मौरीपालन प्रवर्द्धनमा पालिकाको जोड

स्याङ्जा ।

स्याङ्जाको फेदिखोला गाउँपालिकाले पहिलो पटक ‘प्रथम फेदिखोला मौरी दिवस–२०८३’ मनाउँदै मौरीपालन व्यवसायको प्रवर्द्धन र कृषकलाई आत्मनिर्भर बनाउने अभियानलाई थप सशक्त बनाएको छ। दिवसको अवसरमा पालिकाभित्र उत्पादन भएको अर्गानिक महको प्रदर्शनी तथा बिक्रीसँगै कृषकलाई मौरीका घार र फूल फुल्ने बिरुवा वितरण गरिएको छ। कार्यक्रममा आधारभूत मौरीपालन तालिम लिएका १ सय ४ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीका घार वितरण गरिएको छ। त्यस्तै, मौरीपालन व्यवसाय विस्तारका लागि पालिकाले किसानहरूलाई चिउरी र कल्की जातका करिब १ हजार ५ सय फूल फुल्ने बिरुवा समेत उपलब्ध गराएको छ। मौरीका लागि आवश्यक आहारा र वातावरण सिर्जना गर्दै दीर्घकालीन रूपमा उत्पादन वृद्धि गर्ने उद्देश्यले बिरुवा वितरण गरिएको पालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले सामूहिक रूपमा मौरीपालन कार्यक्रम अघि बढाएको बताए । उनका अनुसार पालिकामा एक वटा ‘फेदिखोला सेरेना मौरीपालन समूह’ र तीन वटा मौरीपालन पाठशालामार्फत व्यावसायिक रूपमा सेरेना जातको मौरीपालन हुँदै आएको छ। “हाम्रो पालिकाका करिब ७५ प्रतिशत कृषकले घरघरमै मौरीपालन गरिरहेका छन्,” अध्यक्ष सुवेदीले भने, “मौरीपालनले कृषकको आयआर्जन बढाउनुका साथै वातावरण संरक्षण र कृषि उत्पादन वृद्धि गर्न समेत महत्वपूर्ण भूमिका खेलेको छ।” उनका अनुसार मौरी समूहका २४ सदस्यले मात्रै ७ सय ८५ वटा मौरीका घार सञ्चालन गरिरहेका छन् भने अन्य कृषकसहित पालिकाभर दुई हजारभन्दा बढी मौरीका घार रहेका छन्। पालिकाले हालसम्म एक हजार मौरीका घार ७० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिसकेको उनले जानाकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले मानव जीवनको अस्तित्वसँग मौरीको प्रत्यक्ष सम्बन्ध रहेको बताए। उनले मौरी पृथ्वीबाट लोप भएमा त्यसको चार वर्षभित्र मानव जीवनसमेत संकटमा पर्ने वैज्ञानिक भनाइ उद्धृत गर्दै मौरी संरक्षणमा सबैको ध्यान जानुपर्ने बताए। “मौरी केवल मह उत्पादन गर्ने जीव होइन, यसले प्रकृति र पृथ्वीलाई जोगाउने काम गर्छ,” मन्त्री कार्कीले भने, “मौरी एक उत्पादन अनेक भन्ने भनाइ नै यसको महत्व बुझाउन पर्याप्त छ। कृषि उत्पादन बढाउनदेखि जैविक विविधताको संरक्षणसम्म मौरीको योगदान अतुलनीय छ।” उनले मौरीपालनलाई जीविकोपार्जनको साधनका रूपमा मात्र नभई व्यावसायिक उत्पादन र मूल्य अभिवृद्धिसँग जोड्नुपर्नेमा जोड दिए।

विशेषगरी रोयल जेली जस्ता उच्च मूल्यका उत्पादनमा ध्यान दिन सके कृषकको आर्थिक अवस्था सुधार गर्न सकिने उनको भनाइ थियो। “मह उत्पादनमा मात्र सीमित नहुने हो भने मौरीपालनले आर्थिक समृद्धिको ढोका खोल्न सक्छ,” उनले भने, “रोयल जेली लगायतका उत्पादनमा कृषकलाई प्रोत्साहन गर्न आवश्यक छ।” मन्त्री कार्कीले कृषक र कृषि पेशालाई सम्मानित बनाउन गण्डकी प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। उनले प्रदेश सरकारले नीति तथा कार्यक्रममा ५० प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स कार्यक्रम ल्याएको उल्लेख गर्दै कृषकलाई आवश्यक सेवा तथा सुविधा विस्तारमा सरकार प्रतिबद्ध रहेको बताए। त्यस्तै, कृषि पेशालाई मर्यादित र आकर्षक बनाउन ‘रिटर्न टु भिलेज’ कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै गाउँ फर्केर कृषि तथा पशुपालनमा लाग्ने युवालाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा श्री प्रसाद जिटी, गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङ तथा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल लगायतले मौरीपालन व्यवसायको सम्भावना, यसको आर्थिक तथा वातावरणीय महत्वबारे धारणा राखेका थिए। दिवसको अवसरमा मौरीपालन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका कृषक, विद्यार्थी तथा शिक्षकलाई सम्मान समेत गरिएको थियो। सम्मानित व्यक्तिहरूले मौरीपालनबाट प्राप्त अनुभव र उपलब्धि साझा गर्दै यसलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

फेदिखोला गाउँपालिकाले पहिलो पटक आयोजना गरेको मौरी दिवसले स्थानीय कृषकमा उत्साह थपेको छ। अर्गानिक मह उत्पादन, मौरीका घार वितरण र फूल फुल्ने बिरुवा रोपणजस्ता कार्यक्रमले मौरीपालनलाई व्यवस्थित र व्यावसायिक बनाउने अपेक्षा गरिएको छ। स्थानीय सरकारले कृषकलाई प्रविधि, तालिम र अनुदानमार्फत सहयोग गर्दै आएको अवस्थामा फेदिखोला मौरीपालनको नमुना पालिकाका रूपमा स्थापित हुने विश्वास गरिएको छ।

प्रतिक्रिया