अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

भीरकोट ।

धनथान सामुदायिक सिकाइ केन्द्र, भीरकोट नगरपालिका–६, स्याङ्जाको आयोजनामा अभिभावक शिक्षा, आत्महत्या न्यूनिकरण, लागुपदार्थ दुव्र्यसनी तथा साइबर अपराध सम्बन्धी दुई दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बालोदय माध्यमिक विद्यालय, सुन्दरबजारमा सञ्चालन गरिएको कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायलाई लक्षित गर्दै अभिभावक शिक्षा, आत्महत्याको रोकथाम र साइबर अपराधबाट बच्ने उपायबारे विस्तृत जानकारी प्रदान गरिएको हो। धनथान सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष बलबहादुर थापाका अनुसार पछिल्लो समय समाजमा बढ्दो मानसिक स्वास्थ्यका समस्या, आत्महत्याका घटना, लागूऔषध दुर्व्यसन तथा साइबर अपराधप्रति समुदायलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनले अभिभावक शिक्षा प्रभावकारी भएमा बालबालिकाको समग्र विकाससँगै सामाजिक विकृति तथा अपराध न्यूनीकरणमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा भीरकोट नगरपालिका–६ का वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले सामुदायिक सिकाइ केन्द्रले समुदायको आवश्यकता पहिचान गरी आत्महत्या, साइबर अपराध तथा शैक्षिक गुणस्तर सुधारसँग सम्बन्धित विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा प्रशंसा गरे। उनले पछिल्लो समय समाजमा देखा परिरहेका सामाजिक तथा मनोवैज्ञानिक समस्याको समाधान कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै परिवार, विद्यालय, स्थानीय सरकार, प्रहरी, सामाजिक संघसंस्था तथा समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले अभिभावक, शिक्षक र समुदायबीच प्रभावकारी समन्वय कायम गर्न सके बालबालिकालाई सही मार्गदर्शन गर्न सहज हुने र समाजमा देखिएका धेरै समस्याको न्यूनीकरण गर्न सकिने धारणा राखे। यस्ता कार्यक्रमले नागरिकमा जिम्मेवारीबोध, सचेतना र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी नायब निरीक्षक हरिप्रसाद काफ्ले, प्रहरी सहायक निरीक्षक प्रकाश लामघारे तथा प्रहरी सहायक निरीक्षक पुष्कर पोखरेलले सहजीकरण गरेका थिए। उनीहरूले लागूऔषध दुर्व्यसन, आत्महत्या दुरुत्साहन तथा साइबर अपराध सम्बन्धी प्रचलित कानुनी व्यवस्था, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर ठगीका नयाँ प्रवृत्ति, व्यक्तिगत विवरणको सुरक्षा तथा डिजिटल माध्यम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराएका थिए। सहजीकरणका क्रममा सामाजिक सञ्जालको गलत प्रयोग, अपरिचित व्यक्तिसँग आर्थिक कारोबार, बैंकिङ तथा ओटीपी सम्बन्धी जानकारी साझेदारी गर्दा हुन सक्ने जोखिमका बारेमा पनि सहभागीलाई सचेत गराइएको थियो। पछिल्लो समय फेसबुक, मेसेन्जर, ह्वाट्सएप, इन्स्टाग्रामलगायत डिजिटल माध्यमबाट हुने ठगीका घटना बढ्दै गएको उल्लेख गर्दै प्रहरी अधिकारीहरूले यस्ता घटनाबाट बच्न डिजिटल साक्षरता र सतर्कता अत्यन्त आवश्यक रहेको बताए ।

आत्महत्या दुरुत्साहन सम्बन्धी सत्रमा मानसिक तनाव, निराशा, सामाजिक दबाब तथा पारिवारिक असमझदारी जस्ता कारणले व्यक्तिमा नकारात्मक सोच विकास हुन सक्ने भएकाले समयमै परिवार, साथीभाइ, शिक्षक तथा सम्बन्धित निकायको सहयोग लिनुपर्नेमा जोड दिइयो। मानसिक समस्यालाई लुकाउनेभन्दा खुलेर छलफल गर्ने वातावरण निर्माण गर्न सके धेरै दुःखद घटनाबाट जोगिन सकिने प्रशिक्षकहरूको भनाइ थियो। त्यसैगरी, नगर शिक्षा शाखाका अधिकृत विष्णुबहादुर भट्टराई र प्रशिक्षक भोजबहादुर थापाले अभिभावक शिक्षाको महत्व, बालबालिकाको सकारात्मक पालनपोषण, घरभित्रको सिकाइ वातावरण, नैतिक मूल्य–मान्यताको विकास, अनुशासन, सकारात्मक व्यवहार निर्माण तथा परिवारको भूमिकाका विषयमा प्रशिक्षण दिएका थिए । उनीहरूले बालबालिकाको पहिलो विद्यालय परिवार भएकाले अभिभावक सचेत, जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिए। बालबालिकासँग नियमित संवाद गर्ने, उनीहरूको भावना बुझ्ने, पढाइसँगै व्यवहारिक शिक्षा दिने तथा डिजिटल उपकरणको प्रयोगमा उचित निगरानी राख्ने बानीले बालबालिकालाई जिम्मेवार नागरिक बनाउन सहयोग पुग्ने बताइयो।

कार्यक्रममा बालोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृत अर्याल, जनसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक निलकण्ठ खनाल, समाजसेवी रेशमप्रसाद रेग्मी, गोविन्दप्रसाद तिवारी, स्थानीय अभिभावक, विद्यार्थी, शिक्षक, समुदायका प्रतिनिधि तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमबाट अभिभावकको भूमिका, मानसिक स्वास्थ्यप्रतिको संवेदनशीलता, आत्महत्या रोकथामका उपाय, साइबर सुरक्षाका आधारभूत ज्ञान तथा बालबालिकाको समग्र विकासमा परिवार र विद्यालयबीचको सहकार्यको महत्वबारे महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता कार्यक्रमले समुदायमा बढ्दो सामाजिक विकृति नियन्त्रण गर्न, परिवार र विद्यालयबीचको सम्बन्ध सुदृढ बनाउन तथा सुरक्षित र जिम्मेवार समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमको समापन गर्दै धनथान सामुदायिक सिकाइ केन्द्रले समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आगामी दिनमा पनि अभिभावक शिक्षा, जीवनोपयोगी शिक्षा, मानसिक स्वास्थ्य, साइबर सुरक्षा, सामाजिक उत्तरदायित्व तथा समसामयिक सामाजिक विषयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। सिकाइ केन्द्रका अध्यक्ष बलबहादुर थापाले समुदायको आवश्यकता र समयको मागअनुसार चेतनामूलक तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै स्वस्थ, सुरक्षित, शिक्षित र जिम्मेवार समाज निर्माणमा केन्द्रले निरन्तर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया