स्याङ्जाका दुवै क्षेत्रमा रास्वपाको प्रत्यक्षभन्दा बढी मत
वालिङ ।
स्याङ्जाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि सबैभन्दा धेरै मत पाएको छ। सार्वजनिक मतपरिणाम अनुसार दुवै क्षेत्रबाट समानुपातिकतर्फ रास्वपाले कुल ६२ हजार ८ सय ६३ मत प्राप्त गरेको छ, जुन प्रत्यक्षतर्फ पाएको मतभन्दा ८ हजार ४ सय ३८ मत बढी हो। मतपरिणामले स्याङ्जामा रास्वपाको लोकप्रियता प्रत्यक्ष निर्वाचनमा मात्र सीमित नभई समानुपातिक मतमा पनि उल्लेखनीय रूपमा देखिएको पुष्टि गरेको छ।
क्षेत्र नं. १ मा समानुपातिकमा पनि रास्वपा अगाडि
स्याङ्जा क्षेत्र नं. १ मा रास्वपाले प्रत्यक्षतर्फ २९ हजार ७१ मत प्राप्त गरेको थियो। समानुपातिकतर्फ भने उसले ३३ हजार ४ सय ९९ मत पाएको छ। यस हिसाबले प्रत्यक्षतर्फको तुलनामा समानुपातिकमा ४ हजार ४ सय २८ मत बढी आएको देखिन्छ। यस क्षेत्रबाट रास्वपाका उम्मेदवारले प्रत्यक्षतर्फ जित हासिल गरेका थिए। समानुपातिकतर्फ पनि मतदाताले रास्वपालाई नै प्राथमिकता दिएको देखिएको छ।
यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले क्षेत्र नं. १ मा समानुपातिकतर्फ १६ हजार ३ सय ९९ मत पाएको छ। कांग्रेसले प्रत्यक्षतर्फ भने १८ हजार ८ सय ५७ मत पाएको थियो। यसरी प्रत्यक्षको तुलनामा समानुपातिकतर्फ कांग्रेसले २ हजार ४ सय ५८ मत कम प्राप्त गरेको देखिन्छ। त्यसैगरी तेस्रो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रत्यक्षतर्फ १६ हजार ८ सय ४ मत पाएको थियो। तर समानुपातिकतर्फ भने एमालेले १४ हजार ४ सय ८५ मत मात्र पाएको छ। यसले प्रत्यक्षको तुलनामा समानुपातिकमा २ हजार ३ सय १९ मत कम भएको देखाउँछ।
क्षेत्र नं. २ मा पनि समान प्रवृत्ति
स्याङ्जा क्षेत्र नं. २ मा पनि रास्वपाले समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ २५ हजार ३ सय ५४ मत पाएको रास्वपाले समानुपातिकमा २९ हजार ५ सय ९ मत पाएको छ। यसरी यहाँ पनि प्रत्यक्षको तुलनामा ४ हजार १ सय ५५ मत बढी आएको छ। दुवै क्षेत्रको समग्र मत परिणाम हेर्दा रास्वपाले प्रत्यक्षतर्फ कुल ५४ हजार ४ सय २५ मत पाएको थियो। तर समानुपातिकतर्फ भने ६२ हजार ८ सय ६३ मत प्राप्त भएको छ।
कांग्रेस दोस्रो, एमाले तेस्रो
दुवै क्षेत्रमा समानुपातिकतर्फ दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले दुवै क्षेत्रमा गरी कुल ३४ हजार ३ सय ३० मत प्राप्त गरेको छ। क्षेत्र नं. १ मा कांग्रेसले १६ हजार ३ सय ९९ मत पाएको छ भने क्षेत्र नं. २ मा १७ हजार ९ सय ३१ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ भने कांग्रेसले क्षेत्र नं. १ मा १८ हजार ८ सय ५७ र क्षेत्र नं. २ मा २० हजार ८ सय ३० मत पाएको थियो। यसले दुवै क्षेत्रमा कांग्रेसको समानुपातिक मत प्रत्यक्षभन्दा कम रहेको देखाउँछ।
तेस्रो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पनि समानुपातिकतर्फ प्रत्यक्षको तुलनामा कम मत पाएको छ। एमालेले क्षेत्र नं. १ मा १४ हजार ४ सय ८५ र क्षेत्र नं. २ मा ११ हजार ६ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ भने एमालेले क्षेत्र नं. १ मा १६ हजार ८ सय ४ र क्षेत्र नं. २ मा १४ हजार १ सय ८ मत पाएको थियो। यस हिसाबले एमालेको मत क्षेत्र नं. १ मा २ हजार ३ सय १९ र क्षेत्र नं. २ मा ३ हजार १ सय २ ले कम भएको छ।
साना दलको न्यून मत
समानुपातिकतर्फ चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुवै क्षेत्रमा गरी कुल ३ हजार २ सय २२ मत प्राप्त गरेको छ। यसमध्ये क्षेत्र नं. १ मा १ हजार ८ सय ७३ र क्षेत्र नं. २ मा १ हजार ३ सय ४९ मत आएको छ। यसैगरी नेपाली कम्युनिस्ट पार्टीले क्षेत्र नं. १ मा १ हजार ५ सय ३१ र क्षेत्र नं. २ मा १ हजार ४७ मत प्राप्त गरेको छ। यसरी दुवै क्षेत्रमा गरी २ हजार ५ सय ७८ मत पाएको छ।
श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ दुवै क्षेत्रमा गरी १ हजारभन्दा बढी मत प्राप्त गरेको छ। यसैगरी मंगोल नेशनल अर्गानाइजेशनले दुवै क्षेत्रमा गरी ४ सय १ मत पाएको छ। नेपाल जनता संरक्षण पार्टीले २ सय २४ मत प्राप्त गरेको छ भने जनमत पार्टीले १ सय ७५ मत प्राप्त गरेको छ।
धेरै दललाई मतै छैन
समानुपातिकतर्फको निर्वाचनमा कुल ५७ वटा राजनीतिक दलका चुनाव चिन्ह समावेश थिए। तर तीमध्ये केही दलले भने एक मत पनि प्राप्त गर्न सकेका छैनन्। यसले स्याङ्जाका मतदाताहरूको ध्यान सीमित केही दलमा केन्द्रित रहेको देखाउँछ। विशेषगरी रास्वपा, कांग्रेस र एमालेजस्ता प्रमुख दलले नै अधिकांश मत पाएका छन् भने साना दलहरूको मत निकै न्यून देखिएको छ।
समग्र परिणामले स्याङ्जामा रास्वपाको प्रभाव उल्लेखनीय रूपमा बढेको संकेत गरेको छ। प्रत्यक्षतर्फ जित हासिल गरेको रास्वपाले समानुपातिकतर्फ पनि सबैभन्दा धेरै मत पाएको तथ्यले मतदाताबीच पार्टीप्रतिको समर्थन अझ व्यापक रहेको विश्लेषण गरिएको छ।


प्रतिक्रिया