एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पालिकाको सम्मान

 

पब्लिक आवाज

स्याङ्जा ।

 

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई स्याङ्जाका विभिन्न स्थानीय तहहरुले नगद पुरस्कारसहित सम्मान गरेका छन् । विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले पालिकाहरुले सम्मान कार्यक्रम आयोजना गरेका हुन् ।

 

स्याङ्जाको आँधीखोला गाउँपालिकाले एसईईमा ४ जिपिए ल्याउने छात्रालाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले शारदा मन्दिर माध्यमिक विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गर्दै ४ जिपिए प्राप्त गर्ने मनिषा ढकाललाई नगद १ लाख रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिए । सम्मान कार्यक्रममा अध्यक्ष पौडेलले आगामी वर्षहरूमा पनि एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई गाउँपालिकाको तर्फबाट १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे । उनले विद्यार्थीको मेहनत, अभिभावकको साथ र शिक्षकको योगदानकै कारण उत्कृष्ट नतिजा सम्भव भएको उल्लेख गर्दै शिक्षामा लगानी बढाउन गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

 

त्यस्तै पुतलीबजार नगरपालिकाले पनि एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । यस वर्ष पुतलीबजार नगरपालिकाबाट पाँच जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका थिए । नगरपालिकाले त्रिभुवन आदर्श माध्यमिक विद्यालयका आयुष्मा ढकाल, अनिशा रेग्मी र शश्रिक दोरंगा, रोशनी आवासीय माध्यमिक विद्यालयका प्रसनमान श्रेष्ठ तथा स्याङ्जा माध्यमिक विद्यालयका निश्चल तिवारीलाई नगद ७ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले जानकारी दिए । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्दै नगरप्रमुख तथा जनप्रतिनिधिहरुले विद्यार्थीको सफलता सम्पूर्ण नगरकै गौरव भएको बताएका थिए । नगरपालिकाले आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने जनाएको छ ।

 

यसैबीच भीरकोट नगरपालिकाले पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद र प्रशंसापत्रसहित सम्मान गरेको छ । शहिद शुक्र माध्यमिक विद्यालयका नितेश काफ्लेले एसईई परीक्षामा ४ जिपिए प्राप्त गरेका थिए भने दहथुम माध्यमिक विद्यालयकी चाहना केसीले ३.९१ जिपिए हासिल गरेकी थिइन् । नगरपालिकाले नितेश काफ्लेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार र चाहना केसीलाई १० हजार रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरेको शिक्षा शाखा प्रमुख खड्ग बहादुर रानाले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरुको मेहनत र विद्यालयको योगदानको प्रशंसा गर्दै नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरिएको थियो ।

 

यस वर्षको एसईई परीक्षामा स्याङ्जाका विभिन्न पालिकाबाट उल्लेखनीय संख्यामा विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गरेका छन् । जिल्लाका ११ स्थानीय तह मध्ये पुतलीबजार नगरपालिकाबाट सबैभन्दा बढी पाँच जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । त्यसैगरी वालिङ नगरपालिकाबाट तीन जना तथा भीरकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र आँधीखोला गाउँपालिकाबाट एक एक जनाले ४ जिपिए प्राप्त गरेका थिए । नतिजाको प्रतिशतका आधारमा विश्लेषण गर्दा फेदिखोला गाउँपालिका सबैभन्दा अगाडि देखिएको छ । फेदिखोलामा ९३.८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै सबैभन्दा कम नतिजा विरुवा गाउँपालिकामा देखिएको छ, जहाँ ४१.१३ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

 

स्थानीय तहहरुले विद्यार्थीहरुलाई नगदसहित सम्मान गर्न थालेपछि यसले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै अध्ययनप्रति थप उत्साह बढाएको शिक्षाविद्हरुले बताएका छन् । पछिल्लो समय स्थानीय सरकारहरुले शिक्षालाई प्राथमिकतामा राख्दै उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्न थालेका छन् । विशेषगरी ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोग्ने विद्यार्थीहरुलाई यस्ता पुरस्कारले थप हौसला मिल्ने विश्वास गरिएको छ । स्थानीय तहहरुले शैक्षिक गुणस्तर सुधारलाई विकासको प्रमुख आधारका रूपमा अघि बढाउन थालेपछि जिल्लामा शिक्षा क्षेत्रमा सकारात्मक सन्देश गएको सरोकारवालाहरुको भनाइ छ ।

प्रतिक्रिया