अर्जुनचौपारीमा नेपालकै पहिलो धार्मिक होमस्टे सञ्चालनको तयारी
पब्लिक आवाज
भीरकोट ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले नेपालमै पहिलोपटक धार्मिक होमस्टे सञ्चालनमा ल्याउने तयारी थालेको छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ गाउँपालिकाले यस्तो नयाँ अवधारणा अघि सारेको हो। यस कार्यक्रममार्फत धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। गाउँपालिकाले यही चैत्र ३ गते सार्वजनिक सूचना जारी गर्दै इच्छुक स्थानीयवासी तथा टोल समूहलाई होमस्टे सञ्चालनका लागि आवेदन दिन आह्वान गरेको छ। सूचना अनुसार तोकिएको मापदण्ड पूरा गर्ने व्यक्तिहरू वा समूहलाई छनोट गरी धार्मिक होमस्टे सञ्चालनमा ल्याइनेछ। आवेदन दिने व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गाउँपालिका कार्यालय वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ।
गाउँपालिकाले धार्मिक महत्व बोकेको नेपालको पहिलो नवग्रह मन्दिर क्षेत्रलाई केन्द्रमा राखेर धार्मिक पर्यटन विकास गर्ने योजना अघि बढाएको छ। उक्त मन्दिर क्षेत्रमा हरेक वर्ष ठूलो संख्यामा भक्तजन तथा पर्यटक आउने गरेका छन्। यही सम्भावनालाई मध्यनजर गर्दै धार्मिक होमस्टे अवधारणा अघि सारिएको हो। गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार यस कार्यक्रमले मन्दिर दर्शन गर्न आउने भक्तजन तथा पर्यटकलाई स्थानीय संस्कृति, परम्परा र अर्गानिक खानाको अनुभव गराउनेछ। अध्यक्ष तिवारीले भने, “हामीले धार्मिक पर्यटनलाई केवल दर्शनमा सीमित नराखी यहाँ आउने पाहुनालाई गाउँको जीवनशैली, संस्कृति र परम्परासँग नजिकबाट जोड्ने प्रयास गरेका छौं ।”
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले पर्यटन प्रवर्द्धनसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले धार्मिक होमस्टे सञ्चालन गर्न लागिएको जानकारी दिए। उनका अनुसार होमस्टे सञ्चालनका लागि निश्चित मापदण्ड तय गरिएको छ, जसअनुसार घरधनीले कम्तीमा दुईवटा सफा पाहुना कोठा र व्यवस्थित शौचालयको व्यवस्था गर्नुपर्नेछ। साथै, पाहुनालाई दिइने खानामा स्थानीय स्तरमै उत्पादन भएका अर्गानिक खाद्य सामग्रीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ।
नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले नवग्रह मन्दिर आसपासका गाउँवस्तीमा धार्मिक होमस्टे सञ्चालन गर्ने योजना रहेको बताए। उनका अनुसार समुदाय तयार भएपछि गाउँपालिकाले आवश्यक तालिम, व्यवस्थापन तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ। उनले धार्मिक होमस्टे सञ्चालन गर्ने समुदायले विशेष ध्यान दिनुपर्ने पक्षहरूबारे पनि स्पष्ट पारे। “होमस्टे सञ्चालन गर्ने ठाउँमा धार्मिक, परम्परागत, अनुशासित र शान्त वातावरण कायम हुनुपर्छ,” उनले भने, “धार्मिक पर्यटकलाई लक्षित गरी बेलुकीको समयमा भजन, कीर्तन तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गर्न समेत तयार हुनुपर्छ।” यसले पर्यटकलाई फरक अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।
होमस्टे दर्ता प्रक्रियाका लागि गाउँपालिकाले तोकेको फारम अनिवार्य रूपमा भर्नुपर्नेछ। आवेदन दिएका व्यक्तिहरूमध्ये छनोट भएका घरधनी वा समूहलाई आवश्यक तालिम प्रदान गरिनुका साथै सञ्चालनका लागि प्राविधिक सहयोग पनि उपलब्ध गराइनेछ। यस कार्यक्रमले स्थानीयवासीको सीप विकास गर्नुका साथै आयआर्जनका नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले यो कार्यक्रममार्फत ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने तथा पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको छ। विशेषगरी अर्गानिक कृषि उत्पादनलाई होमस्टेसँग जोडेर स्थानीय किसानलाई समेत लाभ पुर्याउने योजना बनाइएको छ।
अर्जुनचौपारी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ भित्र तीन लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ। हालसम्म भने आन्तरिक तथा भारतीय पर्यटक गरी करिब एक लाख पर्यटकले गाउँपालिकाका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गरिसकेको गाउँपालिका प्रमुखको सचिवालयले जनाएको छ। धार्मिक होमस्टे अवधारणा सफलतापूर्वक कार्यान्वयनमा आएमा यसले अर्जुनचौपारीलाई नयाँ पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने तथा देशभर धार्मिक पर्यटन प्रवर्द्धनका लागि उदाहरणीय नमूना बन्ने विश्वास गरिएको छ।


प्रतिक्रिया