरू गर्दै आएको छ। पछिल्लो सरसफाई तथा गोडमेल कार्यक्रमले क्लबको सक्रियता र सामाजिक प्रतिबद्धतालाई थप उजागर गरेको छ। क्लबले आगामी दिनमा पनि नगरका अन्य सार्वजनिक स्थलहरूमा यस्तै अभियान सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।


प्रतिक्रिया