स्याङ्जाको सिमलचौर विषादीमुक्त गाउँ घोषणा

भीरकोट ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३, सिमलचौरका स्थानीयवासीले गाउँलाई पूर्ण रूपमा विषादीमुक्त तथा अर्गानिक गाउँ बनाउने ऐतिहासिक निर्णय गरेका छन्। स्थानीयवासीको संयुक्त भेलाले अबदेखि गाउँमा उत्पादन हुने तरकारी, फलफूल तथा अन्य कृषि बालीमा कुनै पनि प्रकारका रासायनिक विषादी प्रयोग नगर्ने सामूहिक घोषणा गरेको हो। भेलाले सिमलचौरलाई पूर्ण रूपमा अर्गानिक कृषि उत्पादनको नमुना गाउँका रूपमा विकास गर्ने लक्ष्यसहित रासायनिक विषादीको प्रयोग पूर्ण रूपमा बन्द गरी अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। भेलामा सहभागी स्थानीयले पब्लिक आवाजसँग कुरा गर्दै स्वस्थ जीवनशैली, स्वच्छ वातावरण र भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्न यो अभियान सुरु गरिएको बताएका छन्।

स्थानीयका अनुसार गाउँमा उत्पादन हुने कृषि उपजलाई गुणस्तरीय, सुरक्षित र स्वास्थ्यमैत्री बनाउन अर्गानिक खेती नै दीर्घकालीन विकल्प भएकाले सबै गाउँवासी एकमत भएर यो निर्णयमा पुगेका हुन्। अभियान सफल बनाउन प्रत्येक घरपरिवारको सक्रिय सहभागिता, आपसी सहकार्य र निरन्तर प्रतिबद्धता आवश्यक रहने उनीहरूको भनाइ छ। पछिल्लो समय रासायनिक विषादीको अत्यधिक प्रयोगका कारण क्यान्सर, मिर्गौला, कलेजो तथा अन्य गम्भीर प्रकृतिका स्वास्थ्य समस्या बढ्दै गएको भन्दै स्थानीयले त्यसको विकल्पका रूपमा अर्गानिक खेतीलाई अपनाउने निर्णय गरेका हुन्। वातावरण संरक्षण, माटोको उर्वराशक्ति कायम राख्ने तथा सुरक्षित खाद्य उत्पादनमा यस अभियानले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

सिमलचौरवासीले विषादीमुक्त खेती, स्वस्थ जीवन — हाम्रो साझा अभियान भन्ने नारालाई अघि सार्दै अभियानलाई सफल बनाउन सबै गाउँवासी, सरोकारवाला निकाय तथा कृषिसँग सम्बन्धित संघसंस्थाको सहयोग र सहभागिताको अपेक्षा गरेका छन्। स्थानीयको यो निर्णयलाई स्वास्थ्य, वातावरण संरक्षण तथा दिगो कृषि प्रणालीको प्रवर्द्धनतर्फको उदाहरणीय पहलका रूपमा चौतर्फी प्रशंसा गरिएको छ। यदि अभियान प्रभावकारी रूपमा कार्यान्वयन भयो भने सिमलचौर स्याङ्जाकै नमुना अर्गानिक गाउँका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया