स्याङ्जा २ मा रास्वपाका झविलाल डुम्रे विजयी नजिक

वालिङ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जाको निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रेले मतान्तर बढाउँदै विजयी नजिक पुगेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म सम्पन्न मतगणनामा रास्वपाका उम्मेदवार झविलाल डुम्रेले २२ हजार ३ सय ४० मत प्राप्त गरेका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भागवत प्रकाश मल्लभन्दा उल्लेख्य मतान्तरले अगाडि छन् ।

नेपाली काँग्रेसका उम्मेदवार भागवत प्रकाश मल्लले हालसम्म १९ हजार ५ सय १४ मत प्राप्त गरेका छन् । डुम्रे र मल्लबीच करिब २ हजार ५ सयको मतान्तर रहेको छ । मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाँकी मतगणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक गरिनेछ । प्रारम्भिक परिणामअनुसार डुम्रेले निरन्तर अग्रता कायम राखेकाले उनको जित लगभग सुनिश्चितजस्तै देखिएको स्थानीय निर्वाचन पर्यवेक्षकहरु बताउँछन् । यस निर्वाचन क्षेत्रमा अन्य दलका उम्मेदवारहरुले पनि प्रतिस्पर्धा गरे तापनि मुख्य प्रतिस्पर्धा रास्वपा र नेपाली काँग्रेसबीच केन्द्रित भएको देखिएको छ । मतगणना सकिएपछि औपचारिक रुपमा विजयी घोषणा गरिनेछ । एमालेका खिमबहादुर थापाले १२ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् । अब वालिङका २ वटा वडाको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया