कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन, श्रद्धाञ्जलीपछि आर्यघाटमा अन्त्येष्टि
वालिङ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचाररत रहेका श्रेष्ठको हिजो निधन भएको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। नेपाली कांग्रेसका अनुसार नेता श्रेष्ठको पार्थिव शरीर आज बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिनेछ। पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि शवयात्रासहित पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।
लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका श्रेष्ठले उपप्रधानमन्त्रीसहित विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै लोकतान्त्रिक आन्दोलन र मुलुकको राजनीतिक विकासमा उल्लेखनीय योगदान पुर्याएका थिए। उनको निधनले नेपाली कांग्रेससहित समग्र राजनीतिक वृत्तमा शोकको वातावरण सिर्जना भएको छ। यसैबीच, नेता श्रेष्ठको निधनप्रति सम्मान व्यक्त गर्दै स्याङ्जाको पुतलीबजार नगरपालिकाले आज शोक बिदा दिएको जनाएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै दिवंगत नेताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक बिदा दिएको हो। नेता श्रेष्ठको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक तथा सर्वसाधारणले गहिरो दुःख व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।


प्रतिक्रिया