व्यावसायिक उत्पादनतर्फ भीरकोट नगरपालिकाको पहल
अमृत अर्याल
भीरकोट ।
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती सुरु गरेको छ । व्यावसायिक तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले नदी किनारको जमिन प्रयोग गर्दै पहिलो चरणको खेती थालिएको हो । नगरपालिकाले कृषि क्षेत्रको विविधीकरण र आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित यो नयाँ प्रयास अघि बढाएको जनाएको छ । नगर प्रमुख गोविन्द कुमार कर्माचार्यका अनुसार हेफरसँगको सहकार्यमा सञ्चालन भइरहेको भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । अध्ययन सफल भए व्यावसायिक उत्पादनमा विस्तार गर्ने लक्ष्य राखिएको छ ।
प्रमुख कर्माचार्यले आँधीखोला किनार क्षेत्रको हावापानी र माटो तर्बुजा खेतीका लागि उपयुक्त देखिएको जानकारी दिए । सोही आधारमा पहिलो चरणमा किसानलाई बीउ, बेर्ना, आवश्यक उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराइएको छ । उनले भने, “सम्भवतः जिल्लामै पहिलो पटक तर्बुजाखेती सुरु गरिएको हो । अहिले परीक्षणका रुपमा लगाइएको छ । नतिजा सकारात्मक देखिएपछि ठूलो परिमाणमा व्यावसायिक उत्पादनमा जोड दिनेछौँ ।” भीरकोट नगरपालिका–१ स्थित आँधीखोला नदी किनारको खेलमैदान परिसर, वडा नं ४ को फाँट, वडा नं ५ को पकान क्षेत्र तथा वडा नं ६ को एकुवार फाँट गरी करिब २० रोपनी क्षेत्रफलमा पहिलो पटक तर्बुजा रोपिएको छ । यस अभियानमा १८ जना किसान प्रत्यक्ष संलग्न छन् । नदी किनारको बगर क्षेत्रलाई उत्पादनमूलक बनाउने उद्देश्यले यो कार्यक्रम अघि सारिएको जनाइएको छ ।
परियोजनाका कृषि प्राविधिक अनिश अर्यालका अनुसार हाल रोपिएको तर्बुजा आगामी जेठ मसान्तसम्म उत्पादन लिन सकिनेछ । उनले जिल्लामै पहिलो पटक सुरु गरिएको नमूना खेती भएकाले किसानले नयाँ प्रविधि सिकेर व्यावसायिक रुपमा विस्तार गर्न सक्ने बताए । उनले भने, “यदि उत्पादन र बजार दुवै पक्ष सकारात्मक भएमा यो खेती भीरकोटका लागि नयाँ सम्भावना बन्न सक्छ ।” यस परियोजनाअन्तर्गत ‘लक्ष्मी’ र ‘सरस्वती’ जातका तर्बुजा रोपिएका छन् । यी जातले स्थानीय हावापानीमा राम्रो उत्पादन दिने अपेक्षा गरिएको छ । उत्पादन भएपछि किसानले आफैं बजार व्यवस्थापन गर्नेछन् । यदि बजार व्यवस्थापनमा समस्या आएमा नगरपालिकाले जिम्मा लिने प्रतिबद्धता जनाएको छ । यसले किसानमा थप उत्साह र भरोसा थपिएको छ ।
नगरपालिकाले तर्बुजाखेतीसँगै सिम्ला मिर्च, अकबरे खुर्सानी तथा बेमौसमी तरकारी उत्पादनमा समेत जोड दिएको छ । परम्परागत खेतीमा सीमित किसानलाई वैकल्पिक र नगदे बालीतर्फ आकर्षित गर्ने रणनीतिअनुसार कार्यक्रम अघि बढाइएको पालिकाले जनाएको छ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र स्थानीय आयआर्जन अभिवृद्धि गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । स्थानीय किसानहरु पनि नयाँ खेतीप्रति उत्साहित देखिएका छन् । नदी किनारको बगर जमिन प्रायः बाँझै रहने गरेकामा अब त्यसलाई उत्पादनशील बनाउने प्रयासले सकारात्मक सन्देश दिएको छ । परीक्षण सफल भए अन्य किसानसमेत तर्बुजाखेतीमा आकर्षित हुने अपेक्षा गरिएको छ । कृषि क्षेत्रमा नवीन प्रयोगमार्फत आत्मनिर्भरता र आर्थिक सबलीकरणको दिशामा भीरकोट नगरपालिकाले थालेको यो पहल सफल भए स्याङ्जाका अन्य स्थानीय तहका लागि समेत नमूना बन्न सक्ने देखिन्छ । अब सबैको ध्यान उत्पादनको गुणस्तर, बजार व्यवस्थापन र दीर्घकालीन स्थायित्वतर्फ केन्द्रित भएको छ ।


प्रतिक्रिया