स्याङ्जामा १८ उम्मेदवारको जमानत जफत
अमृत अर्याल
वालिङ ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत स्याङ्जाका दुवै क्षेत्रमा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरुको जमानत जफत भएको छ । मुख्य निर्वाचन कार्यालय स्याङ्जाका अनुसार यस जिल्लाको क्षेत्र नं. १ र २ बाट प्रतिस्पर्धामा उत्रिएका २४ जना उम्मेदवारमध्ये १८ जनाले जमानत जोगाउन नसकेका हुन् । निर्वाचनमा विजेता, उपविजेता र तेस्रो स्थानमा रहेका दुइ क्षेत्रका ६ उम्मेदवारले मात्र जमानत सुरक्षित गर्न सफल भएका छन् । निर्वाचन परिणामअनुसार क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धनञ्जय रेग्मी विजयी भएका थिए । त्यस्तै नेपाली कांग्रेसका भरतराज ढकाल उपविजेता र नेकपा एमालेका मिनप्रसाद गुरुङ तेस्रो स्थानमा रहेका छन् । यसैगरी क्षेत्र नं. २ मा रास्वपाका झविलाल डुम्रे विजयी हुँदा काँग्रेसका भागवत प्रकाश मल्ल उपविजेता र एमालेका खिमबहादुर थापा तेस्रो स्थानमा रहेका छन् । यी ६ उम्मेदवारले मात्र आवश्यक मत प्राप्त गरेर जमानत जोगाएका हुन् ।
प्रत्येक उम्मेदवारले निर्वाचनपूर्व १० हजार रुपैंयाँ धरौटी रकम जम्मा गनुपर्ने हुन्छ । तर महिला र दलितको हकमा भने ५० प्रतिशत छुट हुने व्यवस्था छ । यसरी महिला तथा दलित उम्मेदवारले ५ हजार र अन्यले १० हजार रकम धरौटी स्वरुप जम्मा गरेका थिए । निर्वाचन आयोगको प्रावधानअनुसार प्रत्यक्षतर्फ उम्मेदवारले खसेको सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसके जमानत जफत हुने व्यवस्था रहेको छ । स्याङ्जा क्षेत्र नं. १ मा भएको निर्वाचनमा यही प्रावधानका आधारमा ९ उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा कुल १ लाख ३० हजार ८ सय ८६ मतदाता रहेका थिए । तीमध्ये ७० हजार ९ सय ४४ मत खसेको थियो । खसेको मतमध्ये २ हजार ९ सय ८ मत बदर भएको थियो भने ६८ हजार ३६ मत सदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने प्रावधानअनुसार क्षेत्र नं. १ मा कम्तीमा ६ हजार ८ सय ३ मत प्राप्त गर्नुपर्ने थियो । तर अधिकांश उम्मेदवारले उक्त सीमा पार गर्न नसक्दा उनीहरुको जमानत जफत भएको हो । जमानत जफत हुने उम्मेदवारमध्ये नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५ सय ५२ मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुमबहादुर रानाले ६ सय ९८ मत प्राप्त गरेका छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका पिरन गुरुङले ४ सय ८९ मत प्राप्त गरेका छन् भने मंगोल नेशनल अर्गनाइजेसनका यामबहादुर गुरुङले २ सय १६ मत पाएका छन् । उज्यालो नेपाल पार्टीका रविन्द्र मल्लले १ सय ७६ मत प्राप्त गर्दा नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले ६१ मत प्राप्त गरे । यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सोमबहादुर परियारले ५७ मत प्राप्त गरेका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विश्वकर्माले ३० मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार अशोक विष्टले २५ मत प्राप्त गरेका छन् । यी सबै उम्मेदवारले सदर मतको १० प्रतिशत पनि मत ल्याउन नसकेकाले उनीहरुको जमानत जफत भएको हो । निर्वाचन आयोगको नियमअनुसार उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैंयाँ धरौटीका रुपमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको हुन्छ । यदि उम्मेदवारले तोकिएको न्यूनतम मत प्राप्त गर्न सकेन भने उक्त धरौटी जफत हुने प्रावधान छ । यसै व्यवस्थाअनुसार स्याङ्जा क्षेत्र नं. १ का ९ उम्मेदवारको धरौटी जफत भएको हो ।
यसैगरी क्षेत्र नं. २ मा पनि ९ जना उम्मेदवारको धरौटी जफत हुने भएको छ । धरौटी जफत हुनेहरुमा नेपाली कम्यूनिष्ट पार्टीका पदम बहादुर विकले ८ सय ४८ मत प्राप्त गरेका छन् भने राप्रपाका रविन पाठकले ५ सय ६६ मत प्राप्त गरेका छन् । नेशनल रिपब्लिक नेपालका तेजबहादुर थापाले २ सय, मंगोल नेशनल अर्गनाइजेशनका खर्कबहादुर थापाले १ सय ३२, राष्ट्रिय जनमोर्चाका राजेन्द्र प्रसाद गैह्रेले ७१, स्वतन्त्र उम्मेदवार खिमबहादुर खत्रीले ६७, राष्ट्रिय जनमुक्ति पार्टीका हरीदेव थापाले ६५, जय मातृभूमि पार्टीका धनबहादुर थापाले १६ र स्वतन्त्र उम्मेदवार सागर थापा मगरले ९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
उता समानुपातिक निर्वाचन प्रणालीतर्फ भने फरक व्यवस्था रहेको छ । समानुपातिकतर्फ कुनै दलले एक सिट पनि प्राप्त गर्न नसके त्यस दलको धरौटी जफत हुने व्यवस्था निर्वाचन आयोगले गरेको छ । यस निर्वाचन परिणामले स्याङ्जा क्षेत्र नं. १ मा मुख्य प्रतिस्पर्धा ठूला दलहरुबीच केन्द्रित भएको देखाएको छ भने साना दल र स्वतन्त्र उम्मेदवारहरुले अपेक्षित समर्थन पाउन नसकेको विश्लेषण गरिएको छ । निर्वाचन परिणामपछि यस क्षेत्रको राजनीतिक समीकरण र दलहरुको प्रभावका विषयमा समेत चर्चा सुरु भएको छ ।


प्रतिक्रिया